वसन्त रेग्मीले न्यूजिल्यान्डलाई स्तब्ध पारेको त्यो यू-१९ प्लेट फाइनल – Nepal Press

वसन्त रेग्मीले न्यूजिल्यान्डलाई स्तब्ध पारेको त्यो यू-१९ प्लेट फाइनल

काठमाडौं । यू-१९ विश्वकप क्रिकेटमा नेपालले गर्विलो इतिहास बोकेको छ । ‘जायन्ट किलर’ छविमा उत्रिएर नेपाली युवा टीमले पटक-पटक शक्तिशाली राष्ट्रहरूलाई हराएका छन् ।

विगतलाई फर्केर हेर्ने हो भने यू १९ विश्वकपमा नेपालले सबैभन्दा ठूलो सफलता हासिल गरेको थियो, सन् २००६ मा । त्यस बखत मुख्य प्रतियोगिताबाट पहिलो चरणमा आउट हुने टीमहरुले छुट्टै ‘प्लेट च्याम्पियनसीप’ खेल्ने गर्थे । सन् २००६ मा नेपालले टेस्ट राष्ट्र न्यूजिल्यान्डमाथि सनसनीपूर्ण जित हासिल गर्दै प्लेट च्याम्पियन बनेको थियो ।

उक्त विश्वकपमा ग्रुप डीमा रहेको नेपालले पहिलो खेल ईंग्ल्यान्डसित ७७ रनले हार्‍यो । दोस्रो म्याचमा जिम्बाबेले नेपाललाई २ रनको झिनो अन्तरले हराएपछि नेपालले दोस्रो चरण पुग्ने सम्भावना बन्द भयो । समूह चरणको अन्तिम खेलमा नेपालले आयरल्यान्डलाई ६० रनको ठूलो अन्तरले हराएको थियो ।

समूह चरणबाट बाहिरिएका ८ टिमले प्लेट च्याम्पियनसीप भिडेका थिए । प्लेट च्याम्पिनसीपको क्वाटर फाइनलमा नेपालले ६० रनले युगाण्डालाई हरायो । उक्त म्यानमा ६४ रन बनाएका ज्ञानेन्द्र मल्ल म्यान अफ द म्याच बनेका थिए । नेपालले दिएको १९३ रनको लक्ष्य पछ्याउने क्रममा युगाण्डा १३२ रनमा अलआउट भएको थियो ।

सेमिफाइनलमा नेपालको भिडन्त बलियो दक्षिण अफ्रिकाविरुद्ध थियो । निकै कठिन प्रतिस्पर्धामा नेपालले दक्षिण अफ्रिकालाई २ रनले स्तब्ध पार्‍यो । पहिले ब्याटिङ गरेको नेपालले ओपनर कनिष्क चौंगाईंको ५९ रन र ज्ञानेन्द्र मल्लको ४६ रन मद्दतमा २१४ रनको स्कोर खडा गरेको थियो । दक्षिण अफ्रिकाले ५० ओभरमा ५ विकेट गुमाउँदा २१२ रन मात्रै जोड्न सक्यो । नेपालका लागि बलिङमा वसन्त रेग्मीले ३ विकेट लिएका थिए । डीन एलगरले ६५ बलमा अविजित ६६ रन बनाएर पनि दक्षिण अफ्रिकाको हार टार्न सकेनन् ।

सेमिफाइनलभन्दा पनि रोचक र सनसनीपूर्ण भयो प्लेट फाइनल । फाइनलमा नेपालको प्रतिस्पर्धी थियो अर्को टेस्ट राष्ट्र न्यूजिल्यान्ड । न्यूजिल्यान्डले टस जितेर पहिले ब्याटिङ रोज्यो । त्यसबेलाको न्यूजिल्यान्ड यू-१९ टीममा मार्टिन गप्टिल, टिम साउदी, कोलिन मुनरो जस्ता अहिलेका स्टारहरू थिए । कप्तान थिए मार्क एल्लिसन । नेपालका फास्ट बलर अमृत भट्टराईले सुरुमै दुई विकेट लिएर न्यूजिल्यान्डलाई दबाबमा पारे । उनले मार्टिन गुप्टिललाई ६ रन र एन्ड्र्यू डि बोर्डरलाई शून्यमा आउट गरेका थिए ।

१२ रनमा दुई विकेट गुमाएको न्यूजिल्यान्डलाई ओपनर टोड एस्टल र कप्तान एल्लिसनले सम्हाल्ने प्रयास गरे । नेपालको कसिलो बलिङमा यो जोडीले सुस्त गतिमा रन बटुल्दै न्यूजिल्यान्डलाई अगाडि बढाए । तर, १८. १ ओभरमा ६० रन बनाउँदा एल्लिसनलाई स्पिनर राज श्रेष्ठले आफ्नै बलमा क्याच गरे । एल्लिसनले ५० बलको साना गर्दा ६ रन मात्र बनाउन सकेका थिए ।

त्यसपछि न्यूजिल्यान्डले नियमित विकेट गुमाइरह्यो । नेपालका अर्का स्पिनर वसन्त रेग्मीले न्यूजिल्यान्डको कम्मर तोड्दै तीन महत्त्वपूर्ण विकेट लिए । ६६ रन बनाएर एउटा इन्ड सम्हालिरहेका ओपनर एस्टललाई रेग्मीले नै आउट गरेका थिए । नेपालले ४९.२ ओभरमा न्यूजिल्यान्डलाई २०४ ओभरमा अलआउट गर्‍यो ।

नेपालको ब्याटिङ त्यति भरपर्दो नभएकाले २०५ रनको लक्ष्य पनि चुनौतीपूर्ण थियो । ओपनर कनिश्क चौंगाईं र महेश क्षेत्रीले स्थिर सुरुवात गरे । उनीहरूले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरे । ७.२ ओभरमा कनिष्क आउट भएपछि नेपालको विकेट पतन सुरु भयो । कनिष्कले २१ बलमा १७ रन बनाएका थिए । अर्का ओपनर महेश क्षेत्री पनि ३८ बलमा १६ रन बनाउँदै पेभिलियन फर्किँदा नेपालले ११.५ ओभरमा ४३ रन बनाएको थियो ।

त्यसपछि लगातार एकपछि अर्को ब्याट्सम्यान आउने र जाने क्रम चल्यो । मध्यक्रमका ज्ञानेन्द्र मल्ल ५ रन, शरद भेषवाकर १८ रन, पारस खड्का ४ रन र यसवन्त सुवेदी १ रनमा आउट भए । नेपाल ७५ रनमा ६ विकेट गुमाएर दयनीय अवस्थामा पुग्यो । हारको औपचारिकता मात्रै बाँकी रहेको प्रतित हुन्थ्यो । तर, आज वसन्त रेग्मीका दिन थियो ।

२६.१ ओभरमा ७५ रनको अवस्थामा पारस आउट भएपछि क्रिजमा आएका थिए वसन्त रेग्मी । उनलाई साथ दिन प्रेम चौधरी थिए । बसन्त मूलतः ब्याट्सम्यान नै हुन् । तर, उनले यसअघि ब्याटिङभन्दा बलिङमा राम्रो गरिरहेका थिए । ब्याट खासै चलिरहेको थिएन । उनले फाइनलका लागि आफ्नो ब्याच साँचेर राखेका रहेछन् सायद ।

वसन्तले प्रेमसँग मिलेर नेपालको स्कोर १४५ रनसम्म पुर्‍याए । नेपालको असम्भव जितको आशा जाग्यो । तर, प्रेम आउट भए र लगत्तै सशी केसरी पनि पेभिलियन फर्किएपछि नेपाल १४८ रनमा ८ विकेटको स्थितिमा धकेलियो । हार टार्न नसकिने देखियो । तर, वसन्त हार मान्ने मुडमा थिएनन् । १० नम्बरमा आएर उनलाई साथ दिए रतन रौनियारले ।

अन्तिम चार ओभरमा नेपाललाई ३४ रन चाहिएको थियो भने न्यूजिल्यान्डलाई दुई विकेट । रतनले आक्रामक ब्याटिङ गरे । तर, नेपाललाई जितका लागि १३ रन चाहिएको अवस्थामा वसन्तको विकेट गयो । ह्यामिस बेन्नेटको बलमा बाउन्ड्र निकाल्न खोज्दा उनी क्याचआउट भए ।

वसन्त आउट भएपछि नेपाललाई जितका लागि १० बलमा १३ रन चाहियो भने हातमा थियो केवल एक विकेट । रतन रौनियारले अन्तिम बलमा बाउन्ड्री हान्दै नेपाललाई अभूतपूर्व जित दिलाए ।

यो एउटा अविस्मरणीय जित थियो । टीमको कप्तानी कनिष्कले गरेका थिए भने प्रशिक्षक रोय डायस थिए । म्यान अफ दि म्याच वसन्त रेग्मी भए । उनले ७३ रनमा ६६ रन हान्नुका साथै बलिङमा महत्त्वपूर्ण तीन विकेट र फिल्डिङमा दुई क्याचसमेत लिएका थिए । वसन्त पछि राष्ट्रिय टिमकै एउटा महत्त्वपूर्ण सदस्य बने । लामो समय उनले बलिङबाट टिमका लागि योगदान गरे ।

नेपालले यसपछाडि पनि न्यूजिल्यान्डसँग टी–२० विश्वकपमा जित हासिल गरेको छ । सन् २०१६ मा भएको प्रतिस्पर्धामा नेपालले न्यूजिल्यान्डलाई ३२ रनले हराएको थियो । आज नेपाल यू १९ टिमले न्युजिल्यान्डविरुद्ध तेस्रोपटक प्रतिस्पर्धा गर्दै छ । टेस्ट टिमविरुद्ध दुई म्याचमा लगातार जित निकालेको नेपालले आज जितको ह्याट्रिक पूरा गर्ला ? अवश्य आशा राख्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *