आफूलाई बलिङमा तयार गर्दै रोहित – Nepal Press

आफूलाई बलिङमा तयार गर्दै रोहित

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल क्षमतावान् ब्याट्सम्यानका रूपमा परिचित छन् । तर, पछिल्लो समय उनले आफूलाई अलराउन्डरका रूपमा विकास गर्न खोजिरहेको देखिएको छ ।
राष्ट्रिय टोलीले खेलेका पछिल्ला खेलमा उनी पार्टटाइम बलरका रूपमा थिए ।

जारी प्रधानमन्त्री कप क्रिकेटमा रोहितले लगातार खेलमा बलिङ गरिरहेका छन् र विकेट पनि हात पारिरहेका छन् । उनले बागमती प्रदेशविरुद्ध आइतबार ४ विकेट लिएका थिए । ९ ओभर बलिङ गरेका रोहितले एक मेडन राख्दै केवल २६ रन दिएका थिए ।

सोमबार कोशी प्रदेशविरुद्धको खेलमा पनि रोहितले ३ विकेट लिएका छन् । उनले ७ ओभरमा एक मेडन राखेर २४ रन खर्चिए । एपीएफका कप्तानसमेत रहेका रोहितले यसबाट आफूलाई स्पीन बलरका रूपमा तयार गर्न मिहेनत गरिरहेको स्पष्ट हुन्छ ।

हाल नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल नियमित स्पीनर हुन् । उनीहरु दुवै अलराउन्डर पनि हुन् । ललितनारायण राजवंशी पनि स्पीन बलिङ स्पेसलिष्ट हुन् । अर्का स्पीन बलर सन्दीप लामिछाने टीमबाट बाहिर रहने भएपछि आगमी दिनमा टीममा उनको अभाव खट्कन सक्ने देखिन्छ । तर, रोहितले पनि आफूलाई नियमित स्पीनरका रूपमा तयार गरिरहेको पछिल्ला खेलबाट देखिन्छ ।

रोहितले राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४ खेलमा एक सय ९ बल बलिङ गर्दै ७० रन खर्चिएका छन् । विकेट भने लिएका छैनन् । उनले पहिलोपटक गत फेब्रुअरीमा नामिबियाविरुद्ध बलिङ गरेका थिए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि ४ खेलमा ४१ बल बलिङ गर्दै ५२ रन खर्चिएका छन् भने ३ विकेट हात पारेका छन् । उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक सन् २०२२ को अप्रिलमा मलेसियाविरुद्ध बलिङ गरेका थिए ।

रोहितले हालसम्म ५४ एकदिवसीय अन्तर्राष्ट्रिय र ३४ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर