मेलम्ची उद्घाटनमा बालेनको व्यंग्य- एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार ! – Nepal Press

मेलम्ची उद्घाटनमा बालेनको व्यंग्य- एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेलम्चीको पानी वितरणमा पटकपटक भएको उद्घाटनको विषयमा व्यंग्य गरेका छन् ।

बालेनले ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकीर्तिमान कायम गरेर’ भन्दै व्यंग्य गरेका हुन् ।

उनले अहिलेसम्म एउटै आयोजनाको पाँच पटक उद्घाटन गरेको भन्दै तिथिमिति समेत राखेका छन् । प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनविना राजनैतिक स्टन्टका लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडीमात्रै भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनः समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु हो । यसैले छिटोको नाममा नागरिकतहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ ।’

उनले आफूहरू आलोचना मात्र गर्न नगर्ने भन्दै बाह्रै महिना पानी ल्याउन दीर्घकालीन उपाय खोज्नुपर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘हरेक पल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौँ । यो मौका दिनु हुनेछ भन्ने आशा लिएका छौँ । सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस्, हाम्रो मन साच्चै नै जित्नु भयो भनेर ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर