भैरहवामा चौपाया छाडा छोड्नेलाई जरिवाना – Nepal Press

भैरहवामा चौपाया छाडा छोड्नेलाई जरिवाना

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले चौपाया छाडा छोड्नेलाई जरिवाना गर्ने भएको छ । स्थानीयले छाडा चौपायाले दुःख दिन थालेको गुनासो पटक पटक गरेपछि भैरहवामा छाडा गाइगोरु नियन्त्रण अभियान थालिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले गतवर्ष पनि अभियानै चलाएर छाडा गाइगोरुको व्यवस्थापन गरेको थियो । गतवर्ष यसरी नै १ सय ७० वटा छाडा गाइगोरुको व्यवस्थापन गरिएको थियो ।

नगरपालिकाले त्यसरी चौपायालाई छाडा छोड्ने धनीहरुलाई जरिवाना गर्न थालेपछि स्थानीयलाई केही राहत हुने भएको छ । सिद्धार्थनगर नगरपालिकाले सहरमा छाडा गाइगोरुले आतंकित बनाउन थालेपछि नियन्त्रणका लागि अभियानै चलाएको हो ।

छाडा गाइगोरुको कारण नगरमा जताततै फोहर, सडक दुर्घटना, किसानको खेतीबाली खाइदिने लगायतका समस्या समस्या देखिएका छन् ।
नगरपालिकाको छाडा चौपाया व्यवस्थापन समितिका संयोजक एवम् वडा नम्बर ७ का अध्यक्ष दामोदर शर्मा घिमिरेले छाडा गाइगोरुले नगरमा पुनः समस्या ल्याउन थालेपछि नियन्त्रण तथा व्यवस्थापनका लागि नगरपालिकाले अभियान सञ्चालन गरिरहेको बताए ।

‘नगरमा जथाभावी छाडा छाडिएका गाइगोरुलाई नगरपालिकाका कर्मचारी र अन्य जनशक्ति जुटाएर नियन्त्रणमा लिएर तत्कालका लागि होल्डिङ सेन्टरमा राखिएको छ, दुई दिन भित्रमा सम्बन्धित चौपायाका धनी आएर नलगे ट्रकमा लोड गरी विभिन्न गौसंरक्षण तथा अनुशन्धान केन्द्रमा लगेर व्यवस्थापन गरिनेछ ’ घिमिरेले भने ।

घिमिरेका अनुसार, होल्डिङ सेन्टरमा राखिएका गाइगोरुलाई पशुचिकित्सकद्वारा स्वास्थ्य जाँच र उपचार गरी घाँस पराल खुवाएर राखिएको छ ।नगरपालिकाले गाइगोरु लिन आउने सम्बन्धित धनीलाई ५ देखि ७ हजार जरिवाना तिराउने गरेको छ ।

होल्डिङ सेन्टरमा दुई दिनमै करिब चार दर्जन गाइगोरु जम्मा भइसकेका छन् । छाडा छाडिनेमा दुध दिने गाइसमेत छन् । तर स्थानीयले यसको दीर्घकालीन योजना बनाउन सुझाएका छन् । स्थानीय व्यवसायी प्रदीप ज्ञवालीले चर्चामा आउन केही दिनका लागि गरिने कार्यक्रमले यो समस्या समाधान नहुने बताउँदै दीर्घकालीन समाधानको योजना बनाउन आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *