शाक्यवंशको नरसंहार भएको सगरहवाको गाथा यसरी कुँद्दैछन् मूर्तिकार (तस्बिरहरू) – Nepal Press

शाक्यवंशको नरसंहार भएको सगरहवाको गाथा यसरी कुँद्दैछन् मूर्तिकार (तस्बिरहरू)

रुपन्देही । बुटवलका मूर्तिकार यमबहादुर थापा सुकेको वृक्षमुनि ध्यानमग्न बुद्धको मूर्ति बनाउन व्यस्त छन् । निर्जीव ढुंगा त्यति बेला बोल्दछ, जति बेला ढुंगाले सगरहवाको तस्बिर उतार्नेछ ।

मूर्तिकार थापाले सगरहवाको दुखद घटना रोक्न भगवान् बुद्धले गरेको आग्रह र अनुरोधलाई मूर्तिमा देखाउन लागिपरेका छन् । उनले सुखेको वृक्षमुनि ध्यानमग्न बुद्ध बनाउन सबैभन्दा ठूलो ढुंगा कुँदिरहेका छन् ।

सगरहवास्थित कनकमुनी विद्यालयको आडैमा कलाकारहरू निर्जीव ढुंगामा सगरहवाको ऐतिहासिकता झल्काउन लागिपरेका हुन् । निर्जीव ढुंगा त्यति बेला बोल्दछ, जति बेला ढुंगाले सगरहवाको तस्बिर उतार्दछ ।

‘अहिले हामी म्याकेट अनुसारको ढुंगालाई आकार दिन लागिपरेका छौं’ मूर्तिकार यम थापाले भने । उनले सुखेको वृक्षमुनि ध्यानमग्न बुद्ध बनाउन कार्यशालाको सबैभन्दा ठूलो ढुंगा कुँदिरहेका छन् ।

थापा मात्रै होइन, रुपन्देहीका गोविन्द चौधरी गत वर्षदेखि नै सगरहवाको ऐतिहासिक र पुरातात्त्विक पुस्तक अध्ययन गरेर विडुडभको आकार बनाउने प्रयत्नमा छन् ।

सगरहवाको सबैभन्दा महत्त्वपूर्ण पात्र जसले आफूमाथि भएको अपमानको बदला स्वरूप हजारौँ शाक्यहरूको वध गरेका थिए । तिनै पात्रलाई जीवन्त बनाउने कोशिसमा चौधरी विगत एक सातादेखि प्रयत्नरत छन् ।

मूर्तिकारहरू सगरहवाको साझा मौलिकता भल्काउने खालका मूर्तिहरू निर्माणमा जुटिरहेका छन् ।

प्रसेनजित र बासभखत्तिया बीचको विवाह झल्काउने मूर्ति, विडुडभले खाना खाएको आसन दूधले धोएको दृश्य, शून्यता बोध गराउन मूर्ति, सयौँ मान्छेलाई खोलाले बगाएको, पोखरीमा विष हालेर माछा मरेको जस्ता मूर्तिहरू बनिरहेका छन् । मूर्तिले आकार लिँदै गएपछि आफूहरू समेत उत्साही बनेको स्थानीय अगुवा प्रकाश सापकोटा बताउँछन् ।

प्राचीन शाक्य गणराज्य तिलौराकोट दरबारबाट ६ कि.मी. उत्तरमा छ सगरहवा । पूर्वपश्चिम राजमार्गको बनगाईबाट ७ किमी दक्षिण जगदीशपुर तालको कोखैमा यो स्थान छ ।

सगरहवा शाक्यहरूको सामूहिक वध गरिएको स्थलको रूपमा विभिन्न बौद्ध साहित्य तथा चिनियाँ यात्रीहरूको यात्रा वृत्तान्तमा उल्लेख छ । यस कारण यो स्थल ऐतिहासिक, धार्मिक र पुरातात्त्विक हिसाबले निकै महत्त्वपूर्ण थलो हो ।

त्यही ऐतिहासिक, प्राचीन र पर्यटकीय स्थल सगरहवामा अहिले निर्जीव ढुंगालाई मूर्तिकारहरूले जीवन्त बनाउन लागि परेका छन् । पुस २३ गतेदेखि शुरु भएको मूर्ति कार्यशालामा सहभागी १५ जना मूर्तिकार र १५ जना सहयोगीहरू सगरहवामा खटिएका छन् ।

ऐतिहासिक, धार्मिक र पुरातात्त्विक हिसाबले निकै महत्त्वपूर्ण थलो सगरहवा । शाक्यमुनी बुद्धको जीवनको उतारार्धतिर कोशल राज्यका राजा विडुडभले आफ्ना बाबु प्रसेनजितलाई झुक्काएर शाक्य पुत्री भनी दासीपुत्री विवाह गरिदिएको प्रतिशोध बस प्राचीन कपिलवस्तु राज्यका हजारौँ शाक्यहरूको सामूहिक वध गरेको स्थानका रूपमा सगरहवालाई चिनिन्छ ।

सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरूको सम्झनामा सयौँ स्तुपहरूको निर्माण गरेको चिनियाँ यात्री हुयन् साङ्को सन् ६३६ को यात्रा वृत्तान्तमा उल्लेख गरिएको पाइन्छ । सन् १८९७ मा डा. फुरर्हरद्वारा गरिएको उत्खनन तथा अन्वेषणमा शाक्य सेनाहरूको सम्झनामा १७ वटा निर्माण गरिएका ठूलो वर्गाकार स्तुपहरु र धेरै संख्यामा साना स्तुप भेटिएको थियो । स्तुपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबीजस्ता सामग्री प्राप्त भएका थिए ।

शाक्य गणराज्य कपिलवस्तुको पतनको मुख्य कारण कौशल नरेश बिडुडभको कपिलवस्तु आक्रमणलाई लिने गरिन्छ । बिडुडभको आक्रमणले कपिलवस्तु तहसनहस बन्यो । भग्नावशेषमा परिणत भयो । बिढुडभ कपिलवस्तु आक्रमण गर्न आउँदा भगवान् बुद्धले दुई पटक रोके तर, तेस्रो पटकमा बुद्धले रोक्न सकेनन् । बुद्ध ७५ वर्ष पुगेको बेला भएको बौद्ध साहित्यमा उल्लेख छ ।

यो घटना भएको ठाउँ कपिलवस्तुको सगरहवामा अहिले त्यही कठोर, ऐतिहासिक शान्ति र करुणाको गाथा देखाउन मूर्ति कार्याशाला गरिएको छ ।

लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिका र नेपाल ललितकला प्रतिष्ठान सहित विभिन्न स्थानीय संघसंस्थाको आयोजनामा कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशालामा देशभरका ख्याति प्राप्त १५ मूर्तिकारहरू १५ सहयोगीसहित निर्जीव ढुंगामा सहगरवाको कथा उतार्न व्यस्त छन् ।

बौद्धकालीन समयको एउटा ऐतिहासिक र पुरातात्त्विक स्थल सगरहवालाई अन्तर्राष्ट्रियकरण गर्नका लागि लुम्बिनी विकास कोष मुख्य आयोजक भएर कपिलवस्तु मूर्ति कार्यशाला गरिएको कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिरचरण) बताउँछन् ।

भट्टराईले सगरहवामा शाक्य गणराज्यको उत्थान र पतनसँग गाँसिएका विभिन्न कथाहरूलाई मूर्तिमा कलाकारहरूले उतार्ने बताए । कार्यशालाबाट तयार भएका मूर्तिहरूले सगरहवाको ऐतिहासिक र पुरातात्त्विक महत्त्व उजागरसँगै पर्यटक आउने वातावरण बनाउने उनले बताए । उनले लुम्बिनी विकास कोषले कपिलवस्तुका बौद्धकालीन स्थानहरूको विकास गर्न अब प्राथमिकता दिने नीति लिएको बताए ।

अहिले ढुंगामा सगरहवाको ऐतिहासिकता झल्कदैछ । सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरूको सम्झनामा सयौँ स्तुपहरूको निर्माण गरेको चिनियाँ यात्री हुयन् साङ्को सन् ६३६ को यात्रा वृत्तान्तमा उल्लेख गरिएको पाइन्छ ।

सन् १८९७ मा डा. फुरर्हरद्वारा गरिएको उत्खनन तथा अन्वेषणमा शाक्य सेनाहरूको सम्झनामा १७ वटा निर्माण गरिएका ठूलो वर्गाकार स्तुपहरु र धेरै संख्यामा साना स्तुप भेटिएको थियो । स्तुपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबीजस्ता सामग्री प्राप्त भएका थिए ।

यस्तो ऐतिहासिक र प्राचीन स्थलमा प्रस्तरमा कुँदिने प्रतिकले सगरहवाको जिउँदो ऐतिहासिकता प्रमाणित गर्नमा थप सहयोग पुग्नेछ ।

सगरहवाको नामकरणका सम्बन्धमा सागरजस्तै ठूलो ताल र हवा भन्नाले स्थान भन्ने बुझिन्छ । दुवै शब्दलाई जोड्दा सागर भएको ठाउँ अर्थात् सागरहवा र पछि भन्दा भन्दै अपभ्रंश हुँदै जाँदा सागरहवाबाट सगरहवा हुन गएको हो भन्ने भनाई विद्धानहरूको रहेको छ ।

आकारको हिसाबले पूर्व पश्चिममा लामो स्वरूपमा फैलिएकोले यसलाई स्थानीयहरूले लामो सागर अर्थात् लम्बुसागर पनि भन्दछन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले सगरहवा बुद्धकालीन समयमा शाक्यहरूको नरसंहार भएको स्थल भएकाले यसलाई अन्तर्राष्ट्रियकरण गर्न प्रत्येक वर्ष शान्ति पूजा गर्ने घोषणा गरेका छन् । उनले यो पटक मूर्ति कार्यशाला गरिएको बताउँदै आगामी वर्ष सगरहवामा भएको घटनाका बारेमा प्रचार गर्न कोषसहित स्थानीय सरकारसँग मिलेर विश्वशान्तिको कामनासहित महोत्सव गर्ने बताए ।

उपाध्यक्ष लामाले सगरहवा बुद्धको वंश शाक्यहरूमाथि भएको दुःखद घटनाका बारेमा बौद्धमार्गी र आम मानिसहरूमा जानकारी हुनुपर्ने बताउँदै यसका लागि प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्ने बताए ।

उनले महायाज्ञा र बज्रयानी बुद्धिस्टहरूले भारतको कलकत्तामा वार्षिक अर्बौँको माछा तालमा छाड्ने गरेको बताउँदै अब सगरहवा र जगदीशपुर ताललाई विकल्पका रूपमा तयार गर्न सकिने बताए । उनका अनुसार बौद्धिष्टहरुले लामो आयुका लागि माछा पोखरीमा छाड्ने गर्छन् । उपाध्यक्ष लामाले सगरहवा स्थानीयहरूकै कारण संरक्षण हुने बताउँदै मूर्तिकार्यशालाबाट कुँदिएका मूर्तिहरूको संरक्षणमा लाग्नुपर्ने बताए ।

कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले मूर्तिकार्यशालाले पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न निकै महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले कपिलवस्तु नगरपालिका ऐतिहासिक स्थल सगरहवासहित यहाँका बौद्धकालीन क्षेत्रहरूको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए ।

माघ ८ गतेसम्म सञ्चालन हुने कार्यशालाको मुख्य आयोजक लुम्बिनी विकास कोष, आयोजकको रूपमा कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँ, नेपाल पर्यटन डिभिजन कार्यालय लुम्बिनी प्रदेश रुपन्देही रहेका छन् ।

प्राचीन कपिलवस्तु सरोकार मञ्च कपिलवस्तु, जगदीशपुर जलासय व्यवस्थापन बहुसरोकार मञ्च कपिलवस्तुले सह आयोजकको रूपमा काम गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर