मानव र जनावरबीचको द्वन्द्वको समस्या स्थानीय समुदाय र सरकार मिलेर हल गर्नुपर्छ: उपप्रधानमन्त्री खड्का – Nepal Press

मानव र जनावरबीचको द्वन्द्वको समस्या स्थानीय समुदाय र सरकार मिलेर हल गर्नुपर्छ: उपप्रधानमन्त्री खड्का

बर्दिया । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बर्दियामा मानव-जनावरबीचको द्वन्द्व बढ्दै गएको भन्दै समस्या समाधानका लागि स्थानीय समुदाय र तीन वटै तहका सरकार मिलेर हल गर्नुपर्ने बताएका छन् ।

बाँसगढी औद्योगिक व्यापार मेला आइतबार उद्घाटन गर्दै उनले निकुञ्‍ज क्षेत्रको विकाससँगै यस क्षेत्रमा वन्यजन्तु बढेको र जङ्गली पशुपन्छी उचित बासस्थान तथा आहार प्रजातिको खोजीमा निकुञ्‍ज क्षेत्र बाहिर निस्कँदा मानवको जीउज्यान खतरामा पर्नुका साथै बालीनालीमा समेत क्षति पुग्न गएकाले यो समस्या समाधान गर्न सङ्घीय सरकार गम्भीर रहेको बताए ।

लुम्बिनी प्रदेशको अन्‍न भण्डारका रूपमा रहेको बर्दियामा सिंचाइलगायतका राष्ट्रिय गौरवका आयोजना निर्माण शीघ्र सम्पन्‍न गरी कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्ने उनको भनाइ थियो ।

‘रासायनिक मलको अभाव, कृषियोग्य जमिनमा सिंचाइको अपर्याप्तता, कृषकहरूलाई उचित तालिम र प्रशिक्षणको अभाव, कृषिमा आधुनिक प्रविधि र पद्धतिको प्रयोग आवश्यक मात्रामा गर्न नसक्दा यहाँको कृषि क्षेत्रबाट जति मात्रामा फाइदा लिन सकिने हो त्यो लिन सकिएको छैन’, उपप्रधानमन्त्री खड्काले भने, ‘प्रदेश र स्थानीय तहले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा मद्दत पुग्ने गरी कार्यक्रम कार्यान्वयन गर्न आवश्यक छ ।’

अर्थतन्त्रमा सुधार देखिन थालेको भन्दै उनले उद्योगी व्यवसायीलाई निराश नहुन आग्रह गरे ।

महोत्सवले यस क्षेत्रको धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटनको विकास गरी पर्यटन उद्योगलाई प्रवर्द्धन गर्न सहयोग पुग्नेमा उनले विश्वास व्यक्त गरे ।

स्थानीय तहमा सञ्चालित घरबास होमस्टेलाई थप व्यवस्थित गर्न समेत यसले उत्प्रेरित गर्ने उनको भनाइ छ ।

सङ्घीय सरकारले बनाउने केही कानून निर्माणमा ढिलाइ भए पनि अब आउने हिउँदे अधिवेशनमा सरकारले आवश्यक सङ्घीय कानून बनाउने तयारी गरिरहेको उनले जानकारी दिए ।

उपप्रधानमन्त्री खड्काले राजनीतिक दलबीच आस्था र विचार अलग अलग भएर चुनावमा प्रतिस्पर्धा भए पनि विकास निर्माणका विषयमा सबै एक ठाउँ हुनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर