आयात-निर्यात दुवै घट्दा पनि राजस्व कसरी बढ्यो ? – Nepal Press

आयात-निर्यात दुवै घट्दा पनि राजस्व कसरी बढ्यो ?

तस्करी बढ्दा सुन आयातमा उच्च गिरावट

काठमाडौं । सामान्यतया आयात कम हुने बित्तिकै राजस्वमा कमी आउनु स्वाभाविक हो । आयात उल्लेख्य बढ्दा राजस्वमा समेत वृद्धि हुँदै आएपनि यस पटक भने आयात घट्दासमेत राजस्व बढेको देखिएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (२०८०/८१) को ६ महिनामा आयात ३.०९ प्रतिशतले घटेको छ । निर्यात पनि ७.२३ प्रतिशतले खुम्चिएको छ । तर, सरकारले भन्सार विन्दुबाट उठाउने राजस्व भने २ खर्ब १० करोड रूपैयाँ छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ६.३४ प्रतिशतले बढी हो । गत वर्ष १ खर्ब ८८ अर्ब १७ करोड रुपैयाँ राजस्व उठेको थियो ।

विभागको अनुगमन शाखाले राजस्व लिक हुने ठाउँको पहिचान गरेर नियन्त्रणमा लिँदा आयात घट्दा पनि राजस्व बढेको हुनसक्ने महानिर्देशक शोभाकान्त पौडेलले बताए ।

विभागको प्रत्यक्ष अनुगमनबाट ७७ करोड १७ लाख ३५ हजार थप राजस्व उठेको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए । गत वर्ष १८ करोड ८६ लाख रूपैयाँ थप राजस्व उठेको थियो ।
चालू आर्थिक वर्षको ६ महिनामा मुलुकले ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख रूपैयाँ वैदेशिक व्यापार गरेको छ । गत वर्षको यसै अवधि भन्दा यो वर्ष ३.४७ प्रतिशतले वैदेशिक व्यापारमा गिरावट आएको हो ।
भन्सार राजस्वमा सबैभन्दा बढी योगदान दिने वस्तुको सूचीमा डिजेल, पेट्रोल जीपकार, भ्यान, तयारी कपडा, विद्युतबाट सञ्चालित जीपकार भ्यान, एलपी ग्यास, अनएसेम्बल मोटरसाइकल, एचआर सिट र मोबाइल टेलिफोन पर्छ ।

डिजेल र एलपी ग्यासको आयात घट्यो

मुलुकको वैदेशिक व्यापार घाटामा जानु भनेकै निर्यात भन्दा आयात बढी हुनु हो । नेपालको हकमा भने निर्यात भन्दा आयात कयौ गुणा बढी छ । नेपालमा यो ६ महिनामा डिजेल र पेट्रोल सबैभन्दा बढी भित्रिएको छ । ६६ अर्ब ४९ करोड रूपैयाँ बराबरको डिजेल भित्रँदा ३३ अर्ब ९२ करोड रुपैयाँ बराबरको पेट्रोल भित्रिएको छ । डिजेल भने गत वर्षको तुलनामा केही कमी आएपनि पेट्रोलको आयात घट्न सकेको छैन । एलपी ग्यासको आयातमा पनि कमी आएको छ । पुस मसान्तसम्म २५ अर्ब ४६ करोडको एलपी ग्यास आयात भएको छ । गत वर्ष २८ अर्ब २० करोड रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको थियो ।

एचआर सिट, शुद्ध फलाम, तयारी कपडा, मोबाइल फोन, अन्य एलोपेथिक औषधि, विद्युतबाट सञ्चालित जीपकार, भ्यान बढी आयात भएको छ । तर, सुनको आयात भने घटेको छ । अवैधानिक बाटोमार्फत सुन आयात हुँदा वैधानिक तरिकाले हुने आयातमा धक्का लागेको छ । चालू वर्षको ६ महिनामा ११ अर्ब ८९ करोड रूपैयाँ बराबरको सुन आयात भएको छ । जबकी गत वर्षको यसै अवधिमा २९ अर्ब २० करोड रूपैयाँ बराबरको सुन आयात भएको थियो । पछिल्लो समय सुन तस्करीका घटना एकपछि अर्को बाहिरिरहेको छ ।

यस्तै नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा फलामे पाता, सेन्थेटिक यार्न, उनी गलैचा कार्पेट, अलैची, फलफुलको जुस, प्लाइउड, प्रशोधित पाम तेल, जमोठ कपडा, र जुटका बुनिएका कपडा हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर