प्रधानमन्त्रीले सबैको विश्वास जित्नुभएको छ, गठबन्धन पाँचै वर्ष जान्छ : पुन – Nepal Press

प्रधानमन्त्रीले सबैको विश्वास जित्नुभएको छ, गठबन्धन पाँचै वर्ष जान्छ : पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने बताएका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवार र मतदाताबीच शनिवार काठमाडौंको गोकर्णमा भएको अन्तर्क्रियामा पुनले निश्चित राजनीतिक उद्देश्यका लागि बनाइएको गठबन्धन कसैले चाहेर तलमाथि हुने अवस्था नरहेको बताए ।

संविधानको रक्षा र कार्यान्वयनका लागि बनेको गठबन्धन मुलुकको अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । पुनले विश्व भू-राजनीतिक प्रभावको सामना गर्न लोकतान्त्रिक र वाम प्रगतिशील शक्तिबीच सहकार्यको विकल्प नरहेको उल्लेख गरे ।

‘यो संविधानको रक्षा र कार्यान्वयनका लागि बनाइएको गठबन्धन हो’, पुनले भने, ‘यो कुनै नेता र पार्टीगत स्वार्थले बनेको नभई नेपालको अहिलेको आवश्यकता हो । वामपन्थी-प्रगतिशील र लोकतान्त्रिक शक्ति नमिली नेपालले विश्व भू–राजनीतिक प्रभावको सामना गर्न सक्दैन ।’

गठबन्धनमा लामो समय मुलुकको राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणका लागि संघर्ष, त्याग र बलिदानको पृष्ठभूमिबाट आएका दलहरू रहेको उनले बताए ।

१२ बुँदे सहमतिदेखि संविधान निर्माणमा सहकार्य गरेका प्रमुख शक्तिहरूको गठबन्धन भएकाले यसलाई आजको यथार्थतामा बुझ्न जरुरी रहेको उनले बताए ।

‘हाम्रो यो गठबन्धन चुनावी जित हारका लागि वा नेताहरूको स्वार्थका लागि नभई निश्चित राजनीतिक उद्देश्यका लागि बनेको हो’, पुनले भने, ‘शान्ति प्रक्रियाका केही कामहरू बाँकी छन् । संविधान कार्यान्वयनमा विभिन्न खालका अवरोधहरू खडा गरिए । ती अवरोधहरू पन्छाउँदै संविधानका व्यवस्थाअनुसार जनताका अधिकार सुनिश्चित गर्नु गठबन्धनको उद्देश्य हो ।’

आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन आबद्ध दल र ती दलका प्रमुख नेताहरूको विश्वास जितेका कारण पनि गठबन्धन पाँचै वर्ष जाने आधार तयार भएको पुनको भनाइ थियो ।

पुनले सरकारले संसद्को हिउँदे अधिवेशनमा संघीय निजामती र संघीय प्रहरी ऐन पारित गर्ने गरी गृहकार्य गरिरहेकाले संघीयता कार्यान्वयनमा भएको विलम्ब चाँडै हट्ने बताए ।

नेपाल संघीयताको नयाँ अभ्यासमा रहेको र संघीयताको चरित्र समन्वयात्मक रहेको भन्दै पुनले मुख्यमन्त्रीहरूको असन्तुष्टि छिट्टै सम्बोधन हुने गरी प्रधानमन्त्रीले काम अघि बढाएको उल्लेख गरे ।

पुनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा मात्र संघीयता सफल बनाउन सकिने भएकाले साझा अधिकार सूचीअनुसार तीनवटै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय तहमा संघीयताको अभ्यास गर्ने क्रममा धेरै राम्रा अनुभवहरू हासिल भएका र जनताले प्रभावकारी सेवा पाएको दाबी गरे ।

फरक प्रसङ्गमा पुनले राष्ट्रियसभामा सात वटै प्रदेशहरूको समानुपातिक प्रतिनिधित्व हुने भएकाले त्यसको बनोट विशिष्ट र मौलिक रहेको बताए । ठूलो जनसंख्या भएको मधेस र बागमती तथा कम जनघनत्व भएका कर्णाली र सुदूरपश्चिम प्रदेशको राष्ट्रिय सभामा बराबर ८ जनाको प्रतिनिधित्व हुने भन्दै त्यसले प्रदेशहरूको स्वार्थको प्रतिनिधित्व गर्ने जनाए ।

‘राष्ट्रिय सभा प्रदेशहरूको समानुपातिक प्रतिनिधित्व भएको निकाय हो । प्रतिनिधिसभा जस्तो कार्यकारीको प्रभाव राष्ट्रिय सभामा पर्दैन’, पुनले भने, ‘बनोटले नै के बताउँछ भने राष्ट्रिय सभाले प्रदेश र स्थानीय तहहरुको स्वार्थको प्रतिनिधित्व गर्छ ।’

पुनले गठबन्धनका उम्मेदवारलाई जिताउन आफ्ना पार्टीका प्रदेशसभा सदस्य र पालिका अध्यक्ष तथा उपाध्यक्षलाई निर्देशन दिए । विगतका निर्वाचनमा भएका कमजोरी गठबन्धनमा आबद्ध कुनै पनि दलले नदोहोर्‍याउने विश्वास पनि उनले व्यक्त गरे ।

राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ । बागमतीको चार सिटका लागि सत्ता गठबन्धनबाट कांग्रेसका जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल उम्मेदवार छन् ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीले सबैको विश्वास जित्नुभएको छ, गठबन्धन पाँचै वर्ष जान्छ : पुन

  1. Delhi ko man jitnu bhayeko chha. Pugihalyo ni. Aru party lai milaune kam ta Delhi le gari halxa ni. Kebal Delhi ko dalal bannu paryo . Banki kam Delhi le milauxa.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर