यु-१९ विश्वकप : नेपालले न्यूजिल्याण्डविरूद्ध पूरा गर्ला जितको ह्यट्रिक ? – Nepal Press

यु-१९ विश्वकप : नेपालले न्यूजिल्याण्डविरूद्ध पूरा गर्ला जितको ह्यट्रिक ?

काठमाडौं । १५औँ संस्करण यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज न्यूजिल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।

नेपाल र न्यूजिल्याण्ड बिचको खेल दक्षिण अफ्रिकामा नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ ।

यू-१९ विश्वकपमा नेपालको यो न्यूजिल्याण्डसँगको भेट तेस्रो हो । यसअघि नेपालले दुई यू-१९ विश्वकपमा न्यूजिल्याण्डसँग खेल खेलेको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो ।

नेपाल र न्यूजिल्याण्डको पहिलो भेट २००६ मा भएको यू-१९ विश्वकप क्रिकेटमा भएको थियो । श्रीलङ्काको कोलम्बोमा भएको उक्त भेटमा नेपालले न्यूजिल्याण्डलाई १ विकेटले पराजित गरेको थियो ।

न्यूजिल्याण्डले दिएको २०५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा नेपालका वसन्त रेग्मी नायक बनेका थिए ।

उनले ब्याटिङतर्फ ७३ बलमा ६६ रन लिँदा बलिङतर्फ ३ विकेट लिएका थिए । रेग्मीले उक्त खेलमा २ क्याच समेत लिएका थिए ।

त्यसको १० वर्षपछिको यू-१९ विश्वकपमा नेपाल र न्यूजिल्याण्डबिच दोस्रो भेट भएको थियो । उक्त खेलमा पनि नेपालले न्यूजिल्याण्डलाई पराजित गरेको थियो ।

नेपालले दिएको २३८ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ४७ ओभर १ बलमा २०६ रनमा समेटिएको थियो । उक्त विश्वकपमा नेपाल आयरल्यान्डलाई समेत पराजित गर्दै समूह चरणबाट अघि बढेको थियो ।

समूह चरणमा नेपालसँग आयरल्यान्ड ८ विकेटले पराजित भएको थियो । क्वाटरफाइलनमा बङ्गलादेशसँग ८ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।

८ वर्षपछि आज नेपालले तेस्रो पटक न्यूजिल्याण्डको सामना गर्दै छ । नेपालले यस पटक पनि न्यूजिल्याण्डलाई पराजित गर्दै इतिहास दोहोराउन चाहन्छ । तर, नेपाललाई सहज भने हुने छैन । दक्षिण अफ्रिकाको घाँसे विकेटमा खेल्न नेपाललाई सहज हुने छैन ।

नेपालले यु-१९ विश्वकप अघि दक्षिण अफ्रिकामा ४ वार्मअप अप खेल खेलेको थियो । एक खेल वर्षाले प्रभावित हुँदा ३ खेलमा नेपालले जित हासिल गर्‍यो ।

नेपालले पहिलो अनौपचारिक खेलमा स्कटल्यान्डलाई १ सय ३५ र दोस्रो अनौपचारिक वार्मअप खेलमा नामिबियालाई ६ रनले पराजित गरेको थियो ।

पहिलो औपचारिक वार्मअप अप खेलमा नेपालले स्कटल्यान्डलाई डीएलएस मेथड अनुसार ७ विकेटले पराजित गरेको थियो । नेपाल र वेस्ट इन्डिजबिचको दोस्रो औपचारिक वार्मअप अप खेल वर्षाले प्रभावित भएको थियो ।

आइसिसीले सार्वजनिक गरेको प्लेयर टु वाचमा नेपालबाट कप्तान देव खनाल र सिनियर टोलीका समेत सदस्य गुल्सन झासँगै अर्जुन कुमाल र दुर्गेश गुप्ता छन् भने न्यूजिल्याण्डका ज्याक कमिङ, म्याट रो र टम जोन्स समावेश छन् ।

सिनियर टोलीबाट खेलिसकेका गुल्सन झा र कप्तान देव खनालको प्रदर्शन एकदमै महत्त्वपूर्ण हुनेछ । खनाल पछिल्लो खेलहरूमा चल्न सकेका छैनन् भने झाले स्कटल्यान्डविरुद्ध शतक प्रहार गरेका थिए ।

ब्याटिङतर्फ अर्जुन कुमाल, आकाश त्रिपाठी र बलिङतर्फ दीपेश कँडेल र आकाश चन्दको प्रदर्शन पनि महत्त्वपूर्ण हुनेछ । अघिल्ला वार्मअप खेलमा पनि नेपालको बलिङ औसत रहे पनि ब्याटिङ भने सन्तोषजनक हुन सकेन ।

नेपाल यू-१९ विश्वकप आठौँ पटक खेल्दै छ । यसअघि नेपालले २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा यू-१९ विश्वकप खेलेको थियो । नेपाल यो विश्वकपमा केही कठिन समूहमा छ । नेपाल रहेको समूहमा पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तान छन् ।

आइसिसी ओडिआई वरियतामा नेपाल १५औँ, पाकिस्तान चौथो, न्यूजिल्याण्ड पाँचौं र अफगानिस्तान नवौँ स्थानमा छन् ।

पाकिस्तानले सन् २००४ र २००६ मा गरी दुई पटक यु-१९ विश्वकप क्रिकेटको उपाधि जितिसकेको छ । पाकिस्तान ३ पटक उपविजेता बनेको छ । सन् १९८८, २०१० र २०१४ मा पाकिस्तान उपविजेता बनेको हो ।

न्यूजिल्याण्ड एक पटक उपविजेता बन्दा अफगानिस्तान भने हालसम्म फाइनल पुग्न सकेको छैन । न्यूजिल्याण्ड सन् १९९८ मा भएको यू-१९ विश्वकपको फाइलमा इंग्ल्याण्डसँग ७ विकेटले पराजित हुँदै उप-विजेतामा चित्त बुझाउनुपर्‍यो । न्यूजिल्याण्ड र अफगानिस्तान २-२ पटक सेमिफाइनलसम्मको यात्रा तय गरेका छन् ।

यू-१९ विश्वकपमा न्यूजिल्याण्डलाई दुई पटक हराएको नेपालले पाकिस्तानलाई पनि एक पटक हराएको थियो । सन् २००२ को यू-१९ विश्वकपमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो । नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४५ ओभर ४ बलमा १२१ रनमा समेटिएको थियो ।

नेपाली टीमः

देव खनाल (कप्तान), आकाश त्रिपाठी, दीपक डुम्रे, अर्जुन कुमाल, दुर्गेश गुप्ता, गुल्सन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *