कतारबाट रसिया पुगेर भर्ती भएका सोनुले पहिलो महिनाको तलबको खुशीयाली घरमा दिन पाएनन् – Nepal Press

कतारबाट रसिया पुगेर भर्ती भएका सोनुले पहिलो महिनाको तलबको खुशीयाली घरमा दिन पाएनन्

रुपन्देही । घरमा प्यारालाइसिस भएकी आमाको सेवा गर्न श्रीमतीलाई छाडेर कतार गएका प्यूठानका सोनु सुनार (सोमेस) त्यहाँभन्दा धेरै कमाउन परिवारलाई सूचना नदिइ रसिया गएका थिए । तीन महिनाअघि त्यहाँको सेनामा भर्ती भएका उनी पहिलो महिनाको तलब बुझेको खुशीयाली घरमा पुराउन पाएनन् ।

रसियन सेनामा आवद्ध प्युठान नगरपालिका वडा नं ४ काठेवरका २८ वर्षीय सोनु (सोमेस) सुनारको युक्रेन-रुस युद्धमा मृत्युु भएको हो । रोजगारीको शिलशिलामा कतार पुगेका सुनार उतैबाट तीन महिनाअघि रुस गएर त्यहाँको सेनामा भर्ती भएका थिए ।

उनीसँगै रसियाको सेनामा भर्ती भएर लडाईंमा घाइते भएका बर्दियाका साथीले अहिले सोनुको परिवार र छिमेकीलाई घटनाको खबरका विषयमा अपडेट गराइरहेका छन् ।

सोनुका बुबा कालु सुनार भारतमा रोजगारीका लागि बस्ने गर्दछन् भने घरमा प्यारालाइसिस भएकी सोनुकी आमा, श्रीमती र ५ वर्षीय छोरा अनि उनका २२ वर्षका भाइ मात्र रहेका छन् । सबै परिवारको मुख्य स्रोतका रुपमा रहेका सोनुको यो अप्रत्याशित खबरले परिवारलाई ठूलो बज्रपात आइलागेको र परिवारको मियो गुमेको उनका छिमेकीहरु बताउँछन् ।

नेपालबाट वैधानिक रुपमा नगएकाले अहिले सोनुको मृत्यु भएपनि गृह मन्त्रालयले आधिकारिक खबरसम्म दिन सकेको छैन । सोनुका छिमेकी खगेश्वर थापाका अनुसार उनीसँगै गएको बर्दियाका साथीसँग आफू निरन्तर सम्पर्कमा रहेका र ती साथी पनि सो लडाईंमा घाइते भएर अस्पतलातमा उपचार गराइरहेका छन् ।

‘नेपालबाट नगएर कतारबाट गएकाले यहाँ सरकारलाई घटनाबारे समयमा जानकारी हुने कुरा भएन, सँगै गएका ती साथीले लडाईंमा सँगै गएको र सोनुको मृत्यु भएको सुनाएका छन्, शव पनि क्षतविक्षत भएकाले अब ल्याउने नि कसरी भन्ने हो, उनी पनि घाइते भएर अस्पतालमा रहेछन्, उनको सुरक्षाका लागि हामीले नाम सार्वजनिक गरेका छैनौ’, थापाले भने ।

थापाका अनुसार सोनुको परिवार आर्थिक विपन्न रहेको र घरमा उनी आम्दानीको मुख्य स्रोतका रुपमा रहेका थिए । अब उनको शव ल्याउने विषयमा पनि समस्या भएको थापा बताउँछन् ।

‘बुबा भारतमा हुनुहुन्थ्यो, आज घरमा आउनुभयो, परराष्ट्रमा सोधेको कुनै जानकारी छैन, पासपोर्ट र श्रीमतिको कागजपत्र लिएर आउनुहोस् भनेका छन्, घरमा पनि पासपोर्टको केही प्रतिलिपि भेटिएको छैन, भोली सबै जुटेर कसरी समन्वय गर्ने भन्ने तयारी गर्छौं’, थापाले सुनाए ।

प्यूठान नगरपालिकाका मेयर विष्णुबहादुर योगीले केही महिनाअघि रसियन सेनामा भर्ती भएका वडा नं ४ का सोनु सुनारको मृत्यु भएको मृतकसँगै भएको घाइते साथीले भनेको र परिवारले त्यो सूचना पाइसकेको जानकारी दिए ।

‘हामीलाई गृहले आधिकारिक खबर त केही पठाएको छैन, मृतकसँगै घाइते भएको भाइले खबर दिएर सूचना पाएको अवस्था छ, शव उहीँ नै छ भन्ने छ, अब वास्तविकता पत्ता लगाउन गृहलाई हामीले समन्वय गर्छौं’, उनले भने ।

वडा नं ४ का वडाध्यक्ष रेशमबहादुर कार्की केही समयअघि घटना भएको सुनेपनि आधिकारिक सूचना नआएको र परिवारमा थप समस्या भएको बताए ।

‘परिवार, छिमेकी सबैलाई सामाजिक सन्जालबाट सोनुको मृत्यु भएको खबर आएको छ, तर सरकारी निकायबाट यसको पुष्टि हुने केही सूचना आएको छैन’, उनले भने, ‘एकातिर घटनाको विषयले परिवारमा समस्या छ भने अर्को कुरा कहिले, कसरी भयो र अब कसरी शव ल्याउने र अन्त्येष्टि कसरी गर्ने भन्नेमा अर्को तनाव छ ।’

नगरपालिकाको तर्फबाट बिहीबार सबै जना परिवारसँग सल्लाह गर्न जाने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *