सिद्धबाबा सुरुङमार्गः २ वर्षमा पुगेन ४ प्रतिशत निर्माण प्रगति, विवाद हटेपछि लय समात्दै – Nepal Press

सिद्धबाबा सुरुङमार्गः २ वर्षमा पुगेन ४ प्रतिशत निर्माण प्रगति, विवाद हटेपछि लय समात्दै

काम रोकेका ३० मध्ये हराएका १२ रुखले वन कार्यालय र आयोजनाको टाउको दुखाई

रुपन्देही । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग आयोजनाको पछिल्लो भौतिक प्रगति समग्रमा १० प्रतिशत पुगेपनि निर्माणको प्रगति भने दुई वर्षमा चार प्रतिशत पुगेको छैन ।

आयोजनाका प्रमुख रामपुकार जैसवालका अनुसार शुरुवातको समयमा केही काममा समस्या भएपनि अहिले सहजता भएको र अब कामले प्रगति बढाउने छ । उनका अनुसार पछिल्लो साताको सबै भौतिक प्रगति १० दशमलब दुई प्रतिशत रहेको छ ।

अहिले सुरूङमार्गको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टनेल तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो भएको र सवारी आवतजावत गर्दा काम गर्न समेत अवरोध भएको भन्दै राती १० बजेदेखि बिहान ४ बजेसम्म बुटवल दोभान सडकखण्डको आवतजावत बन्द गरेर काम भइरहेको छ ।

माघे संक्रान्तिमा दुई दिन बन्द नगरिए पनि अन्य समयमा नियमित रुपमा बाटो बन्द गरेर काम भइरहेको छ । आयोजनाले स्लोप कटिङ एण्ड प्रोटेक्सन, नर्थ पोर्टल, साउथ पोर्टल, मेन टनेल र बाइपास टनेल पहिलो, दोस्रो र तेस्रो गरी ७ वटा क्षेत्रमा वर्गीकरण गरेर काम गरेको छ । त्यही आधारमा हरेक साता, महिनामा अलग अलग क्षेत्रको प्रगति विवरण राखेर समीक्षा गर्ने गरेको जैसवाल बताउँछन् ।

आयोजनाका इन्जिनियर तथा प्रवक्ता सबिता ज्ञवालीका अनुसार अहिलेसम्म निर्माणको प्रगति जम्मा ३ दशमलव ८ प्रतिशत मात्रै भएको छ । सुरूङमार्गको विस्तृत अध्ययन, डिजाइन, विद्युत जडान, क्रसर प्लाण्ट, ल्याब र क्याम्प स्थापना लगायत गरी १० दशमलव २ प्रतिशत प्रगति भए पनि सुरूङ निर्माणको मुख्य काम दुबै तर्फका पोर्टल, बाइपास सुरूङ, स्लोप कटिङ लगायतका काम भने ३ दशमलव ८ प्रतिशत मात्रै पूरा भएको छ ।

बुटवल र पाल्पा दुवैतर्फको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रकसेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे ३ किलोमिटर सडकलाई सुरक्षित बनाउने काम भइरहेको छ ।

पाँच वर्षमा निर्माण सक्ने गरी २०७८ साल फागुनको अन्तिम साता ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले सुरूङमार्गको डिजाईनमै एकवर्ष समय खर्चिएको थियो । निर्माण सुरू भएको झण्डै एक वर्षको अवधिमा ४ प्रतिशत पनि काम सम्पन्न भएको छैन ।

कम्पनीलाई बाँकी रहेको तीन वर्षको अवधिमा निर्माणको काम सम्पन्न गर्नुपर्ने ठूलो चुनौती छ । ठेक्का सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि थप पाँच वर्ष आयोजनाको सञ्चालन तथा मर्मत गर्ने कामसमेत चिनियाँ कम्पनीले गर्नुपर्ने छ ।

कुल ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएकोमा निर्माण कम्पनीले अहिलेसम्म १२ प्रतिशत रकम लगिसकेको छ । कुल लागतको १० प्रतिशत मोभिलाईजेसन अन्तर्गत पेश्की र काम गरेवापत २ प्रतिशत गरी ८८ करोड रुपैयाँ लगिसकेको ज्ञवालीले बताइन् ।

सुरूङ मार्ग निर्माणपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरुमा आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ । सिद्धबाबा राजमार्गको सिद्धबाबा खण्डमा झर्ने चट्टान सहितको पहिरोले हरेक वर्ष आठ दस जना मानिहरूको ज्यान जाने तथा ठूलो आर्थिक क्षति हुने गरेको भन्दै सडकको सुरक्षित आवागमनको लागि सुरूङमार्गको योजना अगाडि बढाइएको हो ।

सिद्धबाबा क्षेत्रको सबैभन्दा अप्ठ्यारो र जोखिम रहेको माथिल्लो सिद्धबाबा मन्दिरदेखि अगाडिको पहरोदेखि विद्युतको हेडवक्र्ससम्म एक हजार १२६ मिटर लम्बाइको सुरूङमार्ग निर्माणको लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ठेक्का सम्झौता गरी काम गरिरहेको छ ।

यसअघि सुरूङ मार्गको प्रवेश र निकास दुबै तर्फको पोर्टलमा पहिरोले क्षति पुर्याएपछि निर्माण कम्पनीले असोजदेखि मात्रै काम अगाडि बढाएको थियो । ठेक्का सम्झौताअनुसार २०८३ सालभित्रै निर्माण कम्पनीले सुरूङ मार्ग निर्माणको काम सक्नुपर्ने छ । तर यस्तै झिना मसिना कानुनी अडचनको गोलचक्करमा यो सुरूङ मार्ग निर्माणको काम सम्पन्न होला भन्ने बिश्वास गर्न कठिनै छ ।

आयोजनाको निर्माण कार्यका लागि इन्जिनियरिङ प्रोक्यूरमेन्ट र कन्स्ट्रक्सन (इपीसी) मोडालिटीमा निर्माण कम्पनी चाइना स्टेट कस्स्ट्रक्सन इन्जिनियरिङ सम्झौता गरेको थियो । सरकारले आयोजना निर्माण गर्न ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । यस योजना अन्तर्गत ११२६ मिटर लामो सुरुङ मार्गको निर्माण तथा २४०० मिटर सडक चौडा गरी सुधार गरिने ठेक्का सम्झौता गरेको थियो । आयोजना दुई चरणमा निर्माण सम्पन्न गर्ने गरी विभाजन गरिएको छ । पहिलो चरणमा इन्जिनियरिङ, प्राक्यूरमेन्ट र कन्स्ट्रक्सन काम ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

त्यसबाहेक निर्माण कार्य सम्पन्न भइसकेपछि पाँच वर्षसम्म सञ्चालन र मर्मतको कार्य ठेक्का सम्झौता गरेको कम्पनीले गर्नेछ ।
नेपालमा पहिलोपटक पूर्ण रुपमा नेपाल सरकारको लगानीमा निर्माण हुन लागेको यस सुरुङ मार्ग निर्माण भए लगत्तै बुटवल–पाल्पा सडक खण्डको यात्रा सहज र खतरा मुक्त हुने विश्वास गरिएको छ ।

सुरुङमार्ग निर्माणपश्चात् रुपन्देही तथा पाल्पा जिल्ला पर्यटकीय हबको रुपमा विकास हुन सक्ने हुँदा पर्यटन क्षेत्रको प्रवद्र्धन भई थप रोजगारी सिर्जना समेत हुनेछ । भौगोलिक हिसावले अति जटिल क्षेत्र हुनुका साथै मौसमी कारणले १२ महिना नै निर्माण कार्य गर्न समस्या रहेको छ ।

के हो रुख काट्ने समस्या ?

पुस १६ गतेदेखि दैनिक ६ घण्टा सडक बन्द गरेर निर्माण गर्न थालिएको सुरूङमार्ग । तर केही दिनअघि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई आयोजनाका कन्सल्टेन्ट इरानी नागरिक कर्डीले वन कार्यालयले रुख काट्ने अनुमति नदिँदा काम गर्न कठिनाई भएको गुनासो गरेको विषयले अहिले चर्चा पाएको छ ।

प्रजिअ अर्यालले इन्जिनियर कर्डीको कुरा सुनेपछि प्रदेश वन निर्देशनालयसँग सहजीकरण गर्न पाल्पाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्ने आश्वासन दिएका थिए । वन कार्यालयको ढिलाईले आयोजना निर्माणमा ढिलाई भएको विषय यहाँ मात्रै होइन धेरै ठाउँमा रहेको पूर्वमन्त्री तथा प्रदेश सांसद बिष्णु पन्थी बताउँछन् ।

“नेपाली सेना प्रमुखले फास्ट ट्र्याकमा ४ वटा रुख काट्न ९ महिना वनको चक्कर काट्न परेको पीडाको कुरा उहाँको मुखबाट सुने । बुटवल नारायणगढ सडकखण्ड बन्न ढिलाइ हुनुमा १३ महिना बनको गोल चक्कर काट्नुपर्यो, प्रदेशको सरुवा रोग अस्पताल (शिबराज ५ चन्द्रौटा) बनेर सेवा सुचारु हुने बेलासम्म वनको चक्रब्युहमा छ, बुटवलमा गौतम बुद्ध मुटु अस्पताललाई वनले थला पार्‍यो ।’ उनले भनेका छन्–‘बुटवल सभा केन्द्र १६ वटा रुखले ३ वर्ष पछि धकेल्यो । सिटीभिटीको कपिलवस्तुको जीपी कोइराला स्मृति प्राबिधिक स्कुललाई तुहाएरै छोड्यो । नेपाललाई लामो समयसम्म लोडसेडिङको मारमा पुर्‍यायो। त्यसैले अब पहिले सम्पुर्ण वन कानुन खारेज गर्ने र आवश्यकताअनुसार ब्यवहारिक ढंगले सम्बन्धित संसदीय समितिद्वारा ऐनहरुका मस्यौदा तयार पार्नुपर्छ ।”

सिद्धबाबाको पहरामा भएका रुखले सिद्धबाबा सुरूङमार्ग निर्माणमा समस्या भयो भन्ने सुन्दा धेरैलाई विश्वास नलाग्नसक्छ । तर सुरूङमार्ग निर्माणका लागि करिव ३० वटा रुख काट्नुपर्ने छ, त्यसैको प्रकृया पुर्‍याउन ढिलाई भएको छ । सडकमाथि रहेको चट्टाने पहरा फोरेर अहिले सुरूङमार्ग निर्माणको काम चलेपनि पहरामा विभिन्न प्रजातिका ३० वटा पोथ्रा रूख छन् । न त तिनको काठ निस्कन्छ न त दाउरा। तर तिनै पोथ्रा रुख काट्न बनको अनुमति नपाउँदा पहराबाट खस्ने ढुंगालाई छेक्न रकसेट गर्न नपाइएको गुनासो प्राविधिकको छ ।

सुरूङमार्गको दुबैतर्फको पोर्टल, सुरूङमार्ग बाइपास टनेल तथा स्लोप क्षेत्रको समेत काम गर्दा त्यहाँ उत्पन्न हुने कम्पन तथा थर्कनले बाहिरी भागमा रहेका चट्टानहरू झर्ने जोखिम रहन्छ । त्यसैले यी काम गर्नुभन्दा पहिले ढुंगा खस्ने सम्भावित पहरोमा रहेको बुट्यान हटाएर रकसेट गरी सुरक्षित गर्नुपर्छ । तर रूख कटानको स्वीकृति नपाउँदा रकसेट गर्न रोकिएको छ ।

सिद्धबाबा सुरूङमार्ग निर्माणलाई तीव्रता दिन भनेर आयोजनाले पुस १६ गतेदेखि २ चरणमा गरी सय दिनसम्म दैनिक ६ घन्टा बुटवल दोभान सडकखण्डमा सवारी साधन बन्द गरेको छ ।

आयोजनाका इन्जिनियर सविता ज्ञवालीका अनुसार रूख कटान गर्दा र रकसेट गर्दा पहरोबाट ढुंगाहरू झर्नसक्ने भएकोले सो अवधिमा सडकको आवागमन बन्द गर्नुपर्ने हुन्छ । यसपटक सडक बन्द गरिएको अवधिमा रूख कटानको स्वीकृति नभए पुनः सडक बन्द गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

इन्जिनियर ज्ञवालीका अनुसार रूख कटानको अनुमतिको लागि वन विभागमा पत्र पठाएको पनि १ महिनाभन्दा बढी भएपनि अझै स्वीकृति आएको छैन । विभागबाट डिभिजन वन कार्यालय पाल्पालाई पत्र पठाएको भनिए पनि तिनाउ सव डिभिजन वन कार्यालय दोभानमा आएर उक्त पत्र रोकिएको सूचना पाएको उनको भनाइ छ ।

तिनाउ सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले सुरुङ मार्गमा सुरुवाती चरणका काम हुन नसकेपनि अहिले कामले लय लिन थालेको छ । निर्माण कम्पनीले अरुलाई दोष दिएर ढिलो काम गर्न नहुने बताउँदै सुरुङका लागि दक्ष जनशक्ति कम लगाएर सामान्य कामदार मात्रै लगाइएको विषयलाई ध्यान दिन आग्रह गर्दै हेडबक्सनिरको माथिल्लो टनेलबाट खोलामा अव्यवस्थित रुपमा टुंगा र माटो फाल्दा थप जोखिम बढाउने र तलको आयोजनासमेत प्रभावित हुने विषयमा सचेत हुनुपर्ने उनको सुझाव छ । पछिल्लो समय स्थानीय र आयोजनाबीच दुरी कम भएकाले कामले गति लिनुपर्ने र स्थानीयको विषयलाई समयमै सम्बोधन गर्नुपर्ने उनको आग्रह छ ।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले भने आयोजनाले ढिलो गरी प्रक्रिया सुरू गरेकोले रूख कटानको स्वीकृतिको लागि पनि केही ढिलाइ भएको र निवेदन ढिलो आएकाले प्रकृयामा गइसकेको बताउँछन् ।

भट्टराईले सडकको क्षेत्राधिकार भित्रका रूखहरू भए पनि काट्नुभन्दा पहिले वन कार्यालयबाट टाँचा लगाउनुपर्ने र विभागबाट अनुमति पाइसकेकोले केही दिनभित्रै आयोजनालाई रूख कटानको स्वीकृति दिने बताए ।

तिनाउ डिभिजन वन कार्यालयका प्रमुख सिद्धान्त बराल निर्माण कम्पनीले अरुलाई दोष दिएर आफ्नो कमजोरी लुकाउन नहुने बताउँदै काम हुन नसक्नुको वास्तविकता भन्नुपर्ने बताउँछन् । उनले वन कार्यालयको नियम अनुसार आफूहरुले प्रकृया थालिसकेको र पुस २६ गतेपछि धेरै बिदा परेकाले ढिलाई भएको बताउँछन् ।

वन कार्यालयका अनुसार पत्रमा ३० वटा रुख काट्नुपर्ने भएपनि अहिले फिल्डमा १८ वटा मात्र खडा रुख भेटिएकाले समस्या भएको छ । पत्र पाएपछि वनको टोली सो क्षेत्रमा पुगेको र निर्धारित क्षेत्रभित्र १८ वटा मात्रै भेटिएकाले बाँकी १२ वटा पहिरोमा परे वा कहाँ गए भन्ने विषयमा खोजी भइरहेको छ ।

 


प्रतिक्रिया

2 thoughts on “सिद्धबाबा सुरुङमार्गः २ वर्षमा पुगेन ४ प्रतिशत निर्माण प्रगति, विवाद हटेपछि लय समात्दै

  1. विवाद भएपछि ठेकेदारले काम गर्न पाउदैन । अनि चाईनिज ठेकेदारले काम गरेन भनेर लैनचौरबाट हण्डी खाएर लेख्ने पत्रकार र केही नेतालाई मसला पुग्छ ।

  2. नेपालमा किन काम ढिलो हुन्छ भन्ने निष्कर्षः
    लेखको अन्तिम हरफः
    वन कार्यालयका अनुसार पत्रमा ३० वटा रुख काट्नुपर्ने भएपनि अहिले फिल्डमा १८ वटा मात्र खडा रुख भेटिएकाले समस्या भएको छ । पत्र पाएपछि वनको टोली सो क्षेत्रमा पुगेको र निर्धारित क्षेत्रभित्र १८ वटा मात्रै भेटिएकाले बाँकी १२ वटा पहिरोमा परे वा कहाँ गए भन्ने विषयमा खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *