तस्करीको सुनचाँदी आशंकामा गरगहनामा प्रहरीको नजर, व्यवसायीको प्रश्न- सरकारले पसल बन्द गर भन्न खोजेको हो ? – Nepal Press

तस्करीको सुनचाँदी आशंकामा गरगहनामा प्रहरीको नजर, व्यवसायीको प्रश्न- सरकारले पसल बन्द गर भन्न खोजेको हो ?

काठमाडौं । प्रहरीले पछिल्लो समय बिक्री गर्न राखिएका सुनचाँदीका गरगहना तस्करीको भन्दै बरामद गर्न थालेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक महिनाको अन्तरमा सुन र चाँदीका तयारी गरगहना उठाएको छ ।

प्रहरीको उक्त कार्यालयले सोमबारमात्र करिब ४७ केजी चाँदीका गरगहनासहित ३ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंका विभिन्न स्थानमा राखिएका ती गरगहना तस्करी गरिएको चाँदीबाट बनेको अपराध अनुसन्धान कार्यालयको दाबी छ ।

एक महिनाअघि मात्र न्युरोडको एक सुन पसलबाट झन्डै ७ केजी सुनका गरगहनासहित सञ्चालकलाई पक्राउ गरिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तस्करी गरेर ल्याइएको सुन र त्यसबाट बनेका गरगहना बरामद भएको दाबी गरेको थियो ।

त्रिभुवन विमानस्थलबाट नियमित सुन तस्करीका समाचारहरु आइरहँदा तयारी अवस्थाका गरगहनामा प्रहरीको नजर पर्न थालेको हो । नेपालमा राष्ट्र बैंकले दैनिक दिनेभन्दा ठूलो मात्रामा सुनको कारोबार हुने गरेको र त्यो माग तस्करीमार्फत पूरा हुने गरेको सरकारी आँकलन छ ।

नेपालमा हवाई मार्ग र चीनको सीमा नाकाबाट सुनका बिस्कुटहरु अवैध रुपमा भित्रने गरेको पाइएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सरकारले व्यवसायीमाथि ज्यादती गरिरहेको आरोप लगाए ।

‘सरकारले गर्न खोजेको के हो ? व्यवसायीहरुले अफ्नो व्यवसाय पनि गरेर खान नपाउने हो ? रातारात अन्तराष्ट्रिय विमानस्थलबाट केजीका केजी सुन समातिन्छ । पसल पसलमा गएर छापामार शैलीमा बनाएकै गरगहना समात्नु भनेको सरकारमाथि नै प्रश्न हो’, उनले भने ।

यता काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठोर खरिद गरेको बिल देखाउन नसकेको गरगहना मात्र बरामद गरिएको बताउँछन् ।

‘कति गरगहना त घरमा राखेको भेटिएको छ । बिक्री गर्ने हो भने त पसलमा राख्नुपर्‍यो नि’, उनले भने ।

एसएसपी राठोरले बरामद भएको गरगहना र पक्राउ गरिएका व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाइने गरिएको बताए ।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्य भन्छन्-

सुन व्यवसायीले राष्ट्र बैंकले दिएको अनुमतिभित्र रहेर सुन खरिद गरेर गरगहना तयार गर्छन् । एउटा पसलमा दैनिक सयौ संख्यामा गहना बन्छ । कच्चा सुन अर्थात गहना नबनेको सुनको खरिद बिल सबै पसलहरुमा हुन्छ । त्यसमा कच्चा सुनको आयात कहाँबाट हुन्छ, त्यसको स्रोत व्यवसायीसँग हुन्छ । यदि हुँदैन भने त्यसमा प्रश्न गर्न मिल्छ । यसरी प्रमाणविना व्यवसायीहरुको पसल-पसलमा गएर गहना खोज्नु स्वीकार्य छैन । कि सरकारले हामी व्यवसायीहरुलाई व्यवसाय बन्द गरेर बस भन्नुपर्‍यो !

कसैले पनि बाहिरबाट अवैध रुपमा सुन ल्याएपछि प्रत्यक्ष रुपमा गएर पसलमा बेच्ने गर्दैनन् । यदि तस्करीको सुन व्यवसायीहरुले चलाएको आशंका भएमा कच्चा सुन खोज्ने कि गहना खोज्ने, यसको स्पस्टता नेपाल प्रहरीमा हुनुपर्छ । पसलमा बैंकबाट सुन किनेको बिल हुन्छ, त्यसपछि एउटा पसलेले सुनलाई कुन गहना बनाउनमा लगाउँछ, त्यो पछिको कुरा हो । बजार मागलाई मात्र हेरेर अवैध सुन भन्न मिल्दैन । किनभने नेपालमा खरिद हुने सबै सुन गहना बन्ने गर्दैन र खरिद गर्नेबित्तिकै बजार माग बढ्ने हुँदैन । हरेक आर्थिक वर्षमा बैंकहरुबाट कति सुन खरिद गरियो र कति बिक्री गरियो, आफ्नो पुरानो स्टक कति रहेको छ, त्यसको बिल व्यवसायीसँग हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर