ज्ञानेन्द्र अब एपीएफका प्रशिक्षक, रोहितलाई आर्मीबाट किन ताने ? – Nepal Press

ज्ञानेन्द्र अब एपीएफका प्रशिक्षक, रोहितलाई आर्मीबाट किन ताने ?

काठमाडौं । ‘सुरुवात झन्डै बर्बाद भइसकेको थियो नि’, प्रधानमन्त्री कप क्रिकेटमा आइतबार सशस्त्र प्रहरी बल–एपीएफ क्लबले बागमती प्रदेशलाई हराएर विजयी सुरुवात गरेपछि ज्ञानेन्द्रको खुशी उनको आवाजमा महसुस गर्न सकिन्थ्यो ।

पहिला ब्याटिङ गर्नेक्रममा ४१–५ को खराब स्थितिमा पुगेको एपीएफ पछि सम्हालिँदै २४२ रनको लक्ष्य दिन सफल भयो । धन्न सन्दीप जोराले पछिल्लाक्रमका ब्याटरसँग सम्हालिएर साझेदारी गर्दै शतक प्रहार गरे र ज्ञानेन्द्रले राहतको सास फेरे । झन्डै डेढ दशक नेपाली राष्ट्रिय टोलीबाट खेलेका ज्ञानेन्द्र यसपटक प्रशिक्षकको भूमिकामा मैदानमा थिए ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको झन्डै ५ महिनापछि प्रशिक्षकको भूमिकामा देखिएका हुन् । ज्ञानेन्द्र आफु खेल्ने बेलादेखि नै जानेको कुरा बुझ्न बुझाउन राम्रो लाग्ने गरेको बताउँछन् । त्यही कारण प्रशिक्षणमा आउन आफुलाई सजिलो भएको पनि उनले ‘शेयर’ गरे ।

‘अरुलाई सिकाउँदा, सुझावहरु दिँदा मलाई आनन्द आउँथ्यो । म हिजोका दिनमा राष्ट्रिय टोलीमा हुँदा पनि भाईहरुलाई सुझावहरु दिने गर्थेँ । अहिले एपीएफले प्रशिक्षकको भूमिका दिएपछि मैले त्यसलाई स्वीकार गरेका हुँ’, उनले भने । ज्ञानेन्द्र आफ्नो पुस्ताबाट प्रशिक्षक बन्दै राष्ट्रिय प्रतियोगितामा जिम्मेवारी सम्हाल्ने सम्भवत पहिलो व्यक्ति हुन् ।

उनले प्रशिक्षक बन्ने आधारहरु अहिले आएर तयार गरेका भने होइनन् । ‘मैले सन् २००९ मै लेभल–१ कोर्स गरेको हुँ । लेभल–२ कोर्स भने दुई तीन महिना अघि मात्र सकेको हुँ’, मल्लले भने ।

लेभल–२ कोर्स गरेपछि सिनियर राष्ट्रिय प्रतियोगितामा प्रशिक्षणदेखि यू–१९ राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्नेसम्मको योग्यता पुग्छ । एपीएफमा अहिले राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, विकेटकिपर आसिफ शेख, अविनाश बोहरा, मौसम ढकाललगायत खेलाडी छन् ।

रोहित हालै मात्र त्रिभुवन आर्मी क्लब छाडेर एपीएफमा आबद्ध भएका हुन् । रोहितले पछिल्ला चार वर्ष घरेलु क्रिकेट त्रिभुवन आर्मी क्लबबाट खेलेका थिए । एपीएफको प्रशिक्षण ज्ञानेन्द्रले सम्हालेपछि रोहित पनि जोडिएका हुन् । यसबारे ज्ञानेन्द्रले खासै केही बोल्न चाहेनन् । संयोग नै मान्नुपर्छ, ज्ञानेन्द्रकै कप्तानीमा रोहितले नेपाली टोलीबाट खेलेका थिए भने पछि रोहितकै कप्तानीमा ज्ञानेन्द्रले पनि अन्तर्राष्ट्रिय क्रिकेट खेले ।

‘हिजोका दिनमा राष्ट्रिय टोलीमा हुँदा पनि भाइहरु मसँग सुझावहरु लिन आउँथे । तर प्रशिक्षकका रुपमा सुझावहरु दिन अझ सजिलो हुने रहेछ’, उनले अनुभव साटे । पहिलादेखि नै ‘मेन्टर’जस्तो भूमिकामा अनौपचारिक तवरले काम गरिरहेकाले राष्ट्रिय टोलीका कप्तानसहितका खेलाडीसँग प्रशिक्षकका भूमिकामा प्रस्तुत हुने आफुलाई सजिलो भएको उनले बताए ।

ज्ञानेन्द्रका अनुसार एपीएफले उनलाई लामो समयका लागि प्रशिक्षक बन्न प्रस्ताव गरेको थियो । ‘तर मैले तत्कालका लागि अहिले पीएम कपका लागि मात्र हेरौँ भनेको छु’, उनी भन्छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *