बेलायत निवासी दाहालले सुरु गरे ‘एक पटकमा एक योगदान’ अभियान – Nepal Press

बेलायत निवासी दाहालले सुरु गरे ‘एक पटकमा एक योगदान’ अभियान

चितवन । संसारभरका नेपालीलाई लक्षित गर्दै चितवनबाट ‘एक पटकमा एक योगदान’ अभियान सुरु भएको छ । बेलायत निवासी नेपाली युवा व्यवसायी तथा समाजसेवी रघु दाहालले आफ्नो गृहनगर चितवनको भरतपुरस्थित पार्वतीपुरबाट उक्त अभियान थालेका हुन् ।

स्थानीय विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेर दाहालले ‘एक पटकमा एक योगदान’ अभियान सुरुवात गरिएको घोषणा गरे । विदेशमा रहेका हरेक नेपाली स्वदेश फर्किएका बेला हरेक पटक कम्तीमा एउटा सहयोग गर्नुपर्ने अवधारणाका साथ यो अभियान सुरु गरिएको उनले बताए ।

कञ्चन समाज विकास परिषद्द्वारा आयोजित कार्यक्रममा युवा उद्यमी दाहालले हरेक प्रवासी नेपालीलाई स्वदेश फर्किदा हरेक पटक केही न केही सहयोग गर्ने अठोट गर्न आह्वान गरे । उनले हरेक महिना कम्तीमा एक लाख नेपाली स्वदेश फर्किने गरेको तथ्याङ्क प्रस्तुत गर्दै हरेकले सानै भए पनि सहयोग गर्दा अरु लाखौँ नेपाली लाभान्वित हुने तर्क गरे ।

विदेशमा भए पनि आफ्नो गाउँठाउँका बारेमा सोच्ने बानीले देशप्रतिको माया ताजा रहिरहने र देशको विकासमा पनि योगदान पुग्ने दाहालले बताए । बेलायतमा होटल, रेष्टुराँ, घरजग्गा व्यवसायलगायतका विभिन्न पेसा व्यवसायमा संलग्न दाहालले नेपालमा पनि शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गरेका छन् । उनले यसअघि पनि हरेक पटक स्वदेश फर्कंदा विभिन्न सहयोगका कार्यक्रम गर्दै आएका थिए ।

 


प्रतिक्रिया

One thought on “बेलायत निवासी दाहालले सुरु गरे ‘एक पटकमा एक योगदान’ अभियान

  1. अति राम्रो काम तर अब यस्तो काम गर्ने कुनै रहर र जाँगर छैन। अब यस्तो काम त्यही रामकुमारी झाँक्रीलाई भने हुन्छ। हामी त बिदेशी हो बिदेशी। बिदेशीलाई देशको चिन्ता लिन आवश्यक छैन अब, जे गर्नु पर्ने हो झाँक्रीले नै गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर