पूर्वअर्थमन्त्री पौडेलको टिप्पणी- योजना आयोग राजनीतिक पूर्वाग्रहमा अलमलिरहेको छ (भिडिओ) – Nepal Press

पूर्वअर्थमन्त्री पौडेलको टिप्पणी- योजना आयोग राजनीतिक पूर्वाग्रहमा अलमलिरहेको छ (भिडिओ)

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले योजना आयोगले राष्ट्रिय आवश्यकता सम्बोधन हुनेगरी योजना निर्माण गर्ने आश गर्न नसकिने बताएका छन् ।

उपाध्यक्ष पौडेलले योजना आयोगले मुलुकको वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने, विगतका अनुभवहरूको जगमा उभिएर योजनावद्ध प्रयासलाई सार्थक रुपमा गति दिनेगरी योजना निर्माण गर्ने अवस्था नदेखिएको टिप्पणी गरे । अघिल्लो सरकारले बनाएको १५औं योजनालाई उपेक्षा गर्नेगरी योजना निर्माण गरिरहेको उनको आरोप छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले आयोग १६औं योजनाको निर्माणमा अलमलिरहेको बताए । उहाँले १६ औं योजना निर्माण गर्दा अहिलेसम्म योजनावद्ध विकासका अभ्यास, प्रयासहरु र तिनले दिएका अनुभवहरूको जगमा उभिएर वर्तमान र दीर्घकालीन आवश्यकतालाई सम्बोधन गरी योजना निर्माणको काममा सरकार लाग्नुपर्नेमा राजनीतिक पूर्वाग्रहका आधारमा आयोग अलमलिरहेको दाबी गरे । योजना आयोग १६औं योजना बनाउने विषयमा कुहिरोभित्रको कागजस्तै भइरहेको उनको टिप्पणी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण गरेको १५औं योजना धेरै दृष्टिकोणले महत्वपूर्ण रहेको पौडलको जिकिर छ । १५ औं योजनाले नेपालको योजनावद्ध विकासमा डिपाचर हुने गरी नयाँ दिशाबोध दिएर विकासका परम्परागत अभ्यासहरूलाई ब्रेक थ्रू गरेको उनले बताए ।

पौडेलले भने, ‘अहिलेको सरकारले १६ औं योजना निर्माण गरिरहँदा १५औं योजनाले संस्थागत गरेका निस्कर्षहरुलाई आत्मासाथ गर्ने, आवश्यक विषयलाई निरन्तरता दिने र नयाँ योजना भए सम्बोधन गरी जानुपर्ने हो तर १५ औं योजनाहरूलाई तिरस्कार गर्दै बिर्सन र कुल्चिएर उपेक्षा गर्न चाहेको छ । त्यसका सकारात्मक योगदानहरुलाई निरन्तरता दिने मान्यताबाट विचलित भएको छ । १५ औं योजनाले विकासका सन्दर्भमा जस्ता खालको अभ्यास गरिए रहेको थियो त्यसलाई अहिलको योजना आयोगले रोक्यो । विशेष गरी राष्ट्रिय दीर्घकालीन र आवधिक लक्ष्य निश्चित गरेर संविधान निर्माण गरिसकेपछि देशको आर्थिक समाजिक रुपान्तरण मुद्दा मुख्य हो भन्ने कुरा आएपछि संविधानको मर्म अनुरुपको १५ औं योजना निर्माण भएको थियो । त्यसले समृद्ध नेपाल सुखी नेपाली दीर्घकालिन लक्ष्य निर्धारण गर्‍यो ।’

योजना आयोग १५औं योजनालाई अस्वीकार गर्ने तर अहिलेको अवस्थाअनुसार नयाँ योजना दिन पनि नसक्ने दुविधामा १६औं योजनाको तयारी गरिरहेको टिप्पणी गरे ।

उपाध्यक्ष पौडेलले समृद्धि नेपाल सुखी नेपालीको नारा एमालेको सरकारले ल्याएपनि समग्र नेपालीको साझा नारा भएको दाबी गरे । अहिलेको सरकार र योजना आयोग समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई करेक्सन गर्न चाहेको उनको टिप्पणी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर