कन्टेनरमा लुकाएर ल्याउँदै गरेका ३० लाखका कपडा बरामद – Nepal Press

कन्टेनरमा लुकाएर ल्याउँदै गरेका ३० लाखका कपडा बरामद

रुपन्देही । रुपन्देहीमा कन्टेनर ट्रकमा लुकाएर लैजान लागेको ३० लाखभन्दा बढीको जुत्ता र कपडा प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ सिटी अस्पताल चोकस्थित भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा जुत्ता र विभिन्न प्रकारका कपडा बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय रामचन्द्र खत्रीले ना ३ ख ५१८९ नम्बरको कन्टेनर (ट्रक) मा लोड गरी लैजान लागेको अवस्थामा थानको कपडा १४ हजार ६३६ मिटर, लेडिज जुत्ता ३४० जोडी, नेट कपडा ५ हजार १०४ मिटर, दोसल्ला ४४२ पिस र साडी ६१२ पिस गरी ट्रकसहित कुल ३० लाख ६२ हजार २ सय ४० मूल्य बराबरको अवैध बस्तु बरामद गरेको जानकारी दिए। बरामद सामान, ट्रक र मानिस आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालयको युनिटले आइतबार बिहान ५ बजे ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा भारतबाट अवैध रूपमा भित्र्याएको प्याज नियन्त्रणमा लिएको छ।

भारतबाट नेपालर्फ भन्सार छली गरी लु ८ प ११३५ र युपी ५५ जेड९२८८ नम्बरको मोटरसाइकलमा ओसारपसार गर्दै गरेको र डम्पिङ गरी राखेको अवस्थामा १३६ बोरा प्याज नियन्त्रणमा लिइएको सूचना अधिकारी भट्टले जानकारी दिए।

प्याज र मोटरासाइकलको मूल्य ४ लाख ५२ हजार ५ सय रहेको कार्यालयले जानकारी दिएको छ। बरामद सामान र मोटरसाइकल आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *