पर्यटकको संख्या बढाउन सके मुलुकमा छिट्टै आर्थिक समृद्धि आउँछ : राष्ट्रपति पौडेल (भिडिओ) – Nepal Press

पर्यटकको संख्या बढाउन सके मुलुकमा छिट्टै आर्थिक समृद्धि आउँछ : राष्ट्रपति पौडेल (भिडिओ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पयर्टकको संख्या बढाउन सके छिट्टै मुलुकमा आर्थिक समृद्धि हुने बताएका छन् ।

होटल संघ नेपालले स्थापना दिवसका अवसरमा सुरु गरेको नेपाल सत्कार दिवस शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले मुलुकका नवनिर्मित क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याई मुलुकमा बढि भन्दा बढि पर्यटक भित्राउन सके समृद्धि छिटै हासिल गर्न कठिनाई नहुने बताएका हुन् ।

यस कार्यका लागि पाँच दशक भन्दा बढि समयदेखि होटल व्यवसायीहरुले खेलेको भूमिका उल्लेखनीय रहेको उनले बताए । उनले नेपालको विशिष्ठता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गरि पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्नुपर्ने धारणा राखे ।

पर्यटन क्षेत्रका हुने गरेको आय बढिरहेको अवस्थामा पर्यटकीय गन्तव्य खानेपानी शौचालय जस्ता पूर्वाधार बढाउँदा त्यसको प्रभाव व्यापक हुने उनले बताए । राष्ट्रपति पौडेलले अर्गानिक कृषि उत्पादनहरुलाई सिधै तारे होटलहरुमा आपूर्ति गरेर फार्म टु प्लेटको अवधारणा अघि बढाउन आग्रह गरे ।

त्यस्तै, होटल संघ नेपालका अध्यक्ष विनायक शाहले होटलहरुलाई राष्ट्रिय प्राथमिकता उद्योगको दर्जा प्रदान गर्न माग गरे । उनले भैरहवा र पोखरा अन्तराष्ट्रिय बिमानस्थलबाट निरन्तर उडान हुन सके पर्यटनहरुको आवागमनमा थप सहयोग पुग्ने र पर्यटक आवागमनको संख्या दोव्वर बनाउन सकिने बताए ।

दिवसका अवसरमा होटल संघ नेपालले नेपाल एयरबुक २०२४ र ई–लर्निङ प्लेटफर्ममार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन प्रशिक्षण पनि सार्वजनिक गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *