भारतबाट गाडी चोरेर नेपाली नक्कली कागज बनाएर बेच्ने गिरोहका ७ जना पक्राउ, चार गाडी बरामद – Nepal Press

भारतबाट गाडी चोरेर नेपाली नक्कली कागज बनाएर बेच्ने गिरोहका ७ जना पक्राउ, चार गाडी बरामद

जनकपुरधाम । भारतीय चोरीको गाडी नेपाल भित्र्याएर नक्कली कागजात तयार पारी बेच्ने गिरोह जनकपुरधाममा सक्रिय बनेको खुलेको छ ।

धनुषा प्रहरीले नक्कली कागजात तयार पारेर गाडी बेच्ने गिरोहका सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरुबाट चार गाडी (कार) पनि बरामद गरिएको छ ।

पक्राउ पर्नेहरुमा महोत्तरीको जलेश्वर नगरपालिका ३ का ५० वर्षीय मोख्तार अनसारी, लोहरपट्टी नगरपालिका ६ का ४० वर्षीय जमजम भन्ने अन्सारूल कवारी, सोही नगरपालिका ४ का ३७ वर्षीय अजिम राईन, मनरासिसवा ६ का ३२ वर्षीय रोशन कुमार ठाकुर, जनकपुरधाम २३ का ३४ वर्षीय अविद नदाफ, लोहरपट्टी नगरपालिका ६ का २८ वर्षीय मोबारक अली र धनुषाधाम नगरपालिका ३ का २८ वर्षीय पंकज शर्मा छन् ।

उनीहरुबाट प्रहरीले प्रदेश–२–०३–००१ च. ११४० (सेतो क्रिएटा), प्रदेश–२–०३–००१ च ०११० (सेतो भिट्रा ब्रेजा), प्रदेश–२–०३–००१ च ५४८७ (सिलभर भिट्रा ब्रेजा) र प्रदेश–२–०३–००१ च ३७३९ (सेतो स्कार्पियो) गाडी बरामद गरेको छ ।

मोख्तार अनसारी भारतीय व्यक्तिहरुसंग सम्पर्क गरी गाडीको डिल गर्ने र नेपाली नम्वर प्लेट र ब्लुबुकको व्यवस्था मिलाउने गरेका थिए । उनले हालसम्म ८ वटा गाडी नेपालमा भित्र्याएको वयान दिएका छन् ।

अन्सारूल कवारीले मोख्तार अन्सारी संग सम्पर्क गरी भारतीय नम्वर प्लेटको गाडी खरिद गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले प्रदेश–२–०३–००१ च ५४८७ नम्वरको गाडी अजिम राईनलाई वेचेका थिए ।
यस्तै प्रदेश २–०३–००१ च ०११० नम्वरको गाडी नौसाद शेखलाई र प्रदेश–२–०३–००१ च. ११४० नम्वरको गाडी रोशन कुमार ठाकुरलाई वेचेको स्वीकारेका छन् ।

अजिम राईन वैदेशिक रोजगारबाट आएका व्यक्ति हुन् । उनले अंसारूल कवारीसंग प्रदेश–२–०३–००१ च ५४८७ नम्वरको गाडी १२ लाखमा खरिद गरेको प्रहरी समक्ष वयानमा भनेका छन् ।

आरके ट्राभल्सका संचालक रहेका रोशन कुमार ठाकुर पनि प्रहरी हिरासतमा छन् । उनले अंसारूल कवारीसंग प्रदेश–२–०३–००१ च. ११४० नम्वरको गाडी १५ लाखमा खरिद गरेको बताएका छन् ।

अविद नदाफ गाडी ड्राईभर हुन् । लोहरपट्टीका अख्तर नदाफको नातामा भिनाजु पर्नेसंग प्रदेश–२–०३–००१ च ३७३९ नम्वरको स्कार्पियो गाडी भडामा चलाउनको लागि ल्याएको उनको भनाई छ ।

पक्राउ परेका मोबारक अली विमा कम्पन्नीमा काम गर्ने कर्मचारी हुन् । साथी पर्ने नौसाद नजिरको गाडी प्रदेश २–०३–००१ च ०११० नम्वरको उनले ७÷८ महिनादेखि राखेको वयानमा भनेका छन्। नौसाद नजिर भने विदेश गइसकेका छन् ।

यस्तै पंकज शर्मा गाडी चालक हुन् । उनले प्रदेश २–०३–००१ च ०११० नम्वरको गाडी मोवारक अलीसंग भाडामा चलाउन लिएको वयान दिएका छन् ।

भन्सार चोरी निकासीका गाडीबाट भारतबाट भित्र्याएर नक्कली नम्बर राखेर चढिरहेको सूचनाको आधारमा उक्त गाडीहरु बरामद गरिएको र अनुसन्धान गर्दा नक्कली नम्बर र कागज बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडी देखाएर नक्कली सवारीधनी किताब बनाई विक्रि गरेको देखिएको छ । जनकपुर यातायातमा ति गाडीहरुको कुनै रेकर्ड फेला परेको छैन् ।

यातायात व्यवस्था कार्यालय नारायणी वीरगञ्जमा उक्त गाडीहरु माईक्रो बस र पिकअप गाडीको नाममा रहेको र गाडी धनीहरु पनि अर्कै व्यक्तिहरु रहेको देखिएको छ । पक्राउ परेका उनीहरुमाथि किर्ते तथा लिखित बदर भन्सारतर्फको कानुनी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *