२ वर्षअघि नै सहकारीबाट राजीनामा दिएका वडाध्यक्ष दर्लामी ठगी मुद्दामा कसरी पुगे जेल ? – Nepal Press

२ वर्षअघि नै सहकारीबाट राजीनामा दिएका वडाध्यक्ष दर्लामी ठगी मुद्दामा कसरी पुगे जेल ?

पोखरा । रामेछापको लिखु तामाकोशी गाउँपालिका- ७ का वडाध्यक्ष कैलाशकुमार दर्लामी अहिले कास्की कारागारमा छन् । पोखरामा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारीबाट बचतकर्ताको रकम अपचलन गरेको मुद्दामा वडाध्यक्ष दर्लामी केही दिनअघि पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि फरार भएका दर्लामीलाई केही दिनअघि काठमाडौंबाट पक्राउ गरिएको थियो ।

नेपाल प्रेसलाई प्राप्त सूचनामा दर्लामीले २ वर्षअघि नै सहकारीको उपाध्यक्ष पदबाट राजीनामा दिएको देखिन्छ । वडाध्यक्षको उम्मेदवार बन्नुपर्ने भन्दै २०७८ माघ २५ गते उनले पदबाट राजीनामा दिएका थिए । २०७८ फागुन ८ गतेको बसेको सञ्चालक समितिको बैठकले दर्मालीको राजीनामा स्वीकृत पनि गरेको थियो ।

बचतकर्ताले रकम फिर्ता नभएको भन्दै उजुरी दिएपछि पोखरा महानगरपालिकाले केही समयअघि छानबिन समिति गठन गर्‍यो । महानगरको सहकारी शाखाले छानबिन गरी प्रहरीलाई प्रतिवेदन बुझाइसकेको छ । सोही प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय कास्कीले अनुसन्धान गरेर अदालतमा बुझाइसकेको हो ।

दर्लामीले २ वर्षअघि नै राजीनामा दिए पनि महानगरले प्रस्तुत गरेको प्रतिवेदनमा उनको नाम उपाध्यक्षमै देखिन्छ । महानगरपालिकाका सहकारी महाशाखा प्रमुख भरतराज पौडेल कागजात हेर्दा दर्लामी सहकारीको उपाध्यक्ष नै कायम रहेको बताउँछन् ।

‘कागजपत्र हेर्दा पछिल्लो लेखा परीक्षण तथा साधारण सभामा उनको (दर्लामी) उपस्थिति देखिन्छ । समस्यामा परेपछि म थिइन । जबरजस्ती जिम्मेवारीमा राखेको भन्न पाइँदैन,’ उनी भन्छन् ।

सहकारी ठगीमा सञ्चालक समिति सामूहिक रूपमा जिम्मेवार भएको पौडेल सुनाउँछन् ।

उनले भने, ‘सञ्चालक समितिमा भएपछि सबै उत्तिकै जिम्मेवारी हुन्छ । अहिले आएर म त्यसमा सहभागी थिएन भन्न पाइँदैन ।’

२०७४ सालमा गृहमन्त्रालयको सचिवालय कार्यरत जीवी राईसँग चिनजान भएको र पछि जीबीले नै आफूलाई सहकारीको सञ्चालकको रूपमा राखेको दर्लामीले अदालतसमक्ष बयान दिएका छन् । केही दिनअघि कास्की अदालतमा उपस्थिति भएका उनले यस्तो बयान दिएका हुन् । उनी २०७४ असोज ३ गतेको दसौँ वार्षिक साधारण सभाबाट पहिलो पटक उपाध्यक्ष चुनिएका थिए ।

२०७९ मंसिर १२ गते भएको पछिल्लो वार्षिक साधारणसभा पनि उपाध्यक्षमा दर्लामी नै कायम भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । दर्लामीले भने २०७४/७५ भन्दा पछि भएका कुनै पनि सञ्चालक समितिको बैठकमा आफ्नो उपस्थिति नरहेको जिकिर गरेका छन् । उनले आफ्नो अनुपस्थितिमा माइनुटमा गरेको हस्ताक्षर किर्ते गरेको भन्दै ल्याब टेस्ट गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । बयानमा दर्लामीले जीबासहित सञ्चालक र पूर्व सञ्चालक मनोमानी हिसाबले चल्दा बचतकर्ताको पैसा डुबेको बयान दिएका छन् ।

हस्ताक्षर कीर्ते गरिएको भन्ने कुरा अनुसन्धानको विषय भएको महानगर सहकारी शाखा प्रमुख पौडेल बताउँछन् ।

‘पछिल्लो लेखा परीक्षण, वार्षिक साधारण सभामा उहाँको सहभागिता देखिन्छ । अब उहाँको हस्ताक्षर गरिएको हो भने त्यो अनुसन्धानको विषय हो । त्यो विषयमा अनुसन्धान गर्नुपर्छ,’ उनी भन्छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले महानगरको प्रतिवेदनअनुसार आफूहरूले अनुसन्धान गरेर पक्राउ पुर्जी जारी गरेको बताउँछन् ।

‘हामीले महानगरको प्रतिवेदनअनुसार अनुसन्धान गरेर पक्राउ पुर्जी जारी गर्‍यौँ । उहाँ (दर्लामी) त्यसपछि फरार हुनुभयो । हामीले बयान लिन पनि पाएनौँ । अब सरकारी वकिल कार्यालयबाट मुद्दा चलिसकेको छ । अब उहाँले त्यसैबाट बयान दिनुहुनेछ । अदालतबाट उहाँको विषयमा आदेश हुनेछ,’ उनले नेपाल प्रेससँग भने ।

दर्लामीको राजीनामा र हिसाब फरफारकको प्रमाण

दर्लामीले स्थानीय तह निर्वाचनमा रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ बाट वडाध्यक्ष उम्मेदवार बन्ने तयारी पहिले नै गरेका थिए । त्यसैले २०७८ माघ २५ मा उनले सहकारीको उपाध्यक्षबाट राजीनामा पेश गरेका थिए । त्यसलगत्तै फागुन ८ गते उनीसहित सम्मिलित सन्चालक समिति बैठकले राजीनामा स्वीकृत गर्नुको साथै उनीसँग कुनै बरबुझारथ नरहेको भनी माइन्युटमै उल्लेख गरेको समेत पाइएको छ ।

दर्लामीलाई सहकारीको संचालक समिति अध्यक्षले २०७८ फागुन ८ गतेकै मितिमा पत्र थमाएर राजीनामा स्वीकृत भएको र उनीसँग संस्थाको कुनै पनि आर्थिक कारोबार समेत बाँकी नरहेको व्यहोरा उल्लेख गरेको थियो । दर्लामीले यहि आधारमा आफू निर्दोष रहेको दावी गरेका छन् ।

महानगरपालिकाले पहिलेकै आधारमा छानविन गर्यो वा उनको अनुपस्थितिमा किर्ते माइन्युट बनाएर सन्चालकले रकम हिनामिना गरे भन्ने चाहिँ अब हस्ताक्षरको विधि विज्ञान प्रयोगशालामा परीक्षणपछि मात्र पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

किनकी २०७८ फागुन ८ मा राजीनामा स्वीकृत भएको पत्र बोकेर रामेछाप फर्किएका दर्लामी २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा माओवादीबाट उम्मेदवार बनी वडाध्यक्ष निर्वाचित भएका थिए ।

७० लाख लिए, कृत्रिम खातामार्फत तिरेको बनाए

प्राप्त सूचनाअनुसार दर्लामीले २०७८ माघमा उपाध्यक्षबाट राजीनामा दिइसकेका छन् । त्यति बेलै उनको राजीनामा स्वीकृत भइसकेको थियो । त्यसअघि २०७८ कात्तिक १६ गते कर्मचारी पेस्की शीर्षकमार्फत सहकारीमा ७० लाख रूपैयाँ लिएको देखिन्छ । तर उनले उक्त रकम चुक्ता गरेको किन पनि देखिन्छ भने सहकारीले उनलाई राजीनामा स्वीकृत गरेर दिएको पत्रमा कुनै हिसाबकिताब नरहेको प्रष्ट उल्लेख गरेको छ ।

त्यसपछि २०७९ असार ३२ गते उक्त रकम भवन सम्पत्ति कायम गरी कार्यालय भवनको कृत्रिम बचत खाता बनाइ रकम चुक्ता गरेको देखिन्छ ।

दर्लामीले भने आफूले हालसम्म उक्त सहकारीबाट कुनै रकम र तलब भत्ता नलिएको बयान दिएका छन् ।

‘यस सहकारीबाट कुनै किसिमको घर घडेरी, चल अचल सम्पत्ति जोडेको छैन । मैले यो सहकारीबाट हालसम्म तलब भत्ता लिएको छैन । मैले कुनै रकम लिएको छैन,’ उनले बयानका क्रममा भनेका छन् ।

जीवी राईसहित १५ जना फरार

महानगरपालिकाले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय कास्कीले असोज १८ गते अनुसन्धान सकेर सहकारीका १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको हो । १ हजार ३५ जनाको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको निष्कर्ष निकाल्दै सरकारी वकिल कार्यालयले १९ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । जिल्ला अदालत कास्कीबाट १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

सहकारीका पूर्व अध्यक्ष जीवी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, उपाध्यक्ष कैलाश कुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, सञ्चालक धिरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङविरुद्ध पक्राउ पुर्जी भइसकेको छ ।

शिवबहादुर गुरुङ, कैलाशकुमार दर्लामी, कुमार रम्तेल र भविश्वर अर्याल पक्राउ परी पुर्पक्षका लागि जेल चलान भएका छन् । जीवी राईसहित १५ जना अझै फरार छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *