बाँकेमा जिल्ला प्रहरी कार्यालय अगाडिकै घरमा भारतीय चामल तस्करीको गोदाम ! – Nepal Press

बाँकेमा जिल्ला प्रहरी कार्यालय अगाडिकै घरमा भारतीय चामल तस्करीको गोदाम !

रुपन्देही । बाँकेको जिल्ला प्रहरी कार्यालयको ठीक अगाडि धम्बोजी खजुरा हाइवेको एक घरमा भारतीय तस्करले दिनदहाडै भारतीय केसर नामको चामल नेपाल भित्र्याउँदै आएका छन् ।

शनिबार मध्यान्ह ईरिक्सामा ल्याएर घरभित्र राख्दै गरेको स्थानीयले फेला पारेपछि खोज्दै जाँदा नेपाल भारत सीमा नाका जमुनाहमा एकजना बालकको समेत प्रयोग गरी सोही बोराको चामल साइकलमा नेपाल ल्याउँदै गरेको र उक्त चामल बाँके जिप्रका अगाडिको घरमा ल्याएर गोदाम गर्ने गरेको उनीहरुको भनाइ छ ।

तस्करले गोदामबाट नेपाली बोरामा राखेर बिक्रीवितरण गर्ने गरेको बताइएको छ । स्रोतका अनुसार भारतीय नागरिक बब्लु नामको तस्करले विगत २ वर्षयता चामलको अवैध कारोबार गर्दै आएको उल्लेख छ ।

‘हामीले तस्करी भएको हो वा होइन ? वास्तविक बुझ्न गोदाममा राख्दै गरेको चामलको बोरा र नाकाबाट नेपाल ल्याउँदै गरेको साइकलको बोरा मिल्न पुगेको भेटियो’, उनीहरुले भने, ‘खुशी काठ फर्निचर उद्योगको छेवै र ओम स्क्रप कवाड पसलको अगाडि रहेको घरमा गोदाम गरिएको छ तर प्रहरीले किन नदेखेको जस्तो गरेको छ ? सेटिङमा त होइन ?’

घरायसी प्रयोजनका नाममा भारतीय बजारमा किनमेल गरेको मालसामान विनाभन्सार नेपाल भित्र्याएर व्यापारिक कारोबार हुन थालेपछि राजस्व कम उढ्ने गरेकाले सरकारले गत वैशाख १३ गतेदेखि सबै सीमा नाकाहरुमा एक सयमाथिको सामानको भन्सार अनिवार्य गर्नुपर्ने नियम लागू गरेपनि बाँकेमा भने जिल्ला प्रहरी कार्यालय अगाडि नै यसरी तस्करी भइरहँदा बाँके प्रहरी बेखबरजस्तै देखिएपछि स्थानीय व्यवसायीले प्रश्न उठाएका छन् ।

घरायसी प्रयोजनको नाममा पाइने भन्सार छुटको फाइदा उठाउँदै तस्करले खुल्ला सीमा नाका जमुनाहबाट खुलेआम तस्करी गर्दा समेत बाँके सुरक्षा सुरक्षा प्रमुख बेखवर बन्नु लज्जास्पद रहेको उनीहरुको भनाइ छ ।

‘त्यहीँ बाटो भएर प्रहरी दिनमा कयौंपटक कार्यालय ओहोरदोहोर गर्छन्, आफ्नै वरिपरी ठ्रलो परिणाममा यसरी तस्करी हुनु प्रहरीसँग मिलेमतो नभइ सम्भव छैन । जसले गर्दा स्थानीय व्यापारीहरु प्रत्यक्ष मारमा पर्दै आएका छन् । बजारमा चरम मन्दी छ, त्यसमा तस्करी भएको सामानले थप पीडित बनाएको छ’, उनीहरुको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *