चौधरी ग्रुपले आर्थिक वर्ष २०७९/०८० मा तिर्‍यो १६ अर्ब १४ करोड रूपैयाँ राजश्व – Nepal Press

चौधरी ग्रुपले आर्थिक वर्ष २०७९/०८० मा तिर्‍यो १६ अर्ब १४ करोड रूपैयाँ राजश्व

व्यवसायिक ग्रुपबाट तिरेको करलाई एकमुष्ठ गणना गरि सरकारी स्तरबाटै सार्वजनिक गर्ने व्यवस्था मिलाउन आग्रह

काठमाडौं । चौधरी ग्रुपले आर्थिक बर्ष २०७९/०८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजश्वमा १ दशमलश ८७ प्रतिशतको योगदान हो । चौधरी ग्रुपअन्र्तगत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च कम्पनीले दाबी गरेको छ ।

आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित भइरहेको समयमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको तथा अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको पृष्ठभूमिमा ग्रुपको योगदान उच्च रहेको कम्पनीको विवरणमा उल्लेख छ ।

यद्यपी कम्पनीले पनि बिग्रेको अर्थतन्त्रका कारण गतवर्ष भन्दा कम राजश्व योगदान गरेको हो । आर्थिक वर्ष २०७८/०७९ मा ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो ।

‘देशको समग्र अर्थतन्त्र मन्दीबाट गुज्रिरहदा र सरकारको कुल राजश्व संकुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको छ । राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा हामीलाई सन्तोष लागेको छ’, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘हामीले नेपालमा द्रुत गतिमा लगानी विस्तार गरिरहेका छौँ र त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्नेछ भन्नेमा हाम्रो विश्वास छ ।’

चौधरीले नेपालमा लगानीको वातावरणमा सुधार गरि लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजश्वको दायरा फराकिलो बनाउँदै लैजान सम्भव हुने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने र यस्तो सोंचबाट राजश्वको अपेक्षित बृद्धिदर हासिल भई हाम्रा राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्न सम्भव हुनेमा पनि जोड दिए ।

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ६७ करोड, २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड र २०७९/८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।

यस्तो छ विगत पाँच वर्षको तथ्यांकः


‘चौधरी ग्रुपले नेपाललाई मुख्य प्राथमिकतामा राखेर लगानी विस्तार गरिरहेको छ । खाद्य एवं पेय पदार्थ, हस्पिटालिटी, वित्तिय क्षेत्र, अटोमोवाईल्स, शिक्षा, पूर्वाधार एवं न्यू टेक्नोलोजीसम्ममा हामीले तिब्र गतिमा लगानी विस्तार गरिरहेका छौँ । नेपालको समग्र अर्थतन्त्रमा हामी प्रभावकारी योगदान पुर्याउन चाहान्छौँ’, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘हाम्रो ग्रुप एकसय ५० बर्षदेखि नेपालको अर्थतन्त्रको विकासमा सक्रिय छ । र, हामी नेपालका सातै प्रदेशहरूमा लगानी विस्तार गरिरहेका छौँ । यसबाट देशको समावेशी विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो विश्वास छ ।’

नेपालमा व्यवसायिक ग्रुपहरूले सरकारको राजश्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजश्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ ।

करदाताको रुपमा व्यवसायकोमार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना नहुँदा जनमानसमा भ्रम उत्पन्न हुने भन्दै चौधरी ग्रुपले सरकारलाई आफूले गरेको राजश्व योगदानको विवरण सार्वजनिक गर्दै आएको छ ।

साथै, व्यवसायिक ग्रुपहरूबाट राष्ट्रिय अर्थतन्त्रमा पुर्याइएको योगदानको वास्तविक तथ्य आम जनमानससमक्ष राख्न सरकारी स्तरबाटै व्यवसायिक ग्रुपहरूले तिरेको करको गणना गर्ने र सार्वजनिक गर्ने व्यवस्था मिलाउनका लागि पनि ग्रुपले ध्यानाकर्षण गराएको प्रवक्ता मधुसूदन पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर