महिला भलिबल : त्यो पश्चिमाञ्चल, यो गण्डकी – Nepal Press

महिला भलिबल : त्यो पश्चिमाञ्चल, यो गण्डकी

पोखरा । भलिबलको क्रेज थियो, विद्यालयमा खेलाडी उत्पादनका लागि नियमित प्रशिक्षण हुन्थ्यो । नयाँ खेलाडी उत्पादन भइरहन्थे । नियमित जसो नै प्रतियोगिता जितिरहन्थ्यो । यो कुरा गण्डकी प्रदेश (तत्कालीन पश्चिमाञ्चल) का लागि इतिहास बन्न थालेको छ । खेलाडी उत्पादनका लागि नियमित प्रशिक्षण हुने टप्स, ज्ञानुबाबा, फिस्टेल बोर्डिङमा आजकल प्रशिक्षण हुन छोडिसकेका छन् । त्यो बेला राष्ट्रिय टोलीमा पश्चिमाञ्चलका अधिकांश खेलाडी हुन्थे । अहिले मुस्किलले राष्ट्रिय टोलीमा पश्चिमाञ्चलको प्रतिनिधित्व छ ।

‘त्यति बेला एकदमै राम्रो थियो । विभागीयलाई जित्यौ । ढोरपाटन डब्बल लिगको उपाधि लगातार ६ पटक हामीले जित्यौ । सहभागी भएका अधिकांश प्रतियोगिताका ट्रफी हामीले जित्थ्यौ । पश्चिमाञ्चललाई हराउन विभागीय टोलीलाई समेत कडा सङ्घर्ष गर्नुपर्थ्यो,’ नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङ सम्झिन्छन् ।

३ भारतीय खेलाडीसहित प्रतियोगितामा उभिएको गण्डकी दुवै खेलमा लज्जास्पद हार बेहोर्दै घर फर्किनुपरेको हो । गण्डकी मङ्गलवार नेपाल पुलिस क्लब र बुधवार सशस्त्र प्रहरी बल (एपीएफ) सँग सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । विभागीय विरुद्ध गण्डकी कुनै पनि बेला प्रतिस्पर्धामा पुग्न सकेन । दुवै खेलमा गण्डकीले १७ भन्दा माथि अङ्क लिन सकेन ।

प्रदेशका खेलाडीमाथि राज्यले लगानी नगर्दा गण्डकी प्रदेशको प्रदर्शन खस्केको भलिबल संघका उपाध्यक्ष गुरुङ बताउँछन् । ‘पुरुषमा हामी अब्बल छौँ । महिलामा खस्किएको अवस्था छ,’ उनी भन्छन्, ‘पछिल्लो समय खेलाडी विदेश गए, विवाह भयो । सङ्घले पाल्न सक्दैन । राज्यले लगानी गर्दैन । राज्यले लगानी गर्ने विभागमा तलब भत्ता छ । हाम्रोमा आयोजकले खल्तीको पैसा हाल्नुपर्छ । यसरी कतिन्जेल चल्छ र ।’

राष्ट्रिय महिला भलिबल टोलीको कप्तान अरुणा शाहीसहित ऋषिसरा थापा, मञ्जु गुरुङ, सरस्वती चौधरी, सिपोरा गुरुङ, परीक्षा गुरुङ, सुक्रिया गुरुङ, मान्ती आले, देवी खाँड, सञ्जु पुर्जा, मनीषा चौधरी, शशी चौधरीलाई महिला भलिबलमा पश्चिमाञ्चलले जन्माइसकेको छ ।

पश्चिमाञ्चलको महिला भलिबललाई विकास गर्न टप्स बोर्डिङ, ज्ञानुबाबा बोर्डिङ, फिस्टेल एकेडेमीले एकदमै ठूलो भूमिका खेलेका छन् । ती विद्यालयले भलिबलमा सम्भावना भएका छात्रालाई पढ्ने, खाने, बस्ने व्यवस्थासहित प्रशिक्षणको व्यवस्था गरेका थिए । ज्ञानुबाबाले कप्तान अरुणा शाहीसहित मञ्जु गुरुङ, परीक्षा गुरुङ, सुक्रिया गुरुङ, मान्ती आलेसहितका धेरै खेलाडी उत्पादन गरिसकेको छ । टप्सले पनि मनीषा चौधरी, शशी चौधरी र फिस्टेलले सिपोरा गुरुङ, सरस्वती चौधरी, देवी खाँड, मञ्जु पुर्जा मगर जस्ता खेलाडीलाई उत्पादन गरेर भलिबललाई योगदान गर्दै आएको छ । तर, पछिल्लो समयमा यी ठाउँबाट पश्चिमाञ्चलका लागि भलिबल खेलाडी उत्पादन हुन छोडेका छन् ।

स्कुलहरूले खेलाडी उत्पादनमा लगानी नगर्दा पनि नयाँ खेलाडी उत्पादन हुन नसकेको राष्ट्रिय टिमकी कप्तान शाही बताउँछिन् । ‘हाम्रो पहिला टिम राम्रो हुनुको कारण स्कुलहरूले लगानी गरेको थियो । अहिले त्यो अवस्था छैन । लगानी स्कुलले गर्दा क्रेटिभिट क्षेत्रले लिने त्यसले गर्दा स्कुलले पूर्ण बन्द गरे जस्तै भयो । प्याप्सन, राष्ट्रिय खेल हुँदा एक दुई हप्ता प्रशिक्षण गराउने, सहभागी बनाउने त्यतिमा सीमित छ स्कुलहरू,’ उनी भन्छिन्, ‘त्यस कारण नयाँ उत्पादन गर्न सकिराखेका छैनौँ ।’

प्रदेशबाट उत्पादन भएका राम्रा खेलाडीहरू विभागीय जाँदा पनि प्रदेश टिम कमजोर भएको शाही सुनाउँछिन् । ‘राम्रो खेलाडी जति विभागीय जाने त्यो अर्को कारण पनि हो । क्षेत्रले अब राम्रो खेलाडीलाई अवसर दिएर राख्न सक्यो भने चाहिँ राम्रो हुने हो । त्यो छैन अहिलेसम्म,’ उनले भनिन् ।

कुनै समय गण्डकी प्रदेशमा भलिबलमा पुरुषभन्दा महिला बलियो थियो । गण्डकी पुरुष टिमले विभागीय टोलीलाई समेत पराजित गर्दा महिला टोली भने साख जोगाउनै मुस्किल देखिन्छ । ‘पहिला महिलाको टिम राम्रो थियो । सबैले महिला टिमलाई लिएर हिँड्ने । पुरुष टिमलाई बाइपास नै गरेको जस्तो थियो । पुरुषको टिम राम्रो महिलाको हालत सेम त्यही छ,’ संघका एक पदाधिकारीले भने, ‘सङ्घले महिला टोलीलाई उपेक्षा गरेको छ ।’

प्रदेशको टिम पठाउँदा व्यक्तिगत खर्च हालेर पठाउनुपर्ने बाध्यता रहेको गण्डकी प्रदेश भलिबल संघका महासचिव टहलसिंह थापामगर बताउँछन् । ‘केटाहरूकै टिम पठाउन पनि व्यक्तिगत खर्च हालेर लग्नुपर्छ । हामीसँग पर्याप्त लगानी छैन । सरकारी निकायले सेवा सुविधा दिँदैनन् । पहिलेजस्तो स्कुलहरूमा सेवा सुविधा दिएर उत्पादन गर्ने थलो नै छैन,’ उनले भने ।

नयाँ खेलाडी उत्पादनका लागि विद्यालयसँग सहकार्य गरेर नियमित प्रशिक्षण गराउने तयारी सङ्घले गरेको थापामगर सुनाउँछन् । उनी भन्छन्, ‘गाउँ गाउँ खेलाडीहरू त छन् । तर, उनीहरूलाई लिएर सेवा सुविधा दिएर राख्ने हामीसँग पर्याप्त खर्च छैन । सरकारी निकायबाट सहयोग हुँदैन । नयाँ खेलाडी उत्पादन भएका छैनन्,’ उनले भने, ‘विद्यालयसँग सहकार्य गराएर नियमित प्रशिक्षण गराएर खेलाडी उत्पादन गर्ने तयारी गरिरहेका छौँ ।’

टिम प्राक्टिसबिनै सहभागी

गण्डकी प्रदेशबाट चौथो टाइगर कप प्रतियोगितामा सहभागिताका लागि खेलाडी छनोट कार्यक्रम गरिएको थिएन । पुस २९ गते मात्रै टाइगर कपका लागि खेलाडीको गण्डकीका खेलाडीको टुङ्गो लागेको थियो । टिम छनोटका लागि प्रतियोगिता भने गरिएको थियो ।

राष्ट्रिय भलिबल टिमकी कप्तानसमेत रहेकी अरुणा शाहीले अन्य खेलमा हेरेको आधारमा खेलाडी छनोट गरेको बताउँछिन् । उनी भन्छिन्, ‘अहिले सेलेक्सन नै भनेर गरिएन । मैले र कोचले देखेको पश्चिमाञ्चल क्षेत्रभित्र खेलहरूमा हेरिराखेको हिसाबले सेलेक्ट गरिएको हो ।’

टिम सेलेक्सनपछि पनि गण्डकीको टिमले पर्याप्त प्रशिक्षण गर्न पाएन । गण्डकीले भित्राएको तिन विदेशी खेलाडी एक दिन अघि मात्रै पोखरा आएका थिए । अन्य खेलाडी पनि केही दिन अघि मात्रै प्रशिक्षणमा आएका थिए । ‘विदेशका खेलाडी त एक दिनअघि आएका हुन् । यहीँका खेलाडीहरू पनि पूरा भएको २९ गते हो । नियमित प्रशिक्षण गरेको २÷३ जना बाहेक थिएन । त्यो पनि १ हप्ता । हामीले खेलअघि टिम प्राक्टिस गर्नै पाइएन,’ कप्तान अरुणा भन्छिन्, ‘ग्राउन्ड एभाइलेभल पनि भएन ।’

गण्डकीका लागि अन्य बिदेसिए खेलाडीलाई बोलाउन खोजिएको थियो । तर, उनीहरू आउन नसक्ने भएपछि टिमलाई सहभागी बनाउनकै लागि विदेशी खेलाडी भित्र्याइएको थियो । अपेक्षा गरेअनुसारको विदेशी खेलाडीसमेत नआएको शाही बताउँछिन् । ‘विदेशी खेलाडी एकदिन अघि आए । लिगमा दुई वटा खेल थियो । गेममा प्राक्टिस गर्न पनि पाइएन । त्यसले गर्दा हाम्रो फरमेसन एकदमै कमजोर भयो । र हामीले अपेक्षा गरेर बोलाएका विदेशी खेलाडी सोचेजस्तो आउनुभएन,’ उनले भनिन् ।

उक्त प्रतियोगितामा गण्डकीको महिला पुरुष टिमलाई प्रशिक्षक रमेश केसीले सम्हालेका थिए । उनी सुर्खेतमा भएको ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता पुरुष टिम लिएर गएका थिए । प्रशिक्षक केसी पुस २७ गते मात्रै पोखरा फर्किएका थिए । २७ गतेपछि मात्रै उनी टिममा जोडिएका थिए ।

यो त एउटा उदाहरण प्रतियोगिता मात्रै हो । प्रदेशबाट सहभागी हुने हरेक खाले प्रतियोगितामा प्रशिक्षणबिनै खेलाडी सहभागी बनाएको हुन्छ । गत वैशाखमा भएको १३ औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा गण्डकी प्रदेशले एक दिन प्रशिक्षण गराएर प्रतियोगितामा सहभागी बनाएको थियो ।

भलिबलमा खेल्न सकेन ‘खेल्छ गण्डकी’

गण्डकी प्रदेश खेलकुद परिषद्ले अघिल्लो आर्थिक वर्षमा ‘खेल्छ गण्डकी’ कार्यक्रम महिला खेलाडी उत्पादनमा केन्द्रित गर्दै प्रदेशभर ट्यालेन्ट हन्टमार्फत खेलाडी छनोट गरिएको थियो । नेपालको राष्ट्रिय खेल भलिबल पछिल्लो समय प्रदेशमै कमजोर बन्दै गएको भन्दै सुरु गरिएको उक्त कार्यक्रम खासै प्रभावकारी हुन सकेन ।

कार्यक्रममार्फत एसइई दिएर बसेका विद्यार्थीलाई ‘ट्यालेन्ट हन्ट’का माध्यमबाट ११ वटै जिल्लाबाट करिब ४० जना खेलाडीलाई प्रशिक्षणका लागि पोखरा ल्याइएको थियो । परिषद्ले जिल्ला खेलकुद विकास समितिमार्फत जिल्ला जिल्लाबाट खेलाडी लिइएको थियो ।
ती खेलाडीलाई पोखरामा ल्याएर १० दिन प्रशिक्षण गराइएको थियो । त्यसपछि ती खेलाडीहरू कता छन् भन्ने परिषद्सँग लेखाजोखा छैन । प्रदेश खेलकुद परिषद्का सदस्य खगेन्द्र क्षेत्रीले जिल्ला जिल्लाबाट छनोट गरी ल्याएका खेलाडीलाई १० दिन प्रशिक्षण गराइएको बताए ।

‘परिषद्ले जिल्ला खेलकुद परिषद्लाई भलिबल सङ्घसँग समन्वय गरेर खेलाडी छनोट गरी पठाउन भनेका थियौँ । सोहीअनुसार ११ जिल्लाका करिब ४० खेलाडीलाई पोखरा ल्याएर १० दिन प्रशिक्षण गराएका हौँ,’ उनले भने ।

यसअघि परिषद्ले ४० जना महिला भलिबल खेलाडीबाट १२ जना छनोट गरी उनीहरूलाई पोखरामा नै राखेर छात्रवृत्ति स्वरूप ११ र १२ कक्षा अध्ययन गर्ने सुविधाका लागि परिषद्ले समन्वय गर्ने बताएको थियो । तर, सरकारबाट सहयोग नमिल्दा छात्रवृत्ति दिएर प्रशिक्षण गर्न नसकिएको परिषद्का सदस्य क्षेत्री बताउँछन् । उनी भन्छन्, ‘हामीले १२ जना खेलाडीलाई छात्रवृत्तिसहित प्रशिक्षण गराउने भनेका थियौँ । त्यसका लागि ३० लाख बजेट पनि थियो । तर, प्रदेश सरकारले मिल्दैन भनेपछि त्यो हुन सकेन ।’

खेल्छ गण्डकी कार्यक्रम अन्तर्गत मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिता भएको थियो । ‘ट्यालेन्ट हन्ट’ मार्फत खेलाडी छनोट गर्ने र ती खेलाडीलाई खेल्छ गण्डकीमार्फत खाने, बस्ने, पढ्ने र नियमित प्रशिक्षण गराउने परिषद्को तयारी थियो । तर, सरकारबाट नमिल्ने भन्दै खेल्छ गण्डकी कार्यक्रम अन्तर्गत भलिबल प्रतियोगिता गरेको परिषद्का सदस्य क्षेत्रीले सुनाए ।

प्रदेश खेलकुद परिषद्का सदस्य केशव पाठक ‘ट्यालेन्ट हन्ट’ को उपलब्धि आगामी राष्ट्रपति रनिङसिल्डमा देखिने बताउँछन् । ‘हामीले लाई पोखरामा राखेर प्रशिक्षण गराएका थियौँ । हामीले लेखाजोखा नै नगरेको भन्ने होइन वाच गरिराखेका छौँ । अब आउँदो राष्ट्रिय खेलकुदमा त्यसको उपलब्धि देखिन्छ । कहाँका कति खेलाडी थिए । उनीहरूको कति उपलब्धि भयो भनेर,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *