सिटौलालाई चटारो: राष्ट्रियसभा अध्यक्ष बन्न गठबन्धनको दलबलसहित जिल्ला दौडाहामा – Nepal Press

सिटौलालाई चटारो: राष्ट्रियसभा अध्यक्ष बन्न गठबन्धनको दलबलसहित जिल्ला दौडाहामा

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनको मिति नजिकिएसँगै राष्ट्रियसभाको अध्यक्ष पड्काउने दाउसहित उम्मेदवारी दिएका कृष्णप्रसाद सिटौला सक्रिय भएका छन् । गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार सिटौला आफ्नो पक्षमा सुविधाजनक मत रहे पनि जिल्ला दौडाहामा छन् ।

कोशी प्रदेशबाट उम्मेदवारी दिएका सिटौला अहिले जिल्ला केन्द्रित छन् । उनी आजमात्रै भोजपुर पुगेका छन् । सिटौलासँगै गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार चम्पादेवी कार्की पनि सँगै हिँडेकी छन् ।

कांग्रेस झापा जिल्ला सभापति देउमान थेबेका अनुसार अहिलेसम्म ११ जिल्लाको भेटघाट कार्यक्रम सकिएको छ । उनले मोरङबाट पालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरुसँग भेटघाट शुरु गरेको बताए ।

उनले भने, ‘अहिलेसम्म झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा भेटघाट सकिएको छ । आज खोटाङ जाने कार्यक्रम छ ।’

ओखलढुङ्गा र सोलुखुम्बुको भेटघाट सकेर ६ गतेसम्ममा विराटनगर फर्किने सिटौलाको कार्यतालिका रहेको थेबेले बताए । कोशीमा सिटौलासँग एमालेबाट पर्शुराम अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उद्धव पौडेल भिड्दैछन् ।

यसअघि दुई पटक प्रतिनिधिसभामा झापा २ बाट पराजित सिटौला अहिले कुनै नाटकीय परिवर्तन नभए जित्ने निश्चित छ ।

प्रतिनिधिसभामा दुवै पटक कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिटौलालाई एमालेको सहयोगमा राजेन्द्र लिङदेनले हराएका थिए । अहिले भने एमाले र राप्रपा मिले पनि सिटौलालाई हराउन सक्ने मत छैन ।

तर, गठबन्धन र कांग्रेसभित्रको असन्तुष्टिभित्र खेलेर एमाले र राप्रपाबीच सहकार्य हुनसक्ने चर्चा छ । राप्रपा अध्यक्ष लिङदेनले एमालेसँग छलफल नभए पनि ट्राइ गर्ने प्रस्ताव आए तयार रहेको बताएका थिए ।

पृथ्वी जयन्तीको अवसरमा आयोजित पार्टीको चियापान कार्यक्रममा उनले भनेका थिए, ‘कोशीमा एमालेसँग हिजो हामीले पनि सहकार्य गरेकै हो, आखिर हामी पनि एक्लै जित्दैनौं, विपक्षी गठबन्धनको एक सीट घटाउन सकिन्छ ट्राइ गरौं भन्नुभयो भने हाम्रो खुशीको कुरा हो ।’

राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख मतदाता हुन्छन् । कोशीमा राष्ट्रियसभाका लागि मत हाल्नयोग्य ३६७ जना मतदाता छन् । उनीहरुमध्ये ९३ जना प्रदेशसभा सदस्य र बाँकी स्थानीय तहका प्रमुख-उपप्रमुख छन् । यहाँ कुल मतभार १० हजार १३५ रहेको छ ।

जसमा कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार देखिन्छ । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एस र जसपाको कुल मतभार ५ हजार ४३६ हुन्छ । एमालेको कुल मतभार ४ हजार २४८ छ । बाँकी रहेका एमाले-राप्रपा र स्वतन्त्र सबै मिल्दा पनि ४ हजार ६९९ मात्र हुन्छ, जुन गठबन्धनको भन्दा कम हो ।

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदैछ । त्यो निर्वाचनमा जीत निकाल्दै सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने आन्तरिक गृहकार्य छ । तर, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि राष्ट्रियसभा अध्यक्षमा दाबी गर्दै आएका छन् ।

शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका सिटौलासँग संविधान मस्यौदा समितिको संयोजकको भूमिका निर्वाह गरिसकेको अनुभव छ । त्यसैले दुई पटक चुनाव हारेका र संविधान मस्यौदा समितिको संयोजक रहिसकेका सिटौला राष्ट्रियसभामा सभापति शेरबहादुर देउवाको जोडवलमा प्रवेश गरेपछि चर्को आलोचना भइरहेको छ।

उनलाई राष्ट्रियसभाको अध्यक्ष बनाउन देउवामात्रै होइन इतर पक्षका नेता डा. शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा पनि खुलेरै लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर