प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: आर्मी पुलिससँग १३ रनले पराजित – Nepal Press

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: आर्मी पुलिससँग १३ रनले पराजित

रुपन्देही । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबमाथि १३ रनको जित निकालेको छ ।

रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा आइतबार खराब मौसमका कारण ३३ ओभरमा छोट्याइएको खेलमा १४१ रनको लक्ष्य पछ्याउने क्रममा आर्मी ३२ ओभर २ बलमा १२७ रनमा अलआउट हुँदा पुलिसले जीत हासिल गरेको हो । योसँगै नेपाल पुलिसले प्रधानमन्त्री कपमा लगातार तेस्रो जीत निकालेको छ । त्रिभुवन आर्मीले ४ खेलमध्ये २ वटा हार व्यहोरिसकेको छ ।

पुलिसका बलर चम्किँदा आर्मीका शीर्ष तीन ब्याट्सम्यान खाता नखोली आउट भए । ओपनरद्वय इमराह शेख र सन्तोष कार्की तथा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप राजाली शून्य रनमा आउट हुँदा पुलिसलाई सहज भयो । इमरानलाई पहिलो ओभरको अन्तिम बलमा सागर ढकालले बोल्ड गरे । त्यसपछि सन्दीपलाई पनि तेस्रो ओभरको चौथो बलमा सागरले नै बोल्ड गरेका थिए ।

सन्तोषलाई अर्को ओभरमा ललित राजवंशीको बलिङमा अर्जुन साउदले स्टम्प आउट गरे ।

आर्मीले तीन रनमा तीन विकेट गुमाएपछि नेपाली राष्ट्रिय टोलीका नियमित खेलाडी कुशल मल्ल र भीम सार्कीले खेललाई सम्हालेका थिए । भीम र कुशलले चौथो विकेटका लागि ८९ रनको साझेदारी पारी खेले । कुशल मल्ल ४८ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ३५ रन बनाएर २२औं ओभरमा पेभेलियन फर्किए ।

भीम पनि २६औं ओभरमा आउट भए । उनले ७६ बलमा ६ चौका प्रहार गर्दै ५२ रनको अर्धशतकीय पारी खेले पनि टीमलाई जिताउन सकेनन् । त्यसपछि बसिर अहमद र विवेक यादव एकपछि अर्को गर्दै क्रमशः शून्य र २ रनमा आउट हुँदा आर्मी अप्ठेरोमा पर्दै गयो । आर्मीका कप्तान विनोद भण्डारी पनि धेरै समय क्रिजमा टिक्न सकेनन् । उनलाई ललित राजवंशीले १९ रनमा आउट गरे ।

सोमपाल कामी पनि तीन रन बनाएर राशिद खानको शिकार भए । यस्तै रसिद खानले नै अन्तिम ओभरमा शाहब आलमलाई आउट गरेर पुलिसको जीत सुनिश्चित गरे ।

बलिङतर्फ पुलिसका सागर ढकाल र ललित राजवंशीले समान तीन-तीन र रसिद खानले दुई विकेट लिन सफल भए । सागरले सात ओभरमा दुई मेडनसहित १४ रनमात्र दिए । दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे ।

त्यसअघि आर्मीका तीव्र गतिका बलर सोमपाल कामीको घातक बलिङमा नेपाल पुलिस क्लबले आर्मीलाई मध्यम योगफलमा रोकेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिस ३१ ओभर ४ बलमा अलआउट हुँदै १४० रन बनाएको थियो ।

आर्मीको जस्तै पुलिसको सुरुवात पनि खराब थियो । १७ रनमा सुरुवाती तीन विकेट गुमाएपछि पुलिस एक समय निकै समस्यामा थियो । ओपनर कुशल भुर्तेल सोमपाल कामीको पहिलो बलमा नै कट बिहाइन्ड भएर आउट भए । विकेटकिपर अर्जुन साउद २५ बलमा १० रनमात्र बनाएर आउट हुँदा त्यसपछि दिलीप नाथ पनि शून्यमा बोल्ड भए । तीनै विकेट सोमपालले लिएका थिए ।

ओपनर सुनिल धमला र आरिफ शेखले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै पुलिसको इनिङलाई बलियो बनाएका थिए । आरिफ ३४ बलमा तीन चौका प्रहार गर्दै १८ रनमा २३औं ओभरमा आउट भए । त्यसपछि ब्याटिङमा आएका शंकर रानाले मात्र पाँच रन बनाउन सके । ओपनर सुनिल धमलाले तीन चौका र दुई छक्काको साथ ८० बलमा ५२ रन बनाएर पेभेलियन फर्किए ।

कप्तान दीपेन्द्रसिंह ऐरी पनि धेरै बेर क्रिजमा टिक्न सकेनन् । उनी १३ रन जोड्दा रन आउट भए । अलराउन्डर राशिद खानले १७ बलमा १३ रन बनाएर सोमपालको शिकार बने । त्यसपछि करण केसी १० रनमा शाहब आलमको बलमा बोल्ड भए । अन्तिममा ब्याटिङ गर्न आएका ललित राजवंशी पनि पहिलो बलमै शाहबकै बलमा बोल्ड भए । सागर ढकाल ३ रनमा नटआउट रहे ।

आर्मीका लागि सोमपाल कामीले घातक बलिङ गर्दै ६ ओभरमा ३ मेडनसहित मात्र १२ रन दिएर ४ विकेट लिए । विवेक यादवले सात ओभर बलिङ गर्दै ३७ रन दिएर दुई विकेट लिए । शाहब आलमले पनि ६.४ ओभर बलिङ गर्दै २६ रन खर्चेर दुई विकेट लिए ।

तीन खेलमा जीत हात पार्दै पुलिस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आर्मी चार खेलबाट चार अंक जोडेर छैटौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *