१ लाख बढी लाइसेन्स नक्कली भएको आशंका, विभागले गर्‍यो ३२ हजार रद्ध – Nepal Press

१ लाख बढी लाइसेन्स नक्कली भएको आशंका, विभागले गर्‍यो ३२ हजार रद्ध

‘बाइकको लाइसेन्स भएकाले मान्छे मारेपछि ट्रायल नदिइ गाडीको बनाएको समेत पाइएको छ’

काठमाडौं । सर्वसाधारणहरुले करिब १८ महिना अघिदेखि लाइसेन्स पाएका छैनन् । तर, यातायात व्यवस्था विभागले १ लाख २ हजारको नयाँ लाइसेन्स नक्कली भएको आशका गरेको छ भने ३२ हजारको लाइसेन्स भने रद्ध गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आयोजनामा आज संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सम्पूर्ण प्रदेशका यातायात मन्त्री, सचिव तथा प्रदेशस्तरीय कार्यालय प्रमुखसहितको संयुक्त बैठकमा नक्कली लाइसेन्सको कुरा उठेको हो ।

बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले विभागले गरेको अध्ययनले १ लाख २ हजार लाइसेन्स नक्कली भएको आशंका रहेको बताए । अध्ययन भइरहेको विषय भएकाले १ लाख २ हजारमध्ये कति नक्कली भनेर अहिले नै भन्न नसकिने अवस्था रहेको छ ।

उनले भने, ‘१ लाख २ हजार लाइसेन्स नक्कली रहेको आशंका भएको छ । त्यस मध्ये ३२ हजारको लाइसेन्स रद्ध गरिएको छ । नक्कली लाइसेन्सको विषयमा अख्तियार र केन्दीय अनुसन्धान ब्यूरोले अध्ययन गरिरहेको छ । बाइकको लाइसेन्स भएर गाडी चलाएर हिँड्दा मान्छे मारेपछि नवीकरण गर्न दिँदा लाइसेन्स थपिएको समेत पाइएको छ । कुन कार्यालयबाट कसरी नक्कली लाइसेन्स बनेको छ भन्ने समेत खुल्ने छ । डाटा कुनै एक ठाउँबाट डिलिट गरेपछि आर्कोे ठाउँमा गएर बस्ने गरेको छ । त्यो ब्यूरो र अख्तियारले खोज्ने छ । कहाँबाट के भएको हो भन्ने थाहा हुन्छ ।’

यातायात मन्त्री ज्वालाले नक्कली लाइसेन्सको अध्ययन र अनुसन्धान भइरहेको विषय भएर आफु खासै नबोलेको बताए ।

उनले भने, ‘मन्त्री नक्कली लाइसेन्स बोलेन भन्छन् । तर, अनुसन्धान भइरहेको विषयमा बोल्न मिल्दैन । दोषीलाई कारवाही हुन्छ । समग्र यातायात क्षेत्रको समस्या समाधान गर्ने लागिरहेको छु ।’

लिखित र ट्रायल नै नदिइ लाइसेन्स बनाएका तथा अरुको नाममा लाइसेन्स लिएकाहरु धेरै भेटिएको विभागले बताएको छ । लाइसेन्स थप्ने उमेर सकिन लागेकाहरुको सबैभन्दा धेरै नक्कली रहेको विभागले अनुमान गरेको छ ।

यातायातका सबै प्रदेशका मन्त्री र सचिव तथा केन्द्रका मन्त्री र सचिवको बैठकले लाइसेन्स छपाई, लाइसेन्स छाप्दा देखिएको समस्या, विद्युतीय सवारी दर्ता प्रणाली र इम्बोस्ड नम्बर प्लेट लगायतको विषयमा छलफल गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *