समाजवादी मोर्चाबारे जसपा- गठबन्धनलाई संयुक्त मोर्चामा बदल्न कांग्रेस तयार नभएपछि बनाएका हौं – Nepal Press

समाजवादी मोर्चाबारे जसपा- गठबन्धनलाई संयुक्त मोर्चामा बदल्न कांग्रेस तयार नभएपछि बनाएका हौं

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनलाई संयुक्त मोर्चामा बल्दन कांग्रेस तयार नभएपछि समाजवादी मोर्चा बनाएको बताएको छ । केन्द्रीय समितिको चौथो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा मोर्चा कार्यगत एकताको लागि मात्रै भएको उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘गठबन्धनलाई दिगो बनाउँदै अगाडि बढ्न त्यसलाई कार्यगत एकतामा मात्र सीमित नगरी संयुक्त मोर्चाको रूपमा विकास गर्न सकिएको भए अझ राम्रो हुन्थ्यो । तर, नेपाली कांग्रेस त्यस रूपमा अगाडि बढ्न तयार छैन् ।’

उनले चारदलीय समाजवादी मोर्चाले संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षताविरूद्ध भइरहेको प्रतिक्रान्तिकारी गतिविधिविरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र विकासका लागि नागरिक सभाको आयोजना गर्ने तयारी भइरहेको समेत बताएको छ ।

राष्ट्रियसभाको निर्वाचनलगत्तै नागरिक सभा पश्चात देशका मुख्यमुख्य सहरहरूमा जनसभाका कार्यक्रमहरू समेत आयोजना गर्ने सहमति रहेको प्रतिवेदनमा उल्लेख छ । यो प्रतिवदेनमाथि आज बस्ने केन्द्रीय समितिको बैठकमा छलफल हुँदैछ ।

समाजवादी मोर्चाबारे प्रतिवेदनमा यस्तो छ व्याख्या

अहिले हामी संसदभित्र रहेका विभिन्न राजनीतिक दलहरू सम्मिलित ५ दलीय गठबन्धनमा पनि छौं । यो गठबन्धन तात्कालिक राजनीतिक एजेन्डाहरूमा आधारित कार्यगत एकतामात्र हो । यो गठबन्धन वर्तमान संसदको संरचनाअनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो । प्रतिगमनविरुद्धको संघर्षपश्चात सुरू भएको संघीयता, लोकतन्त्र, सुशासन, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताका पक्षधर राजनीतिक शक्तिहरूका बीचको यो गठबन्धन अहिले पनि जारी छ । यस गठबन्धनलाई दिगो बनाउँदै अगाडि बढ्न त्यसलाई कार्यगत एकतामा मात्र सीमित नगरी संयुक्त मोर्चाको रूपमा विकास गर्न सकिएको भए अझ राम्रो हुन्थ्यो । तर, नेपाली कांग्रेस त्यस रूपमा अगाडि बढ्न तयार छैनन् । त्यसैले हामीले सरकार निर्माणको बखत सुरु भएको गठबन्धन भित्रका हाम्रो पार्टी लगायत नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) बिच समाजवादी मोर्चा निर्माणको पहल सुरु गर्‍यौँ । पछि नेकपा (बिप्लव सी) कोसमेत सहभागितामा समाजवादी मोर्चा, नेपाल बनेको छ । यो समाजवादलाई गन्तव्य मानी देशमा आफ्नो मौलिक विशेषता सहितको समाजवाद चाहने पार्टीहरूको मोर्चा हो । यस मोर्चाले आफ्नो १५ बुँदे अवधारणा पत्र र मोर्चा सञ्चालनको कार्यविधी समेत सार्वजनिक गरिसकेको छ ।

यस मोर्चाको मुख्य लक्ष्य संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै समाजवादको नेपाली बाटो तय गर्ने र समाजको अग्रगामी रूपान्तरणको कार्य अगाडि बढाउने’ हो । मोर्चाले आफ्नो अवधारणा पत्रमा सब्घीय शाासन प्रणाली; लोकतान्त्रिक मूल्य मान्यता; समतामूलक, न्यायपूर्ण र विभेदरहित तथा सुशासन, समाृद्धि र सामाजिक न्यायसहितको समाजवाद स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । यस मोर्चाले संघीय समाजवादी लोकतान्त्रिक गणतन्त्रको रणनीतिक लक्ष्य बोकेका राजनीतिक दलहरूका बिच सहमति र सहकार्यको आधार निर्माण गर्दै वर्तमान गठबन्धनलाई बलियो बनाउन र राजनीतिक अस्थिरता अन्त्य गर्न भूमिका खेल्ने छ । यसले पुनरुत्थानवादी तथा दक्षिणपन्थी शक्तिहरूको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताविरोधी गतिविधीलाई निस्तेज पार्न पनि मद्दत लिल्छ । यस अर्थमा यो मोर्चा निर्माणको ऐतिहासिक महत्त्व रहेको छ । अहिले यसलाई जिल्लास्तरसम्म विस्तार गर्ने निर्णय भएको छ ।

जिल्लास्तरमा संयोजन समिति बनाउँदा स्थानीय तहमा रहेका असमझदारी वा विवाद हल गर्न, सहकार्यको वातावरण निर्माण गर्न तथा संघीय गणतन्त्र र समाजवादको पक्षमा जनमत निर्माण गर्न मद्दत मिल्दछ । यस मोर्चाको हालै सम्पन्न केन्द्रीय संयोजन समितिको बैठकले संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता विरूद्ध भइरहेको प्रतिक्रान्तिकारी गतिविधीविरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र विकासका लागि नागरिक सभाको आयोजना गर्ने र नागरिक सभा पश्चात देशका मुख्यमुख्य सहरहरूमा जनसभाका कार्यक्रमहरू समेत आयोजना गर्ने सहमति भएको छ । यो काम राष्ट्रिय सभाको निर्वाचनलगत्तै सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर