बराबरीका अधिकार र अवसर लिन अझै बाँकी छ : उपेन्द्र यादव – Nepal Press

बराबरीका अधिकार र अवसर लिन अझै बाँकी छ : उपेन्द्र यादव

जनकपुरधाम ‌। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बराबरीको अधिकार र अवसर लिन अझै बाँकी रहेको बताएका छन् ।

वीरगञ्जमा मधेश सरकारद्वारा आयोजित ‘बलिदानी दिवस’ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले बराबरीको अधिकार र अवसर नपाएसम्म संघर्ष जारी राख्ने बताए । उनले अधिकार र अवसरका लागि सडक, सदन र संसदमा संघर्ष जारी राख्न आवश्यक रहेको बताए ।

उनले भने, ‘मधेश आन्दोलनले देशमा संघीयता आयो । तर ८ जिल्लाको मधेश प्रदेश मात्र पायौं । मधेशका बांकी भूभाग मधेश प्रदेशमा जोडिओस् । यसका लागि पनि संघर्ष जारी छ ।’

मधेशमा ५३ प्रतिशत जनसंख्या रहेपनि हाम्रो प्रतिनिधित्व ४० प्रतिशत मात्र रहेको बताए । ‘५३ प्रतिशत जनसंख्यामा ५३ प्रतिशत नै प्रतिनिधित्व हुनुपर्छ’, उनले भने, ‘लोकतन्त्रको आधार जनसंख्या हो र त्यसकै आधारमा प्रतिनिधित्व आज पनि भइरहेको छैन् ।’

मधेशमा कम लगानीमा बढी विकास हुने भन्दै अध्यक्ष यादवले भने, ‘कृषि, शिक्षा, उद्योग र कलकारखाना नै लगायौं भने पूरा देश समृद्ध हुनसक्छ । गरिबी र बेरोजगारी समाप्त हुन्छ । तर दुर्भाग्य ! राज्यको विभेदकारी नीति चल्दैछ, मधेशलाई हेर्ने नजरिया नै फरक छ ।’

उनले मधेशमा जनसंख्या ५३ प्रतिशत छ तर बजेट १३ प्रतिशत मात्र दिने गरेकोमा दुःख व्यक्त गरे । उनले प्रश्न गरे, ‘के १३ प्रतिशत बजेटले ५३ प्रतिशत जनसंख्यालाई विकसित गर्न सकिन्छ ?’

राज्यको लगानी न्यायपूर्ण हुनुपर्नेमा उनले जोड दिए । विकाशको सुचकांकमा मधेश पछाडि परेको छ भने सबभन्दा बढी लगानी पनि मधेशमा हुनुपर्ने उनको भनाइ थियो ।

‘शहिदको सपना थियो मधेशबाट गरिबी र बेरोजगारीको अन्त्य होस् र विभेद र असमानबाट मुक्ति मिलोस्’, उनले भने, ‘यसका लागि आज पनि संघर्ष जारी छ । संघर्षलाई अगाडी बढाउन आवश्यक छ ।’

गरिबी, बेरोजगारी, असमान र विभेदबाट जनताले मुक्ति नपाएसम्म/नदिलाएसम्म शहिदको सपना पुरा नहुने पनि उनले बताए ।

०६३ माघ ५ मा पहिलो मधेश आन्दोलनताका सिरहाको लहानमा विद्यार्थी रमेश महतो शहिद भएका थिए । उनको सम्झनामा विगत ६ वर्षदेखि मधेश सरकार बलिदानी दिवस मनाउँदै आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर