पाँचवटा निकायमा नाम निकालेकी मनिषा घर्ती संघ कि प्रदेश राेज्ने अलमलमा (भिडिओसहित) – Nepal Press

पाँचवटा निकायमा नाम निकालेकी मनिषा घर्ती संघ कि प्रदेश राेज्ने अलमलमा (भिडिओसहित)

रुपन्देही । गुल्मीको धुर्कोट गाउँपालिका वडा नं ३, हाडहाडेकी मनिषा जिसी भनेर चिनिने विष्णु घर्तीले एक वर्षभित्रमा विभिन्न सरकारी सेवाका पाँचवटा लोक सेवा आयोगका परीक्षा उत्तीर्ण गरेर वाहीवाही भएकी छन्।

सामाजिक सन्जालमा मात्र होइन सबैतिर उनले बधाई थाप्न भ्याईनभ्याई छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि बहालवाल मन्त्री, सांसद, विभिन्न पार्टीका नेताहरु, आफन्त, साथीभाई सबैतिरबाट उनलाई अहिले बधाइको ओइरोले थेगिनसक्नु खुसी थपिइरहेको छ ।

बुटवल–कालिका क्याम्पसमा स्टाफ नर्स प्राविधिक शिक्षातर्फ स्नातक तेश्रो वर्षमा अध्ययनरत जिसीले गएको १० महिने अवधिमै पाँच वटा लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेकी हुन् । पहिलो पटक उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तहमा नाम निकालेकी हुन् ।

त्यसपछि लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, वाग्मती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह पास गरेर उनले आफ्नो क्षमता देखाएकी मात्र छैनन् नेपालको ग्रामीण क्षेत्रमा पढेर, जागिर गर्दै पढेर पनि सफलता पाउन सकिन्छ भन्ने उदाहरण पेश गरेकी हुन् ।

घर्तीले आफू के बन्ने भन्ने लक्ष्यका साथ प्रतिवद्ध भएर लागेमा सफलता हात लाग्ने बताइन् । ‘मलाई सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो, डक्टर बन्ने रहर थियो, सेतो कोट लगाउने रहर थियो, जसरी पनि त्यो लक्ष्य पूरा गर्नुपर्छ भन्ने अठोटका साथ पढेकी हुँ, एसएसलीपछि घरमा राम्रो आर्थिक स्रोत थिएन, बुवाले सामान्य व्यवसाय गरेर घर धानिरहनुभएको थियो, दुई बहिनी र एक भाईलाई पढाउनुपर्ने जिम्मेवारी थियो,त्यो अवस्थामा मेरो रहर पूरा गर्न ठूलो चुनौती थियो’ उनले भनिन्–‘एसएससीमा प्रथम श्रेणी उत्तीर्ण भएपछि अंकलसँग बुटवलमा झरेँ, नाम निकालेर पूर्ण छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ, र लोकसेवाको पनि निरन्तर तयारी गरेँ’ उनले भनिन् ।

‘एसएलसीमा प्रथम श्रेणीमा पास गरेँ, डक्टर, नर्स पढ्ने भने तर कुन विषय पढेर के हुन्छ भन्ने थाहा थिएन, धेरै रकम लाग्ने सुनेर डर लायो, ३ वर्षे फुल स्कोलरसीपमा पढेँ, सफल भएँ’ उनले आफ्नो संघर्ष सुनाइन् । निरन्तरको लगाव र परिश्रमका कारण आफूलाई सफलता मिलेको घर्र्तीको भनाइ छ । बुटवलमा उनले सुरुमा ८ हजारको मासिक तलबमा प्राइभेट नर्सिङ होममा काम गरेर पछि सरकारी करारमा लुम्बिनी अस्पतालमा सेवा थालेको उनले स्मरण गरिन् ।

पछिल्लो समय एक महिना मात्र तयारी गरेर परीक्षा पास भएको उनले बताइन् । ‘नेपालको पढाई, यहाँको भविश्यका विषयमा प्रश्न गर्नेहरुलाई उनले रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ,ु तर त्यसको पूर्ण लगाव चाहिन्छ’ घर्तीले जवाफ दिन्छिन् ।

माध्यमिक शिक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा पास गरेकी उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट २०७५ सालमा पास गरेकी हुन् । त्यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरेकी थिइन् । घर्ती हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययनरत विद्यार्थी हुन्।

बुटवल कालिका क्याम्पसका प्राचार्य घनश्याम पाठक संघर्ष र मेहनतको उदाहरणीय पात्रका रुपमा मनिषालाई लिन सकिने बताउँछन् ।

आफ्नो कलेजमा अध्ययरत छात्रा अहिले देशभरको उदाहरणीय पात्र बन्दा निकै खुसी लागेको बताउँदै पाठकले यस्ता पात्रहरुबाट सरकारी विद्यालय र कलेजमा रहेका अब्बल विद्यार्थीका पहिचान गरेर अगाडि जानुपर्ने बताए ।

छोटो समयमा सबैतिर नाम निस्केपछि मनिषाले अब कहाँ रोजेर आफ्नो सेवा अगाडि बढाउने भन्ने निर्णय लिन सकेकी छैनन् ।

‘परीक्षाको फर्म खुल्यो, सबैतिर फर्म भरेँ, जाँच दिएँ, पहिलो परीक्षा कोशीमा दिएँ नाम निकाले निकै खुसी भएँ, पछि त अरुमा नि आयो निकै खुसी छु, लगाबको फल हो भन्ने लागिरहेको छ, कति धेरै सामाजिक सन्जालमा, फोनमा, भेटर बधाई दिइरहनुभएको छ, परिवार, समाज, विद्यालय तथा कलेज परिवार सबैतिरबाट आएका बधाई ग्रहण गर्न पनि भ्याएको छैन, म सबै विद्यार्थी साथीहरुलाई धैर्यता राख्नुस्, हात हालेको काम पूरा हुन्छ भन्न चाहन्छु’ मनिषाले भनिन् ।

समय नभएर, रकम नभएर पढ्न नपाएको भन्नेहरुलाई पनि मनिषाले गतिलो जवाफ दिएकी छन् । ‘केहीले रकम अभावमा, समय अभावमा पढ्न पाइन भन्नुहुन्छ तर धेरैमा लगाव कम भएर हो जस्तो लाग्छ, मैले पनि काम गर्दै पढेको हो गरेपछि हुनेरहेछ । काम गर्दै पढ्दा पनि लगनशील भएर गरे पास भइन्छ । सफल भइन्छ, हरेश खानु भएन, निरास हुनुभएन, तनाव लिनुभएन, भाग्य होइन लगनशीलता हो भनेर मेहनत गरिरहनुपयो ।’ उनको सुझाव छ ।

पाँचै ठाउँमा नाम निस्केपनि कोशीमा भने धेरै टाढा भएकाले र अरु सम्पर्क पनि नभएकाले नजाने र यता संघ वा प्रदेश कुन रोज्ने भन्नेमा अलमल रहेको बताइन् ।

‘अब हाल यतै छु । पढाई पनि जारी छ, अब संघीय रोज्ने कि प्रदेश अलमलमा छु । कहाँ रोज्ने सोच्दै छु । सकेसम्म कहाँ सहज हुन्छ त्यही रोज्छु्, कोशी टाढा भएकाले जान्नहोला, म जहाँ जान्छु हाँसेर सेवा दिन्छु, धेरै पढ्नु छ । बीएड पास गर्नुछ, नर्सिङ पनि मास्टर तह पढ्ने इच्छा छ त्यो पूरा गर्दछु’ घर्तीले सुनाइन् ।

‘नेपालमा केही छैन नभनौ । लोकसेवा पास हुने टिप्स केही हुन्न, आफ्नो तरिकाले पढ्ने हो, मन फुकाएर पढ्ने हो, म पनि सबैतिर अपडेट हुन्थे तर आफ्नो लगाव, धैयर्ता हुनुपर्छ । प्रोत्साहन लिएर अघि बढ्ने हो । टेन्सनबिना बढेर म यही हुन्छु भन्ने हुनुपर्छ सफल भइन्छ ।’ लोकसेवा पढिरहेका विद्यार्थीलाई सुझाव दिन्छिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *