अभिनेत्रीहरुको वैवाहिक जीवन: क-कसका टुटे, क-कसका फेरि गाँसिए ? – Nepal Press

अभिनेत्रीहरुको वैवाहिक जीवन: क-कसका टुटे, क-कसका फेरि गाँसिए ?

काठमाडौं । सिनेमा क्षेत्र ग्ल्यामरको क्षेत्र हो । ग्ल्यामरको क्षेत्र भएकाले यो आफैंमा रंगीन छ । यस क्षेत्रमा आफ्नो भविष्य चम्काउने सपना लाखौं युवायुवतीले देख्ने गर्छन् । कोही सफल हुन्छन्, कोही असफल । तर, ग्ल्यामरको क्षेत्र भएकाले कलाकारका गसिप, लफडा, विवाद, मनमुटावका विषय पनि मिडियाका खुराब बन्ने गर्छन् ।

कलाकारका प्रेम सम्बन्ध, ब्रेकअप मिडियामा छिप्दैन । उनीहरुको विवाह, डिभोर्सका समाचारले त मिडिया तात्ने नै भए । केही समयअघि मात्रै पूर्वमिस नेपाल श्रृंखला खतिवडाको विवाहले राष्ट्रिय चर्चा पाएको थियो । मिडिया टाइकुन सम्भव सिरोहियासँगको उनको विवाहलाई अनेक कोणबाट हेरियो, बहस भयो ।

खतिवडाले जसरी विवाह गर्नेहरुको चर्चा त हुने नै भयो । सिने क्षेत्रमा गुपचुप विवाह गर्ने कलाकारको लर्को पनि कम छैन । उनीहरु केही क्लोज सर्कललाई मात्रै बोलाएर सुटुक्क विवाह गर्छन् । यसैगरी सुटुक्क डिभोर्स पनि गर्ने गर्छन् । कतिपय कलाकारको भने दोस्रो विवाहपछि डिभोर्सको खबर बाहिरिन्छ ।

अहिले डिभोर्स आम रुपमा पनि सामान्य भइसक्यो । पार्टनर चित्त नबुझेपछि आफ्नो खुशी, सपना र रहरका लागि डिभोर्स गर्नु नौलो कुरै रहेन । झनै विवाहअघि गरिने ब्याचलर्स पार्टी जस्तै अहिले त डिभोर्स पार्टीको प्रचलन सुरु भइसक्यो ।

कलाकारको विवाह, प्रेम, ब्रेकअप, सम्बन्ध विच्छेद आममानिसको चासोमा रहन्छ । तर, कलाकारितामार्फत् सबैको नजरमा पर्न सफल कलाकारको डिभोर्स चाहिँ किन हुन्छ ? फिल्ममा आदर्श चरित्र निभाउनेहरुको वास्तविक जीवनमा किन डिभोर्स हुन्छ ? हामीले यिनै विषयमा रहेर ६ नायिकाको डिभोर्सको चर्चा गर्ने कोसिस गरेका छौं । जसले सम्बन्ध डिभोर्सपछि दोस्रो विवाह गरिसकेका छैनन् ।

रीमा विश्वकर्मा

अभिनेत्री तथा मिडिया पर्सनालिटी रीमा विश्वकर्मा विवाह गरेको दुई वर्षमै श्रीमान्सँग अलग्गिइन् । रीमाले सन् २०१५ मा धरान स्थायी घर भई यूकेका एनआरएनए रोबर्ट बिकसँग लगनगाँठो कसेकी थिइन् । प्रेमबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत भएको थियो । तर, वैवाहिक सम्बन्धमा बाँधिएको दुई वर्षमै रीमा र रोबर्टको सम्बन्धमा खटपट सुरु भयो ।

बाहिरबाट सुमधुर देखिएको यो जोडीको सम्बन्ध विच्छेदको खबर तब बाहिरियो जब रोबर्टले मोडल वर्षा रसाइलीसँग इन्गेजमेन्ट गरे ।

रीमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी शो ‘नेपाल आइडल’ मा सह-होस्टको रुपमा देखिएकी थिइन् भने कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ की होस्ट हुन् । उनले थुप्रै म्युजिक भिडियो र चलचित्रमा काम गरिसकेकी छन् । उनी हाल आफ्नो परिवारसँगै बस्छिन् ।

शिल्पा पोखरेल

नायिका शिल्पा पोखरेलको डिभोर्स एक चर्चित डिभोर्समा गनिन्छ । उनको सम्बन्ध विच्छेदले सामाजिक सञ्जाल तातेको थियो । शिल्पा अन्तर्वार्तामै डाको छाडेर रोएपछि माहोल झन गर्माएको थियो ।

नायिका पोखरेलले सिने क्षेत्रका चर्चित निर्माता, निर्देशक तथा वितरक छविराज ओझासँग लगनगाँठो कसेकी थिइन् । यो शिल्पाको पहिलो तर, छविको चौथो विवाह थियो । शिल्पासँग विवाह गर्नुअघि छविले नायिका रेखा थापासँग सम्बन्ध विच्छेद गरेका थिए ।

शिल्पालाई चलचित्र क्षेत्रमा ‘लज्जा’ बाट छविले नै ब्रेक दिएका थिए । त्यहीबाट यी दुई निकट भएका थिए । छविका अघिल्ला तीन विवाह झैं शिल्पासँगको दाम्पत्य जीवन पनि लामो समय टिक्न सकेन ।

सीमित परिवारमात्र राखेर यी दुईले २०७३ साल असार २९ गते विवाह सम्पन्न गरेका थिए । २०७३ सालमा विवाह गरे तापनि यो जोडीले विवाह दर्ता भने २०७५ साल पुस १२ गते गरेको थियो । विवाह दर्ता गरेको ६ महिनामै शिल्पाले छविविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी थिइन् ।

छविले आफ्नो कानको जाली फुट्ने गरी पिटेको बताउँदै शिल्पाले महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा उजुरी दर्ता गराएकी थिइन् । यसरी प्रेमबाट सुरु भएको यी दुईको सम्बन्ध अन्ततः अदालत पुगेर सकियो । सम्बन्ध विच्छेदपश्चात शिल्पा अहिले सिंगल छिन् । छविले पनि विवाह गरेका छैनन् ।

सुष्मिता केसी

अभिनेत्री सुष्मिता केसी अभिनेता भुवन केसीकी पूर्वपत्नी अर्थात् नायक अनमोल केसीकी आमा हुन् । चलचित्र ‘विजय पराजय’ को सेटमा यी दुईको भेट भएको थियो । भुवन शो चलचित्रका मुख्य नायक थिए । सोही भेटपछि यी दुईको निकटता बढ्यो । निकटता बढेको केही समयपछि यी दुई लिभ-इन रिलेसनमा बस्न थाले । लिभ-इनमै हुँदाहुँदै सुष्मिता गर्भवती भइन्, अनमोल जन्मिए ।

अनमोलको जन्मपश्चात यी दुईले विवाह गरे । विवाहपछि भने यी दुईको सम्बन्धमा खटपट सुरु भयो । आपसी मनमुटाव बढ्न थालेपछि यी दुईले सम्बन्ध विच्छेद गर्ने निर्णय गरे । भुवन र सुष्मिताको सन् २००१ मा डिभोर्स भयो । यसपछि सुष्मिताले सेप्टेम्बर ९, २०१८ मा फिजीमा जन्मिएका अस्ट्रेलियाका व्यापारी किलन स्वामीसँग सिंगापुरमा इन्गेजमेन्ट गरिन् भने यता भुवन पनि हाल नायिका जिया केसीसँग लिभ-इनमा छन् ।

मनिषा कोइराला

अभिनेत्री मनिषा कोइराला नेपालमा जति चर्चित छिन्, भारतमा पनि त्यति नै चर्चित छिन् । उनले थुप्रै हिट हिन्दी चलचित्रमा काम गरेकी छन् । हिन्दीबाहेक तमिल, तेलुगु, बंगाली, मलयालम, कन्नड र अंग्रेजी चलचित्रहरूमा पनि उनले काम गरेकी छन् । राजनीतिक घराना कोइराला परिवारमा जन्मिएकी उनी राजनीतिज्ञ तथा पूर्वमन्त्री प्रकाश कोइरालाकी छोरी र पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी हुन् ।

करियरमा सफल कोइरालाको वैवाहिक सम्बन्ध भने असफल रह्यो । नेपाली व्यापारी सम्राट दाहालसँग विवाह गरेको दुई वर्षमै यो जोडी अलग्गियो । क्यान्सर सर्भाइभर कोइरालाले सम्राटसँगको सम्बन्ध विच्छेदपछि दोस्रो विवाह गरेकी छैनन् । उनी अहिले अभिनयको अलावा महिला अधिकार, महिला हिंसाको रोकथाम र मानव बेचबिखन रोक्न विभिन्न संगठनहरूसँग मिलेर काम गरिरहेकी छन् ।

अरुणिमा लम्साल

कुनै समयकी चर्चित नायिका अरुणिमा लम्सालले विराटनगर निवासी अमित अर्यालसँग विवाह गरेकी थिइन् । अर्यालसँग लम्सालको प्रेमविवाह भएको थियो । विवाह गरेको ६ वर्षपछि अरुणिमाले २०६८ मा छोरी जन्माइन् । गर्भवती भएपछि उनको फिल्मी करियरमा केही समय ब्रेक लागेको थियो ।

छोरी जन्मिएपछि अरुणिमा र अमित अमेरिका घुम्न गए । त्यही बेला उनीहरुले ग्रिनकार्ड आवेदन सुरु गरे । अमेरिकाबाट फर्किएपछि लम्सालले अभिनयको यात्रामा पुनरागमनको प्रयास गरिन् । तर, सफलता पाइनन् ।

ग्रीनकार्ड आउँदानआउँदै अर्याल र लम्सालको सम्बन्धमा दरार आइसकेको थियो । अमेरिका जानुअघि नै यी दुईले नेपालमा भएको सम्पत्ति बाँडफाँट गरे । पछि यी दुईको पनि सम्बन्ध विच्छेद भयो । लम्साल हाल परिवार र छोरीसँग अमेरिकाका बस्छिन् ।

वर्षा सिवाकोटी

विवाह गरेको एक वर्ष नपुग्दै सम्बन्ध विच्छेद गरेकी नायिका हुन् वर्षा सिवाकोटी । सिवाकोटीले २०७९ वैशाख ९ गते अमेरिका बस्दै आएका इन्जिजियर आशिष गेलालसँग लगनगाँठो कसेकी थिइन् ।

अमेरिका घुम्न जाँदा नजिकिएका यी दुईबीच नेपाल फिरेपछि गुपचुप विवाह भयो । विवाहलगत्तै आशिष अमेरिका गए । केही समयपछि वर्षा पनि अमेरिका गइन् र पुनः नेपाल फर्किइन् । नेपाल फर्किएपछि उनले सामाजिक सञ्जालबाट श्रीमान्का सबै फोटो हटाइन् । यसैवेला उनीहरुको सम्बन्धमा खटपट आइसकेको हल्ला चलेको थियो । पछि आशिषले दोस्रो विवाह गरेपछि मात्रै उनीहरुको डिभोर्स भएको पक्का भएको थियो ।

०००

यी त भए ती नायिकाहरु, जसको पहिलो वैवाहिक जीवन सोचेअनुरुप अगाडि बढ्न सकेन । छोटो समयमै वैवाहिक सम्बन्ध टुट्यो । तर, सिने क्षेत्रमा त्यस्ता नायिकाहरु पनि छन्, जसको पहिलो सम्बन्ध टुटे पनि दोस्रो विवाह सुखमय नै चलिरहेको छ । दोस्रो विवाहमा उनीहरु खुशी देखिइएका छन् । यिनै अभिनेत्रीहरुको यहाँ चर्चा गरिएको छ ।

प्रियंका कार्की

विवाहपछि करियर बनाउन गाह्रो हुने भनिएको सिने क्षेत्रमा बच्चा भइसकेपछि पनि आफ्नो करियरलाई सानदार तरिकाले अगाडि बढाइरहेकी छन् अभिनेत्री प्रियंका कार्कीले । अभिनेता आयुषमान देशराज जोशीसँग दोस्रो विवाह गरेकी उनले सन् २०२१ मा छोरी आयंका पाएकी थिइन् ।

उनीहरुले लामो समयको प्रेमलाई सन् २०२० मा विवाहमा परिणत गरेका थिए । आयुषमानअघि कार्कीले अमेरिका बस्ने रोचक मैनालीसँग विवाह गरेकी थिइन् । २२ वर्षकै उमेरमा लगनगाँठो कसेकी कार्कीले रोचकसँग लामो यात्रा तय गर्न सकिनन् । विवाह गरेको दोस्रो वर्षमै यी दुईको सम्बन्ध विच्छेद भएको थियो ।

सञ्चिता लुइँटेल

पहिलो वैवाहिक जीवन सफल नहुने सूचीमा नायिका सञ्चिता लुइँटेलको नाम पनि अग्रपंक्तिमा आउँछ । अभिनेता निखिल उप्रेतीसँग दोस्रो विवाह गरेकी उनका पहिलो श्रीमान आकाश शाह थिए ।

चलचित्र ‘भन्नै सकिनँ’ फिल्मको सेटबाट आकाशसँग नजिकिएकी लुइँटेलले परिवारको चाहनाविपरीत विवाह गरेकी थिइन् । आफ्नै रोजाइमा आकाशसँग विवाह गरे पनि उनहरुको वैवाहिक जीवन लामो समय टिकेन । आकाशसँग सम्बन्ध विच्छेद गरिन् र निखिल उप्रेतीसँग दोस्रो विवाह गरिन् ।

निखिलको पनि यो दोस्रो विवाह हो । अहिले उनीहरुको घरजम राम्रैसँग चलिरहेको छ । उनीहरुको एक छोरा र एक छोरी छन् ।

रेखा थापा

चलचित्र ‘हिरो’बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री रेखा थापाले २०५७ सालमा निर्माता छविराज ओझासँग पहिलो विवाह गरेकी थिइन् । पहिलो विवाह गर्दा रेखा मात्र १६ वर्षकी थिइन् भने छवि ३७ वर्षका थिए ।

आफैंले सुरु गरेको ‘नमस्ते नेपाल’ नामक कम्पनीबाट छविले ‘हिरो’ चलचित्र बनाएका थिए । सो चलचित्रबाट उनले रेखालाई फिल्मी दुनियाँमा इन्ट्री गराएका थिए । चलचित्रको छायांकन सकिनासाथ छवि र रेखाले लगनगाँठो कसेका थिए ।

१६ वर्ष सँगै बिताएका यी दुईको सम्बन्ध सुमधुर बन्न सकेन । सम्बन्ध विच्छेडको मोड लियो । २०७३ सालमा यी दुई अलग्गिए । छविसँग अलग्गिएकी थापाले सन् २०२२ मा जाजरकोट निवासी बलराम शाही ठकुरीसँग दोस्रो विवाह गरिन् ।

ठकुरी र थापाले कानूनी रुपमा सुटुक्क विवाह गरेका थिए । इजरायल बसोबास गर्दै आएका बलराम पेशाले पर्यटन व्यवसायी हुन् । हाल यी दुई आमाबुवा बन्ने तयारीमा छन् । आमा बन्न लागेकी रेखा र बलराम अहिले अमेरिका पुगेका छन् ।

पेशा र क्षेत्रका कारण सेलिब्रेटीको सम्बन्ध छिटो चिसिने गर्छ: राधिका खतिवडा, अधिवक्ता

पछिल्लो समयको अदालतको माहोल हेर्ने हो भने जिल्ला अदालतमा दायर भएका मुद्दामध्ये फौजदारीपछि देवानीमा ७० प्रतिशत डिभोर्ससँग सम्बन्धित छ । त्यसपछि ३० प्रतिशत पनि छैन पारिवारिक मुद्दा । अधिकांश मुद्दामा वैदेशिक रोजगारमा श्रीमान गएको, श्रीमती नेपालमा रहेको, श्रीमती विदेश गएको, श्रीमान् नेपाल रहेको र त्यही दूरीले सृजना गरेको मनमुटावका कारण उनीहरु डिभोर्सको संघारमा पुगेको देखिन्छ ।

दोस्रो, प्रेम विवाह । आवेगमा गरिएका प्रेम विवाह पछि परिवारमा सँगै अगाडि बढाउन नसकेपछि डिभोर्स गर्ने गरेको देखिन्छ ।

हाम्रो कानूनअनुसार मानसिक यातना दिएमा, खान लाउन नदिएमा, घर निकाला गरेमा डिभोर्सको मुद्दा हाल्न सकिन्छ । अहिलेका महिलाले हिंसा सहेर बस्दैनन् । त्यसैले सेलिब्रेटीमात्रै होइन, पछिल्लो समय अदालतमा आममान्छेको पनि धेरै मुद्दा देखिएका छन् । सेलिब्रेटीलाई सबैले चिन्ने भएकाले समाचार बन्छ ।

सेलिब्रेटीले सबै चिज हेरेर, आफूसँग मिल्नेसँग विवाह गर्छन् भन्ने लाग्नसक्छ । त्यसो भए किन उनीहरु छुट्छन् ? विवाहपूर्व उनीहरु पनि स्वतन्त्र रुपले काम गरिरहेका हुन्छन् । तर, विवाहपछि भने हिँड्दा, बस्दा, खाँदा, कोहीसँग कुरा गर्दा सोचेर गर्नुपर्ने हुन्छ । पेशा नै स्वतन्त्र भएकाले स्वतन्त्रतामा तालमेल नहुँदा मनमुटाव सुरु हुने हो । यही कारणले सेलिब्रेटीको सम्बन्ध छिटो चिसिने हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *