अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा सम्पन्न – Nepal Press

अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा सम्पन्न

अयोध्या (भारत) । आज (जनवरी २२) मा भारतको बहुचर्चित मन्दिर राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । मन्दिर पूरा निर्माण नसकिएपनि रामको मूर्तिलाई धार्मिक विधिअनुसार प्राण प्रतिष्ठा गरिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निराहार व्रत बसेर मन्दिरको प्राण प्रतिष्ठा गरेका छन् । नेपाल, भारतसहित विभिन्न देशका सन्तमहन्त तथा वैदिक विज्ञहरू भेला भएको यो कार्यक्रमले व्यापक चर्चा पाएको छ । अमेरिकाको टाइम्स स्क्वायरदेखि दुबईको बुज खालिफासम्म प्राण प्रतिष्ठाको प्रत्यक्ष प्रशारण भएको थियो । भारतीय सोसल मिडियादेखि मास मिडियामा मन्दिरको व्यापक चर्चा छ ।

२८ हजार स्क्वायर फिटमा फैलिएको मन्दिरलाई भारतकै सबैभन्दा ठूलो मन्दिर मानिएको छ । रड प्रयोग नगरिएको यो मन्दिर बनाउन २५८७ गाउँबाट माटो ल्याइएको बताइएको छ । मन्दिरको प्राण प्रतिष्ठामा सम्भावित भिडभाडलाई रोक्न भारत सरकारले भारतभरका मन्दिरमा बसेर कार्यक्रममा सहभागी हुन आग्रह गरेको थियो ।

पाँचौ शताब्दी पुरानो मस्जित रहेको क्षेत्र राम मन्दिरको भएको भारतीय सर्वोच्च अदालतले सन् २०१९ नोभेम्बर ९ मा सात दशक चलेको लम्बेतान मुद्दामा फैसला गरेको थियो । फैसलामा मस्जिद बनाउन २५ किलोमिटर पर छुट्टै जग्गा भारत सरकारले दिलाउने पनि फैसला भएको थियो । फैसलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको भूमि पूजा सन २०२० अगस्ट ५ मा गरेका थिए । सन् १९९० मा हालको सत्ताधारी भारतीय जनता पार्टीका नेता लालकृष्ण आणवानीले राम मन्दिरको मुद्दा लिएका थिए ।

भारतीय जनता पार्टीको हिन्दूत्व मुद्दाको केन्द्र राम मन्दिर थियो । अहिले अदालतले पनि बाटो क्लियर गरेपछि राम मन्दिर बन्ने बाटो मात्रै खुलाएन भाजपाको राजनीतिक तथा कानूनी जित पनि भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर