ओरालोतर्फ शेयर धितो कर्जा, कुन बैंकको कति ? – Nepal Press

ओरालोतर्फ शेयर धितो कर्जा, कुन बैंकको कति ?

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह बढेको छ । तर, शेयर धितो कर्जा (मार्जिन प्रकृतिको) प्रवाह भने उल्लेख्य रुपमा बढ्न सकेको छैन ।

चालू आर्थिक वर्ष साउनदेखि मंसिरसम्मको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट ८१ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह भएको छ । कार्तिकसम्म यस्तो कर्जा प्रवाह ८१ अर्ब १६ करोड रुपैयाँ थियो । एक महिनामा बैंक तथा वित्तीय संस्थाहरुको शेयर धितो कर्जा लगानीमा ०.०४ प्रतिशतमात्रै बढेको छ ।

गएको असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुको शेयर धितो कर्जा प्रवाह ४.२९ प्रतिशतले बढेको थियो । कार्तिकमा ह्वात्तै घटेर ०.१८ प्रतिशतमा पुगेको थियो । जुन मंसिरमा झन् ०.०४ प्रतिशतमा झरेको छ ।

बैंक तथा वित्तीय संंस्थाहरु पछिल्लो ‘लोन रिकभरी’ मा केन्द्रित भएकाले शेयर धितो कर्जा प्रवाह बढ्न नसकेको नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली बताउँछन् ।

‘बजारको अवस्थाअनुसार कर्जा प्रवाह हुने हुन्छ । बैंक तथा वित्तीय संंस्थाहरु पछिल्लो समय ‘लोन रिकभरी’ मा रहेकाले शेयर धितो कर्जा प्रवाहमा कमी आएको हुनसक्छ’, उनले भने, ‘शेयर धितो (मार्जिन प्रकृतिको) कर्जा प्रवाहमात्रै नभएर अहिले अन्य क्षेत्रमा पनि अवस्था एउटै जस्तो छ ।’

बैंक तथा वित्तीय संस्थाहरुले मंसिरसम्म ६३ अर्ब ६७ करोड ८० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरुले यस्तो कर्जा प्रवाह एक महिनामा ०.१२ प्रतिशतमात्रै बढाएका छन् । त्यस्तै विकास बैंकहरुले मंसिरसम्म १४ अर्ब ७ करोड ८० लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेका छन् । विकास बैंकहरुले एक महिनामा ०.०९ प्रतिशतले यस्तो कर्जा लगानी घटाएका छन् । कार्तिकसम्म विकास बैंकहरुबाट १४ अर्ब ९ करोड १० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको थियो ।

फाइनान्स कम्पनीहरुले पाँच महिनामा ३ अर्ब ४३ करोड ९० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । कार्तिकको तुुलनामा फाइनान्स कम्पनीहरुले यस्तो कर्जा प्रवाह १.०३ प्रतिशतले घटाएका छन् । कार्तिकसम्म फाइनान्स कम्पनीहरुबाट ३ अर्ब ४६ करोड ९० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको थियो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ५० लाखमाथिको शेयर धितो कर्जाको जोखिमभार १५० बाट घटाएर १२५ प्रतिशत बनाएको छ । यसले शेयर धितो कर्जा प्रवाह बढाउने अपेक्षा गरिएको थियो । तर, अपेक्षाअनुसार शेयर कर्जा प्रवाह सन्तोषजनक रुपमा बढेको देखिँदैन । उल्टै घट्दो क्रममा छ ।

राष्ट्र बैंकले गत असोजमा १२ करोडको शेयर धितो कर्जा क्याप सीमालाई परिमार्जन गरेर व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडसम्म कर्जा लिन पाउने व्यवस्था गरेको थियो । शेयर धितो कर्जा क्यापलाई बढाउँदा कर्जा प्रवाह पनि बढ्ने आकलन गरिएको थियो । तर, शेयर धितो कर्जा प्रवाह वृद्धिदर घट्दो छ ।

कुन बैंकको शेयर धितो कर्जा प्रवाह कति ?

पाँच महिनामा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नबिल बैंकमार्फत ११ अर्ब ८ करोड ६० लाख रुपैयाँ शेयर धितो कर्जा लगानी भएको छ । एक महिनामा नबिल बैंकले १४ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह बढाएकोे छ ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले पाँच महिनामा ६ अर्ब ३६ करोड ३० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकले कार्तिकसम्म ६ अर्ब २९ करोड ९० लाख रुपैयाँ यस्तो कर्जा प्रवाह गरेको थियो ।

प्राइम बैंक

प्राइम कमर्सियल बैंक लिमिटेडले पाँच महिनामा ४ अर्ब २५ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । जबकि बैंकले गत कार्तिकसम्म १ अर्ब ४२ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह गरेको थियो । बैंकले एक महिनामै २ अर्ब ८३ करोड रुपैयाँ मार्जिन प्रकृतिको कर्जा बढाएको छ ।

नेपाल बैंक

नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको पाँच महिनामा ४ अर्ब ४५ करोड ८० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकले चार महिनासम्ममा ४ अर्ब ४५ करोड ३० लाख रुपैयाँ यस्तो कर्जा प्रवाह गरेको थियो । नेपाल बैंकले एक महिनामा ५० लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा प्रवाह बढाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले मंसिरसम्म शेयर धितो कर्जामा ४ अर्ब २६ करोड रुपैयाँ प्रवाह गरेको छ । जबकि कार्तिकसम्म बैंकले ४ अर्ब २६ करोड ३० लाख रुपैयाँ यस्तो कर्जा प्रवाह गरेको थियो । एक महिनामा बैंकले ३० लाख रुपैयाँ कर्जा प्रवाह घटाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेघा बैंक

नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले कार्तिकको तुलनामा शेयर धितो कर्जा प्रवाह घटाएको छ । बैंकले मंसिरसम्म २ अर्ब २८ करोड ६० लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेको छ । गत कार्तिकसम्म बैंकले २ अर्ब ४० करोड ८० लाख रुपैयाँ यस्तो कर्जा प्रवाह गरेको थियो । एक महिनामा बैंकको १२ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह घटेको छ ।

हिमालयन बैंंक

हिमालयन बैंक लिमिटेडले पनि शेयर धितो कर्जा प्रवाह घटाएको छ । बैंकले साउनदेखि मंसिरसम्म २ अर्ब ४७ करोड २० लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेको छ । कार्तिकसम्म बैंकको यस्तो कर्जा लगानी २ अर्ब ५२ करोड ३० लाख रपैयाँ रहेको थियो । एक महिनामा बैंकले ५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह घटाएको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले मंसिरसम्म शेयर धितो कर्जामा २ करोड ३० लाख रुपैयाँ प्रवाह गरेको छ । बैंकले कार्तिक महिनासम्म २ करोड ३० लाख नै लगानी गरेको थियो ।

एभरेष्ट बैंक

एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पाँच महिनासम्म १ अर्ब ३६ करोड ६० लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेको छ । चार महिनासम्म बैंकले १ अर्ब ३६ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह गरेको थियो । एक महिनामा बैंकले ६० लाख शेयर धितो कर्जा प्रवाह गरेको छ ।

एनआईसी एसिया

एनआईसी एसिया बैंकले चालू आर्थिक वर्षको मंसिरसम्म ४ अर्ब ६० करोड ५० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकले गत कार्तिकसम्म ४ अर्ब ६४ करोड ४० लाख रुपैयाँ यस्तो कर्जा प्रवाह गरेको थियो । जुन एक महिनामा ३ करोड ९० लाख रुपैयाँले कम हो ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले मंसिरसम्म ४६ करोड ८० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकले कार्तिकसम्म ४९ करोड ८० लाख रुपैयाँ यस्तो कर्जा प्रवाह गरेको थियो । बैंकको मार्जिन प्रकृतिको कर्जा प्रवाह एक महिनामा ३ करोड रुपैयाँले घटेको छ ।

कुमारी बैंक

कुमारी बैंकले पाँच महिनामा ३ अर्ब ६६ करोड ८० लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेको छ । बैंकले कार्तिकसम्म ३ अर्ब ७७ करोड ५० लाख रुपैयाँ यस्तो कर्जा प्रवाह गरेको थियो । जुन एक महिनामा १० करोड ७० लाखले घटेको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले चालू आर्थिक वर्षको पाँच महिनासम्म ३ अर्ब २५ करोड ४० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकको चार महिनासम्मको यस्तो कर्जा लगानी ३ अर्ब २८ करोड ४० लाख रुपैयाँ थियो । एक महिनामा बैंकको शेयर धितो कर्जा प्रवाह ३ करोडले घटेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेडले पाँच महिनामा ४ अर्ब १२ करोड ७० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । चार महिनासम्म बैंकको यस्तो कर्जा लगानी ३ अर्ब ९६ करोड ५० लाख रुपैयाँ थियो । जुन एक महिनामा १६ करोड २० लाखले बढेको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले चालू आर्थिक वर्षको पाँच महिनासम्म १ अर्र्ब १७ करोड १० लाख रुपैयाँ मार्जिन प्रकृतिको शेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकले एक महिनामा ८० लाख रुपैयाँ यस्तो कर्जामा लगानी बढाएको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मंसिरसम्म ३ अर्ब ९२ करोड ४० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकले एक महिनामा १ करोड ४० लाख रुपैयाँ यस्तो कर्जामा लगानी बढाएको छ ।

प्रभु बैंक

प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको मंसिरसम्म ३ अर्ब ५९ करोड ८० लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको छ । बैंकले कार्तिकसम्म ३ अर्ब ६५ करोड ४० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको थियो । बैंकले एक महिनामा ५ करोड ६० लाख रुपैयाँले यस्तो कर्जा प्रवाह घटाएको छ ।

सानिमा बैंक

सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्षको पाँच महिनासम्म शेयर धितो कर्जामा १ अर्ब २५ करोड २० लाख रुपैयाँ लगानी गरेको छ । बैंकले कार्तिकसम्म १ अर्ब २२ करोड ३० लाख रुपैयाँ यस्तो कर्जामा लगानी गरेको थियो ।

एनएमबी बैंक

एनएमबी बैंकले चालू आर्थिक वर्षको मंसिरसम्म १ अर्ब ३ करोड ९० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । जबकि कार्तिकसम्म बैंकले १ अर्ब ६ करोड ४० लाख रुपैयाँ यस्तो कर्जा प्रवाह गरेको थियो । बैंकले एक महिनामा २ करोड ५० लाख रुपैयाँ लगानी घटाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर