विदेश जाने श्रमिकको अभिमुखीकरण रोकिने जोखिम, प्रधानमन्त्रीको निर्देशनले व्यवसायी र विभाग अन्याेलमा – Nepal Press

विदेश जाने श्रमिकको अभिमुखीकरण रोकिने जोखिम, प्रधानमन्त्रीको निर्देशनले व्यवसायी र विभाग अन्याेलमा

सरकारको निर्देशनपछि अभिमुखीकरण पूर्वाधारमा व्यवसायीले गरेको डेढ अर्ब लगानी र धरौटीबापतको ७० करोड रूपैयाँ जोखिममा

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई दिइने अभिमुखीकरण तालिम अवधि बढाउने तयारी रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि अभिमुखीकरणको अवधि बढाउने निर्णय तत्काल कार्यान्वयन रोकिएको हो ।

वैदेशिक रोजगार विभागले उक्त अभिमुखीकरण ३ दिन लम्ब्याउने तयारी गरेको थियो । प्रधानमन्त्री प्रचण्डले भने एक दिनको साविककै व्यवस्थामा अभिमुखीकरण गर्न निर्देशन दिएका छन् । वैदेशिक रोजगार क्षेत्रका कतिपय चलखेलयुक्त निर्णय रोक्न प्रधानमन्त्रीले निर्देशन दिने क्रममा अभिमुखीकरण पनि घानमा परेको हो ।

अभिमुखीकरणको समय नबढ्ने भएपछि आफूहरूको लगानी डुब्न लागेको व्यवसायीहरूले बताएका छन् । व्यवसायीहरूले थप २ दिनको अभिमुखीकरणको लागि पूर्वाधारमा १० लाख लगानी र ५ लाख वैदेशिक रोजगार बोर्डमा धरौटी राखेका छन् ।

वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले ३ दिन गर्न लागेको अभिमुखीकरण तालिम प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि १ दिनमै झारिएपछि आफूहरू समस्यामा परेको बताए ।

उनका अनुसार अभिमुखीकरण तालिम तीन दिनको बनाउन लागेपछि व्यवसायीहरूले सोहीअनुसार लगानी बढाएका थिए । विभागको निर्देशनबमोजिम आफूहरूले थप लगानी गरेको र २० वर्षदेखि एउटै शुल्कमा तालिम दिइरहेकोमा पछिल्लो निर्देशनले अब अभिमुखीकरण नै रोकिने अवस्था आउने उनले बताए ।

‘बोर्डले ३ दिन अभिमुखीकरण तालिम दिने भनेपछि हामीले पूर्वाधारमा १० लाख र ५ लाख धरौटी राखेका छौं’, अध्यक्ष गौतमले भने, ‘हामीले ३ दिन चल्ने अभिमुखीकरण तालिमअनुसार काम गरेका थियौं । तर, सबै काम पूरा भएपछि प्रधानमन्त्रीको निर्देशन आयो र ३ दिनको अभिमुखीकरण तालिममा १ दिनमात्रै हुने भयो ।’

उनका अनुसार १४३ जना व्यवसायीले १० लाखको दरले पूर्वाधार तयार गरेका थिए । ती सबैले बोर्डमा ५-५ लाख रूपैयाँ धरौटी पनि राखिसकेका छन् । प्रधानमन्त्रीको निर्देशनपछि व्यवसायीको १ अर्ब ४३ करोड लगानी र करिब ७५ करोड रूपैयाँ धरौटी नै जोखिममा परेको छ ।

व्यवसायीले एक दिन अभिमुखीकरण तालिम प्रदान गर्दा ७०० रूपैयाँ शुल्क लिँदै आएका थिए । यो शुल्क २० वर्षदेखि वृद्धिसमेत नभएको र त्यसबेलाको भन्दा अहिले तीन गुणा मूल्यवृद्धि भइसक्दा पनि अभिमुखीकरणको शुल्क भने नबढेको पूर्वअध्यक्ष तथा वैदेशिक रोजगार बोर्डका सदस्य पूर्णबहादुर मल्ल बताउँछन् ।

एक दिनको साटो अभिमुखीकरण ३ दिन गर्दा २ हजार एक सय दर्ता शुल्क र भाषागत विषय ७०० शुल्क गरी २ हजार ८०० रुपैयाँ लिने गरी नयाँ कार्यविधि तय भएको थियो । यो कार्यविधि संशोधन गर्दा व्यवसायी र कामदार सबैको हित हुने अपेक्षा थियो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले अभिमुखीकरण तालिम दिने व्यवसायीहरूलाई भौतिक पूर्वाधार निर्माणलगायत तोकेको काम गर्न सुरुमा २१ दिनको समय दिइएको बताए । केही व्यवसायीहरूले समय अपुग भएको भनेपछि विभागले १५ दिन थप गरेको थियो ।

सो समयमा विभागले कक्षा कोठा पुनर्संरचना, सीसीटीभीबाट निगरानी, स्मार्ट बोर्ड र विद्यार्थीको आईडी कार्ड रिड गर्ने व्यवस्था गर्न व्यवसायीहरूलाई निर्देशन दिएको थियो । सोहीबमोजिम व्यवसायीले पूर्वाधारमा लगानी गरेका थिए ।

‘व्यवसायीहरूले विभागले भनेअनुसार सबै मापदण्ड पूरा गरेका छन् । कानूनै बनेर काम अगाडि बढेको हो’, महानिर्देशक घिमिरेले भने, ‘विभागले भनेअनुसार सबै काम गरिसकेपछि रोक्न मिल्दैन भन्ने व्यवसायीहरूको माग छ । प्रधानमन्त्रीबाट निर्देशन भइसकेकाले रोक्ने कि के गर्ने भन्नेबारे छलफल भइरहेको छ ।’

अभिमुखीकरण तालिममा कामदार जान लागेको देशको सामाजिक, आर्थिक र कानूनी पक्षबारे जानकारी दिइन्छ । यसका साथै अत्यावश्यक भाषिक जानकारी समेत दिने उद्देश्यले तीन दिनको अभिमुखीकरण गर्न नयाँ कार्यविधी बनाइएको हो । विभाग र श्रम मन्त्रालयले अभिमुखीकरण तालिमको निगरानी गर्छन् ।

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगार अभिमुखीकरण तालिमको पाठ्यक्रम परिवर्तन गरेर नयाँ व्यवस्था लागू गर्ने व्यवस्था गरेको थियो ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखीकरण तालिम कम भएको भन्दै आलोचना भएपछि २ दिन बढाएर ३ दिन बनाइएको थियो । सोहीअनुसार नयाँ पाठ्यक्रममा अभिमुखीकरण तालिम देशअनुसार फरक-फरक लिनुपर्ने व्यवस्था गरिएको छ ।

विदेशमा काम गर्न जाने नेपालीले राम्रोसँग अभिमुखीकरण तालिम नपाउँदा समस्या पर्ने गरेको व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार राम्रो अभिमुखीकरण नहुँदा रोजगारीमा गएकाहरूले विदेशमा ज्यानसमेत गुमाउनुपर्ने जोखिम हुने गरेको छ ।

नेपालबाट संस्थागत रूपमा ११० वटा देशमा वैदेशिक रोजगारीमा जाने गरेका छन् । संस्थागत रूपमा वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ ।


प्रतिक्रिया

One thought on “विदेश जाने श्रमिकको अभिमुखीकरण रोकिने जोखिम, प्रधानमन्त्रीको निर्देशनले व्यवसायी र विभाग अन्याेलमा

  1. नाम मात्रको अभिमुखिकरणको नियम राख्नु भन्दा पुर्बाधार र द्क्ष प्रशिक्षक सहितको तालिम दिलाउने मन्त्रालयको निर्णय लागु गर्दा राम्रै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर