बजेट छैन भन्दै उद्योग बन्द, गोदामभरि सिमेन्ट टन्न – Nepal Press

बजेट छैन भन्दै उद्योग बन्द, गोदामभरि सिमेन्ट टन्न

हेटौँडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग गत असोजबाट निरन्तर बन्दको अवस्थामा रहेको छ ।

उद्योग प्रशासनले बजेटको अभावमा कोइला लगायतका सामग्री खरिद गर्न नसकेको कारण देखाउँदै उद्योग बन्द गरेको छ ।

गौरवशाली इतिहास बोकेको हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा नेपालका अन्य प्राइभेट सिमेन्ट उद्योगहरूले प्रत्यक्ष लाभ उठाइरहेका छन् । तर सिमेन्ट उद्योग प्रशासनले उद्योग बन्द हुनुलाई बजेट अभाव तथा पुरानो मेसिन पटक–पटक बिग्रनु भन्दै आएको छ ।

बजेट अभावको कारण देखाउँदै बन्द भएको उद्योगमा करिब १० मेट्रिक टन सिमेन्ट थन्केर बसेको छ । हालको बजार मूल्य अनुसार उक्त सिमेन्ट बिक्री गर्दा ९ करोड बढी रकम उद्योगको खातामा आउँछ । तर कोइला किन्न पैसा नभएको कारण देखाउँदै गत चार महिनाबाट उद्योग बन्द भएपछि कर्मचारी आन्दोलित बनेका छन् ।

उद्योग बन्द हुँदा कर्मचारीको भविष्य अन्योलमा रहेको भन्दै खिल नेपाल औद्योगिक मजदुर संघको हेटौँडा सिमेन्ट उद्योग इकाईका अध्यक्ष दीपक सिंह थोकर ले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए । कृषि तर्फका एक जना कर्मचारीलाई हेटौँडा सिमेन्टको जिएम बनाएर उद्योगलाई ओरालो यात्रामा हिँडाएको उनको आरोप छ ।

उनले भने, ‘उहाँ काठमाडौंमा मात्रै बसिरहनुहुन्छ । कृषि क्षेत्रको प्रशासनिक कर्मचारीलाई यहाँ ल्याएपछि उद्योग टाट पल्टिनु स्वाभाविकै हो, ‘सिमेन्ट बिक्री गर्ने मार्केटिङ पोलिसी व्यवस्थापन पक्षसँग छैन अनि कसरी उद्योगले गति लिन्छ ?’ उनले प्रश्न गरे ।

२०७८ साल चैत्र २४ गते हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धक भएका वसन्तकुमार पाण्डे हेटौँडा भन्दा काठमाडौंमा धेरै बस्ने गरेको उद्योगकै कर्मचारीहरू पनि बनाउँछन् ।

एक जना कर्मचारीले भने, ‘हामीले धेरै कुरा त भन्न मिल्दैन तर महाप्रबन्धक ज्यू महिनौँ हेटौँडा बाहिर बस्नु हुन्छ, बजेट ल्याउनु छ भन्दै हिँडिनुहुन्छ तर अहिलेसम्म माखो मरेको भने छैन ।’

हेटौँडा सिमेन्टमा महाप्रबन्धकको जिम्मेवारीमा रहे पनि उनले उद्योगलाई अग्रगति दिने काम नगरेको त्यहाँ कार्यरत अधिकांश कर्मचारीहरूको भनाई छ ।

नेपाल प्रेससँग कुरा गर्दै हेटौँडा सिमेन्ट उद्योगका नायव महाप्रबन्धक तथा प्रवक्ता इन्जिनियर नविनकुमार कर्णले कोइला किन्ने पैसाको अभावले उद्योग सञ्चालनमा कठिनाइ उत्पन्न भएको बताए ।

आवश्यक कोइला खरिदको लागि उद्योगसँग पैसा नभएको र उद्योगको गोदाममा रहेको सिमेन्ट बिक्री गर्न पनि समस्या भएको कारण उद्योगको उत्पादन ठप्प भएको उनको भनाई छ ।

उनले भने ‘हामीलाई उद्योग सञ्चालन गर्न महिनाको कम्तीमा तीन हजार टन कोइला आवश्यक पर्छ तर हामीसँग जम्मा सय टन मात्र कोइला रहेको छ, बाँकी कोइला किन्ने बजेट उद्योगसँग छैन ।’

२०७५ सालयता निरन्तर घाटामा रहेको उद्योगले जग्गा बेचेर भए पनि उद्योगको घाटा पूर्ति गर्ने र नयाँ मेसिन जडान गर्ने योजना बनाएको थियो । तर जग्गा बेचेर मेसिन किन्ने योजनालाई सरकारले वास्ता नगरेपछि त्यो योजना खेर गएको छ ।

निरन्तर घाटामा रहेको उद्योगलाई व्यवस्थित गर्नेतर्फ ध्यान नदिने तर महाप्रबन्धक हेरफेर, कर्मचारीको सरुवा–बढुवामा सरकारको ध्यान केन्द्रित हुँदा उद्योगको भविष्य नै अन्योलमा परेको छ ।


प्रतिक्रिया

One thought on “बजेट छैन भन्दै उद्योग बन्द, गोदामभरि सिमेन्ट टन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर