राजवंशी रंगशालामा ‘भक्का’ दिवस शुरु, ३० हजार जनालाई निःशुल्क भक्का खुवाइँदै (भिडिओ) – Nepal Press

राजवंशी रंगशालामा ‘भक्का’ दिवस शुरु, ३० हजार जनालाई निःशुल्क भक्का खुवाइँदै (भिडिओ)

बिर्तामोड । झापाको बिर्तामोड-३ स्थित डोमालाल राजवंशी रङ्गशालामा सातौँ भक्का दिवस शुरु भएको छ ।

पूर्वी तराईमा लोकप्रिय परिकारको रूपमा रहेको भक्कालाई दिवस कै रूपमा मनाउन थालिएको छ ।

राजवंशी समाज विकास समितिको आयोजनमा सुरु भएको भक्का दिवसमा ३० हजारको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष अभय राजवंशीले जानकारी दिएका छन् ।

उनका अनुसार १५० जनाले भक्का बनाउने छन् । सहभागीहरूलाई २ हजार केजी चामलको पिठोबाट भक्का बनाई निःशुल्क रूपमा खुवाइने कार्यक्रम छ ।

झापा, मोरङ र सुनसरीका राजवंशी समुदायले संयुक्त रूपमा भक्का दिवस मनाउँदै आएका छन् । भक्का राति पकाएर विहान (ब्वाली) बासी माछासँग खानुपर्छ भन्ने राजवंशीहरुको चलन छ ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा पर्यटन मन्त्री सुदन किराँती आउने प्रचार गरिएको थियो । मन्त्री किराँती नआउने बुझिएको छ ।

कोशी प्रदेशका मन्त्रीबाट कार्यक्रमको उद्घाटन गर्ने सूचना प्राप्त भएको छ । सोही अवसरमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ ।

राजवंशीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजा भक्काको प्रवर्द्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले राष्ट्रिय भाक्का दिवस मनाउन थालिएको अध्यक्ष राजवंशीको भनाई छ ।

कार्यक्रममा प्रस्तुतिका लागि भारतीय गायिका नीलञ्जना राय झापा आएकी छन् । पश्चिम बंगालकी राय सन् २०२२ को सारेगमपको विजेता हुन् भने २०१७ को भ्वाइस अफ इन्डिया किड्सको उपविजेता र २०१८ को इन्डियन आइडल जुनियरमा तेस्रो भएकी थिइन् ।

भाक्का दिवसमा कलाकारहरूको सामूहिक लोक सांस्कृतिक राजवंशी नृत्यको प्रस्तुति रहनेछ ।

भक्का दिवसको अवसरमा भद्रपुर, कचनकवल र हल्दिवारी गाउँपालिकाले स्थानीय विदा समेत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *