राष्ट्रियसभा निर्वाचनः सात मतदान स्थल र १४ मतदान केन्द्रमा २०४७ मतदाता (सूचीसहित) – Nepal Press

राष्ट्रियसभा निर्वाचनः सात मतदान स्थल र १४ मतदान केन्द्रमा २०४७ मतदाता (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदान स्थल, मतदान केन्द्र र मतदाता तोकेको छ । आयोगका अनुसार प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई दुई मतदान केन्द्र रहने गरी सात मतदान स्थल र १४ वटा मतदान केन्द्रमा प्रदेश सभाका ५४९ र स्थानीय तहका १४९८ गरेर जम्मा मतदाता २०४७ रहेका छन् ।

तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला वेग्लै मतदान केन्द्र तोकिएको निर्वाचन आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

कोशी प्रदेशका लागि विराटनगर महानगरपालिका वडा नम्बर १० मा रहेको प्रदेश निर्वाचन कार्यालय, मोरङ तोकिएको छ । जसको दुई वटा मतदान केन्द्रमा प्रदेश सभामा ९३ र स्थानीय तहका २७४ गरेर ३६७ मतदाता रहेका छन् । मधेश प्रदेशका लागि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर चारमा रहेको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा दुई वटा मतदान केन्द्र तोकिएको छ । जसमा १०७ प्रदेश सभा सदस्य र २६७ स्थानीय तहका गरेर जम्मा ३७४ मतदाता रहेका छन् ।

बागमती प्रदेशका लागि मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर चार भुटनदेवी माध्यामिक विद्यालय प्राविधिक शिक्षालय, ब्लक एफ प्राविधिक भवनमा दुई वटा मतदान केन्द्र तोकिएको छ । जसमा ११० प्रदेश सभाका सदस्य र २३७ स्थानीय तहका गरेर जम्मा ३४७ मतदाता रहेका छन् । गण्डकी प्रदेशका लागि कास्कीको पोखरा महानगरपालिका वडा नम्बर सातमा रहेको प्रदेश निर्वाचन कार्यालयमा दुई वटा मतदान केन्द्र तोकिएका छन् । जसमा ६० प्रदेश सभाका सदस्य र १७० स्थानीय तहका गरेर जम्मा २३० मतदाता रहेका छन् ।

लुम्विनी प्रदेशका लागि दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको कर्मचारी मिलन केन्द्रको भवनमा दुई वटा मतदान केन्द्र तोकिएका छन् । जसमा ६० प्रदेश सभा सदस्य र १७० स्थानीय तहका गरेर जम्मा २३० मतदाता रहेका छन् । कर्णाली प्रदेशका लागि सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडा नम्बर सातको प्रदेश निर्वाचन कार्यालयमा दुई वटा मतदान केन्द्र तोकिएका छन् ।

सुदूरपश्चिम प्रदेशका लागि कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर एकमा रहेको प्रदेश सभा भवनमा दुई वटा मतदान केन्द्र तोकिएका छन् । जसमा ५२ प्रदेश सभा सदस्य र १७६ स्थानीय तहका गरेर जम्मा २२८ मतदाता रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर