अफगानिस्तानविरुद्धको सुपर ओभरमा खुल्यो रोहित शर्माको झेल ! अम्पायरको पनि मेल – Nepal Press

अफगानिस्तानविरुद्धको सुपर ओभरमा खुल्यो रोहित शर्माको झेल ! अम्पायरको पनि मेल

‘रिटायर्ड आउट’ भएको ब्याट्सम्यान फेरि क्रिजमा फर्किन नपाउने नियमको बेवास्ता

काठमाडौं । भारत र अफगानिस्तानबीचको तेस्रो टि–२० म्याच अभूतपुर्व रह्यो । नियमित २०–२० ओभरको खेल र त्यसपछिको सुपर ओभर पनि ‘टाइ’ भएपछि दोस्रो सुपर ओभरबाट नतिजा निकालिएको थियो ।

भारतले पहिले ब्याटिङ गर्दै २१२ रनको विशाल स्कोर खडा गरे पनि सामान्य तरिकाले खेल जित्न सकेन । अफगानिस्तानले पनि निर्धारित ओभरमा २१२ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको हो ।

सुपर ओभरमा पहिले अफगानिस्तानले ब्याटिङको निम्तो पायो । भारतले फास्ट बलर मुकेश कुमारलाई बलिङमा पठायो भने अफगानिस्तानबाट ब्याटिङमा गुलबदिन नैब र मोहम्मद नाबी । यीनै दुई ब्याट्सम्यानले नियमित २० ओभरको खेलमा भारतलाई जितबाट रोकेका थिए ।

पहिलो बलमै गुलबदिन रन आउट भए । सुपर ओभरमा तीन ब्याट्सम्यानले ब्याटिङ गर्न सक्छन् । तेस्रो विकेटका रुपमा रमानुल्लाह गुरवाज आए । गुरवाज र नाबीले बाँकी ५ बलमा १६ रन बटुल्न सफल भए ।

भारतको ब्याटिङ गर्ने पालो आयो । नियमित ओपनर रोहित शर्मा र यशस्वि जैसवाललाई पठाइयो । भारतले जितका लागि १७ रन बनाउनुपर्ने थियो । तर, पहिलो दुई बलमा २ रन मात्र आयो । त्यसपछि भने रोहितले लगातार दुई छक्का हान्न सफल भए । बाँकी दुई बलमा भारतलाई तीन रन चाहियो । पाँचौं बलमा रोहित एक रनका लागि दौडिए । अन्तिम बलमा भारतलाई दुई रन आवश्यक भयो ।

तर, अन्तिम बल फ्याकिनुअघि रोहित अनायास आफूलाई रिटायर्ड आउट घोषणा गर्दै क्रिजबाट बाहिरिए । उनलाई कुनै चोटपटक लागेको थिएन । तर, यो ओभरमा स्कोर बराबरी हुन सक्ने अनुमान गरेर तिगडम अपनाएका थिए उनले ।

अन्तिम बलमा जैसबालले एक रन मात्र लिन सके । साँच्चिकै स्कोर बराबरी भयो । अनि भारतले गर्यो झेल ।

नियमानुसार पहिलो सुपर ओभरमा आउट भएको ब्याट्सम्यान दोस्रो सुपर ओभरमा फेरि ब्याटिङमा उत्रिन पाउँदैन । तर, भारतीय प्रशिक्षक राहुल द्रविण, ब्याट्सम्यान बिराट कोहली लगायतले रोहितलाई नै पठाउन पाउनुपर्ने भन्दै अम्पायरलाई दबाब दिए । रोहित आउट नभएर रिटायर्ड भएकाले फर्किन पाउनुपर्ने उनीहरुको तर्क थियो ।

भारतीय पक्षबाट यसरी प्रेसर दिइएपछि अफगानिस्तानी टीमले खासै प्रतिवाद गर्न सकेनन् । अफगानी खेलाडीहरु प्राय आईपीएल खेल्न पाउने आशामा भारतसँग विरलै पंगा लिन खोज्छन् । त्यसमाथि भारतमै खेलाइएको खेल थियो ।

रोहित उच्च लयमा रहेको र विग हिटर भएकाले भारतले दोस्रो सुपर ओभरमा पनि उनलाई नै उतार्न चाहेको हो । पहिलो सुपर ओभरमा उनी आउट नभएर रिटायर्ड भएको भन्ने भारतीय पक्षको तर्क सरासर गलत थियो ।

किनकी रोहित रिटायर्ड हर्ट नभएर रिटायर्ड आउट भएका हुन् । रिटायर्ड आउट (आफूखुशी आउट हुने) लाई आउट नै मानिन्छ र ब्याट्सम्यान फेरि क्रिजमा फर्किन पाउँदैन । तर, यो एकदमै मामूली नियमलाई बेवास्ता गर्दै अम्पायरहरुले भारतीय पक्षको दबाबमा परेर रोहितलाई ब्याटिङ गर्न अनुमति दिए ।

दोस्रो सुपर ओभरमा भारतले ब्याटिङ गर्यो । रोहितले पहिलो तीन बलमा एक छक्का र एक चौकासहित ११ रन जोड्न सफल भए । भारतले थप रन जाेड्न सकेन र  अफगानिस्तानलाई १२ रनकाे कमजाेर लक्ष्य दियो । तर, अफगानिस्तानले पहिलो दुई बलमै दुई विकेट गुमाएर नतिजा भारतलाई सुम्पियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर