योजना आयोगमा एक सदस्य थप, अब अध्यक्षसहित ७ पदाधिकारी – Nepal Press

योजना आयोगमा एक सदस्य थप, अब अध्यक्षसहित ७ पदाधिकारी

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा एक सदस्यको पद थप गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश, २०७४ लाई संशोधन गर्दै ६ सदस्यबाट सात सदस्य बनाउने निर्णय गरेको हो ।

योजना आयोगमा यसअघि एक उपाध्यक्ष र एक महिलासहित ६ जना सदस्य रहने व्यवस्था थियो । तर मन्त्रिपरिषदले आयोगमा एक महिलासहित सात सदस्य रहने निर्णय गरेको हो ।

आदेशको दफा ३ मा संशोधन गर्दै भनिएको छ, ‘राष्ट्रिय योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७४ को दफा तीनको उपदफा दुईको खण्ड ग को सट्टा देहायको खण्ड ग राखिएको छ । खण्ड ग मा भनिएको छ, नेपाल सरकारबाट नियुक्त कम्तीमा एक महिलासहित बढीमा सात जना सदस्य ।’

सचिव गणेशप्रसाद पाण्डेयले जारी गरेको आदेशमा आयोग गठन तथा कार्यसञ्चालन आदेश २०७४ को दफा ३ को उपदफा २ को खण्ड (ग) संशोधन गरेको उल्लेख छ । सत्ता गठबन्धन दललाई भाग पुर्याउन सरकारले सदस्य थप गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपिरिषद् कार्यालय स्रोतले जनाएको छ ।

राष्ट्रिय योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०६७ अनुसार पनि सात जना नै आयोगमा सदस्य रहने व्यवस्था थियो । नेपालको संविधान २०७२ जारी भइसकेपछि पछि राष्ट्रिय योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश, २०७४ ल्याएर सात जना सदस्यबाट घटाएर ६ जनामा झारिएको थियो । अहिले पुन थपेर सात पुर्याइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *