नेपाल भित्र भिसा शुल्क अनलाइनबाटै भुक्तानी सुरु – Nepal Press

नेपाल भित्र भिसा शुल्क अनलाइनबाटै भुक्तानी सुरु

काठमाडौं । आइतबारदेखि नेपाल भित्र भिसा शुल्क अनलाइन माध्यमबाट भुक्तानी गर्न सुरु भएको छ । अध्यागमन विभागमा जर्मन नागरिक एनके ग्रोपले पहिलो पटक मोबाइल बैंकिङमार्फत भिसा शुल्क भुक्तानी गर्दै अनलाइन माध्यमबाट भिसा शुल्क तिर्ने कार्यको सुरुवात भएको हो ।

अब नेपालभित्र भिसा नवीकरण, स्थानान्तरण र पदयात्रा अनुमतिको लागि अध्यागमन विभागमा आएर लाईन लाग्नु नपर्ने विभागका महानिर्देशक रुद्रसिहं तामाङले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार अध्यागमन विभाग र अन्तरगतका कार्यालयलाई पूर्ण रुपमा अटोमेशनमा लैजाने क्रममा विभागमा यसको प्रयोग सफल भएको हो ।

माघ दुई गतेदेखि शुरु भएको अनलाईनमार्फत सेवाप्रवाह गर्ने अभियानले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह हुने विभागको अपेक्षा रहेको महानिर्देशक तामाङले बताए । उनका अनुसार अब सेवाग्राहीले विजनेश भिसाको लागि अध्यागमन विभाग धाईरहनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

उद्योग विभाग अन्तर्गतको एकल विन्दु सेवा केन्द्रबाट नै बिजनेश भिसा जारी हुन थालेको महानिर्देशक तामाङले बताए । उनका अनुसार अब अर्को हप्ता विभागले कन्सुलर सेवा विभागलाई जोड्ने प्रयास गरिरहेको छ । यसबाट सबै कुटनैतिक नियोगमा कार्यरत कर्मचारीलाई पनि अध्यागमन विभाग धाउनुपर्ने वाध्यताको अन्त्य हुने र सबै अध्यागमन कार्यालयलाई जोड्दै जाने विभागले जनाएको छ ।

यसले सीमानाकामा रहेको अध्यागमन कार्यालयले सहज र सरल ढङ्गबाट सेवा प्रवाह गर्न सक्षम हुनेछ । आइतबारदेखि नेपालभित्रै सुरु भएको अनलाइन भुक्तानी प्रणाली सफल भएमा नेपाल भित्र अनलाइन इभिसा शुरु हुने महानिदेृशक तामाङले बताए ।

राहदानी विभागका महानिर्देशक लक्षुमन खनाल, कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणी पौडेलसँगै अध्यागमन विभागका महानिर्देशक तामाङबीच त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा एकीकृत सूचना आदन प्रदान तथा सेवा प्रवाह सम्बन्धी छलफल भएको थियो । छलफलपछि अर्को साताबाट कुटनैतिक भिसा सम्बन्धी कार्य कन्सुलर सेवा विभागबाट सेवा प्रवाह हुने महानिर्देशक तामाङले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर