भेन्टिलेटर र आईसीयू गोदाममा थन्काएर हृदयरोग केन्द्र उद्घाटन गर्न मुख्यमन्त्री कार्कीलाई चटारो – Nepal Press

भेन्टिलेटर र आईसीयू गोदाममा थन्काएर हृदयरोग केन्द्र उद्घाटन गर्न मुख्यमन्त्री कार्कीलाई चटारो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको दबाबमा सङ्क्रामक रोग तथा सघन उपचार केन्द्रलाई शैलेजा आचार्य हृदयरोग केन्द्रको नाउँमा उद्घाटन गर्ने तयारी थालिएको छ ।

तत्कालीन प्रदेश सरकारले कोभिड महामारीका बेला स्थापना गरिएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई कोभिड महामारी सकिएपछि संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रूपान्तरण गरिएको थियो ।

सङ्क्रामक रोग तथा सघन उपचार केन्द्र पूर्ण रूपमा सञ्चालनमा नआउँदा त्यहाँ रहेका औजार तथा उपकरण प्रयोगविहीन भएका थिए । प्रदेश सरकारलाई कोभिड महामारीका बेला विभिन्न दातृ निकायले भेन्टिलेटर, आईसीयूलगायतका स्वास्थ्य उपकरण सहयोग गरेका थिए ।

सरकार र नागरिकले दिएको स्वास्थ्य औजार तथा उपकरणलाई अहिले गोदाममा थन्क्याएर मुख्यमन्त्री कार्कीले संक्रामक उपचार केन्द्रलाई शैलेजा आचार्य हृदयरोग केन्द्र बनाइ उद्घाटन गर्ने तयारी गरिएको छ ।

कार्की मुख्यमन्त्री नियुक्त भएसँगै अध्यादेशमार्फत ल्याएको बजेटमार्फत शैलेजा आचार्य हृदयरोग केन्द्र बनाउने घोषणा गरेका थिए । यसका लागि उनले ५ करोड ५० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेका थिए ।

जसअनुसार माघ ८ गते केन्द्रको उद्घाटन गर्ने तयारी गरिएको हो । कार्की मुख्यमन्त्री नियुक्त भएको १०० दिन पुगेको अवसरमा उद्घाटन गर्ने तयारी भएको हो ।

केन्द्र उद्घाटन गर्न मुख्यमन्त्री कार्कीले खरिद नियमावलीसमेत लत्याँउदै ठाडो निर्देशनमा धमाधम काम गराइरहेका छन् ।

ठाडो निर्देशनमा काम

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कार्कीले केन्द्र सञ्चालन गर्न ठाडो निर्देशनमा काम लगाएको कर्मचारीहरूले बताएका छन् । जसअनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले आफैं सामान खरिद गरिरहेको छ ।

आपूर्ति केन्द्र स्रोतका अनुसार उद्घाटनका लागि भनेर अहिलेसम्म ३० लाख रुपैयाँका सामान खरिद गरिएको छ । मन्त्रालयमा सूचीकृत फर्ममार्फत सामान खरिद गरिएको आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ ।

हृदयरोग केन्द्रको ओपीडीका लागि आवश्यक पर्ने बेड, फर्निचरलगायतका सम्पूर्ण सामान आपूर्ति केन्द्रले खरिद गरेको छ । तर, यसको प्रक्रिया के हो भन्ने अहिलेसम्म स्पष्ट छैन । तत्काल उद्घाटन गर्नुपर्ने भएकाले ठाडो आदेशमा सामान खरिद गरिएको आपूर्ति केन्द्रका एक कर्मचारीले बताए ।

उनले केन्द्रलाई चाहिने कम्प्युटर, ल्यापटपलगायतका सामानसमेत किनिएको जानकारी दिए । अहिलेसम्म ८ वटा डेस्कटप कम्प्युटर खरिद गरिएको छ । यसको लागत १० लाख हाराहारीको छ । यी सामान भने न्यू पूजा आटो मेशिनरी ट्रेडर्सबाट खरिद गरिएको छ ।

यस्तै सफ्टवेयरको काम भने औषधि व्यवसायी कुमार खतिवडाले गरिरहेका छन् । उनलाई पनि १० लाख हाराहारीको काम लगाइएको आपूर्ति व्यवस्थापन केन्द्र स्रोतले जानकारी दिएको छ ।

यसैगरी स्वास्थ्य मन्त्रालयले सीधै ठेकेदार कम्पनी कला बिल्डर्समार्फत पार्टेशनको काम गरिरहेको छ ।

नेशनल ट्रेडिङको भाडाको भवनमा सञ्चालन गर्ने तयारी रहेको शैलेजा आचार्य हृदयरोग केन्द्रको छाना फेर्ने काम पनि सञ्जय यादवको कला बिल्डर्सले गरिरहेको छ ।

दैनिक ३० जना कामदार यसका लागि खटिएका छन् । यादव मुख्यमन्त्री कार्की निकट ठेकेदार हुन् । उनले माघ १ गतेबाट पार्टेशन र टिनको छाना फेर्ने काम गरिरहेका छन् ।

सरकारले भनेका कारण आफूले काम थालेको उनले बताए । यादवले काम गरेपछि बिल ल्याउनु भनेकाले आफूले सरकारलाई सहयोग गर्न काम गरेको प्रतिक्रिया दिए ।

यादवले भने, ‘कतिपय काम इमरजेन्सीमा पनि गर्नुपर्छ । कोभिडका बेला पनि इमरजेन्सीमा काम गरेकाले अहिले पनि त्यसरी नै काम गरिरहेको छु । सरकारले भनेर गरेको हो । कति पैसा लाग्छ हिसाब निक्लिएको छैन ।’

उनले ठेक्का नपाएको र कोटेसनमा पनि काम नगरेको बताए । सरकारले भनेकाले सीधै काम गरेको यादवको दाबी छ ।

कानून छल्न टुक्रे योजना र खरिद

खरिद ऐन र नियमावलीले १० लाख रुपैयाँभन्दा माथिको काम गर्दा टेन्डर प्रक्रियामार्फत गर्नु व्यवस्था गरेको छ । १० लाखमाथि र २० लाखभन्दा तलको काम गर्न १५ दिने सूचना जारी गरी ठेक्का लगाउनुपर्ने नियमावलीले व्यवस्था गरेको छ ।

सोभन्दा माथिको काम गराउँदा ३० दिने सूचना निकाल्नुपर्छ । तर, मुख्यमन्त्री कार्कीले १०० दिनको उपलब्धि देखाउन एउटै कामलाई टुक्रा टुक्रा बनाएर सोझै सामान खरिद गर्न लगाएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र स्रोतले जनाएको छ ।

मुख्यमन्त्रीले नै निर्देशन दिएपछि टुक्रा टुक्रा बनाएर सामान खरिद गर्नुपरेको कर्मचारीले बताए ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि कार्कीले अध्यादेशमार्फत बजेट ल्याएका थिए । सो अध्यादेशमार्फत शैलेजा आचार्य हृदयरोग केन्द्र स्थापना गर्न ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए ।

स्वास्थ्य मन्त्रालयले केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने सामान किन्न ४ करोड ५० लाख रुपैयाँ आपूर्ति व्यवस्थापन केन्द्रमा पठाउने सहमति जनाएको छ । यसका लागि मन्त्रालयको पत्र पठाए पनि रकम भने आइ नसकेको आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. वीरेन्द्रकुमार मण्डलले बजेटको सुनिश्चितता भएको तर बजेट आइ नसकेको बताए । उनले भने बजेटको सुनिश्चितता भएकाले सबै प्रक्रिया पूरा गरेर सामान किनिएको बताए ।

उनले भने, ‘सामान किन्न बजेट नै छुट्टिएर आएकाले प्रक्रिया पुर्‍याएर सामान खरिद गरिएको छ । यसमा तलमाथि भएको छैन ।’

उनले के सामान कसरी र कुन रेटमा खरिद गरियो भन्न सक्ने अवस्थामा अहिले आफू नभएको बताए । डा. मण्डलले भने, ‘अहिले काम भइरहेको छ । भोलि उद्घाटन गर्नु छ । मसँग सामानको लिस्ट छैन ।’

उनले अस्पतालका लागि आवश्यक पर्ने मेडिकल सामान र सफ्टवेयर खरिद गरिएको बताए ।

संविधानमा स्थानीय तहले आधारभूत तहको स्वास्थ्य सेवा प्रदान गर्ने, प्रदेश सरकारले विशेषज्ञ सेवा प्रदान गर्ने र संङ्घीय सरकारले विशिष्टीकृत सेवा प्रदान गर्नुपर्ने व्यवस्था छ । तर कार्की मुख्यमन्त्री भएपछि कोशी प्रदेशले मुटु रोगको विशिष्टीकृत सेवा प्रदान गर्ने गरी हृदयरोग केन्द्र सञ्चालनको तयारी गरेको छ ।

हृदयरोग केन्द्र स्थापना गर्न विनियोजन गरिएको रकममध्ये ४ करोड ५० लाख रुपैयाँ आपूर्तिलाई आवश्यक सामान खरिदका लागि पठाइने निर्णय भएको छ ।

बाँकी एक करोडमध्ये ५० लाख रुपैयाँ डाक्टर र कर्मचारीको तलबमा खर्च गरिनेछ । यस्तै बाँकी रहेको ५० लाख रुपैयाँबाट पनि मन्त्रालय आफैंले भौतिक निर्माणको काम गर्ने तयारी छ । ठेकेदार कम्पनी कला विल्डर्सलाई भने प्रक्रिया पूरा गरेर भुक्तानी गर्ने मन्त्रालयले तयारी गरेको बुझिएको छ ।

माघ ८ गते उद्घाटन समारोहमा १० लाख रुपैयाँ खर्च गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

राजनीतिक दाउपेचको शिकार कोशी कोभिड अस्पताल

कोभिडको महामारी फैलिएपछि तत्कालीन सरकारले कोशी कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

२०७६ साल चैत ७ गते प्रदेश निर्देशन समितिको निर्णयअनुसार प्रदेश सरकारले ५० शय्याको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र बनाएर सञ्चालनमा ल्याइएको थियो ।

कोरोनाको महामारीको बेला प्रदेश सरकारले करोडौं रकम खर्च गरेर नेशनल ट्रेनिङ लिमिटेडको पुरानो गोदाम घरमा अस्पताल सञ्चालनमा ल्याएको थियो । कोभिडको राम्रोसँग नियन्त्रण नहुँदै फेरि प्रदेश सरकारले कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रलाई प्रादेशिक प्रसूति तथा स्त्रीरोग अस्पतालमा विकास गर्ने प्रारम्भिक अध्ययनका लागि १२ लाख रुपैयाँ छुट्याइएको थियो ।

तत्कालीन सामाजिक विकासमन्त्री उषाकला राईको पालामा प्रसूति तथा स्त्रीरोग केन्द्र बनाउने तयारी भए पनि उनी मन्त्रीबाट हटेपछि सो योजना अलपत्र प¥यो । त्यति बेलाको सरकार ढलेपछि फेरि जयराम यादव स्वास्थ्यमन्त्री हुँदा संक्रामक रोग उपचार सघन केन्द्रको गुरुयोजनाका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

२०७९ साल भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार असोज २ गते सो अस्पताललाई सङ्क्रामक रोग तथा सघन उपचार केन्द्रको नाममा सञ्चालनमा ल्याइएको थियो । सो सरकारले त्यहाँ डाक्टर तथा चिकित्सकको दरबन्दी दिँदै विशेषज्ञ डाक्टरसहितको ओपीडी सेवासमेत सञ्चालनमा ल्याएको थियो ।

अस्पताल सञ्चालनमा ल्याए पनि बिरामी नआएको भन्दै केदार कार्की नेतृत्वको सरकारले शैलैजा आचार्य हृदयरोग केन्द्रका लागि ५ करोड ५० लाख बजेट विनियोजन गरेर काम सुरु गरेको हो ।

कोभिड उपचार केन्द्र बनाउँदा १७५ जनाको दरबन्दी रहेकोमा पछि ६१ हुँदै अहिले सो अस्पतालमा ४२ जनाको दरबन्दी रहेको छ । सो दरबन्दीअनुसार अहिले कोही पनि मुटुरोगसम्बन्धी विशेषज्ञ डाक्टर भने छैनन् ।

भेन्टिलेटर र आईसीयू गोदाममा थन्क्याइएपछि दाताहरुकाे विराेध

कोभिड महामारीका बेला प्रदेश सरकार, दातृ संस्था, विभिन्न संघसंस्था र नागरिकले दिएको औजार तथा उपकरण अहिले गोदाममा थन्काइएको छ । ५२ वटा आईसीयू बेड हटाएर शैलेजा आचार्य हृदयरोग केन्द्रको ओपीडी कक्ष बनाइएको छ । हटाइएका आईसीयू र बेडहरु गोदाममा थन्काइएको छ ।

आफूहरुको सहयमोगमा जडान गरिएका आईसीयू बेड हटाएर हृदयरोग केन्द्रको ओपीडी कक्ष बनाइएपछि दातृ संस्था र नागरिकहरूले विरोध गरेका छन् ।

त्यसबेला नागरिक केयर सेन्टरका नाममा सहयोग सामग्री सङ्कलन गरिएको थियो । जनताले दिएको सामग्री अलपत्र पारिएको र सरकार आउँदैपिच्छे फरक फरक नीति लिएको भन्दै नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडालेले विरोध गरेका छन् ।

नागरिकले सरकारलाई दिएको करोडौं मूल्यको सामान अलपत्र पारेको भन्दै उनले आपत्ति जनाए ।

‘सरकारको रवैया ठीक भएन’, उनले नेपाल प्रेससँग भने, ‘पहिला हामीसँग सहयोग मागियो । हामीले एउटा प्रयोजनका लागि करोडौं रुपैयाँ उठाएर सहयोग गर्‍यौं । अहिले सोध्दै नसोधी सरकारले अरू नै काम गर्न लाग्दैछ ।’

अस्पतालमा १३० वटा अत्याधुनिक बेड थिए । त्यस्तै आईसीयू ८०, भेन्टिलेटर ३० र अल्ट्रा साउन्ड मेसिन ४ वटा रहेको कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अस्पतालमा अहिले एबीजी मेसिन, वाई प्याप १०, सी प्याप १०, डेफी विलेट एक, पेसेन्ट मनिटर ४० र अटोक्लेभ दुई थानसमेत रहेका छन् ।

मुख्यमन्त्री कार्कीले भने ती सामान हृदयरोग केन्द्र स्थापना गरी प्रयोगमा ल्याउने बताए । हृदयरोग केन्द्र स्थापना गरी प्रदेशवासीलाई विशिष्टीकृत सेवा दिने तयारी रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर