सामुदायिक विद्यालय समायोजन गर्दै स्थानीय तह – Nepal Press

सामुदायिक विद्यालय समायोजन गर्दै स्थानीय तह

महेन्द्रनगर । कञ्चनपुरमा स्थानीय तहले विद्यालय समायोजन र व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएका छन् । जिल्लामा नौ पालिकामा ५७ सामुदायिक विद्यालय छन् । भीमदत्त नगरपालिकाले विद्यालयको स्थलगत अनुगमन गरी तयार गरिने प्रतिवेदनका आधारमा व्यवस्थापन गर्ने जनाएको छ ।

भीमदत्त नगरपालिका शिक्षा शाखाका प्रमुख कलावती मिश्रले सामुदायिक विद्यालयको अनुगमन जारी रहेको बताइन् । ‘चालिसवटा विद्यालयको समग्र अवस्थाबारे स्थलगत अनुगमन भइसकेको छ’, उनले भनिन्, ‘सो क्रममा विद्यार्थीको सङ्ख्या, विद्यालयको अवस्था र विद्यालयबीचको दूरीलगायतका विषय बुझ्ने गरिएको छ ।’ उनले प्रतिवेदनपछि मात्रै विद्यालय समायोजनदेखि व्यवस्थापनका विषय अघि बढ्ने जानकारी दिइन् ।

त्यसै गरी यहाँको शुक्लाफाँटा नगरपालिकाले गत वर्ष नै विद्यालय समायोजन गर्ने लक्ष्यसहित सामुदायिक विद्यालय अनुगमन गरिसकेको छ । शिक्षा शाखाका प्रमुख सुरेशप्रसाद भट्टले गत वर्ष शैक्षिक सत्र सुरु भइसकेकाले समायोजनको निर्णय हुन नसकेको बताए । ‘यहाँ रहेका ३२ वटा सामुदायिक विद्यालयमध्ये तीनदेखि चार वटासम्म समायोजन हुने भन्ने छ’, उनले भने, ‘त्यसका लागि कार्यदलसमेत पालिकामा बनेको छ ।’ उनले यो वर्ष पालिकामा विद्यालय समायोजन भइसक्ने बताए ।

त्यसै गरी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले सामुदायिक विद्यालयमा समायोजन गरिसकेको छ । यहाँको शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले यहाँ एउटा सामुदायिक विद्यालय समायोजन गरिएको बताए ।

‘दोधारा चाँदनीमा २३ वटा सामुदायिक विद्यालयबाट समायोजन गरेर २२ रहे’, उनले भने, ‘दरबन्दी मिलान पनि सोहीअनुसार भइसकेको छ ।’ बेल्डाँडी गाउँपालिकाले पनि समायोजन कार्य अघि बढाउन सामाजिक विकास समितिका संयोजकको संयोजकत्वमा १२ सदस्यीय कार्यदल बनाएको छ । ‘कार्यदलले यहाँ रहेका १४ वटै विद्यालय अनुगमन गरी प्रतिवेदन बनाएर पालिकाका अध्यक्षलाई बुझाएको छ’, बेल्डाँडी गाउँपालिका शिक्षा शाखाका प्रमुख भानुभक्त जोशीले रासससित भने, ‘अध्यक्ष र कार्यपालिकाबाट निर्णय हुन बाँकी छ ।’

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयका प्रमुख दीपक कलौनीले कञ्चनपुरमा बेदकोट र दोधारा चाँदनी नगरपालिकामा एक–एक विद्यालय समायोजन भएको जानकारी दिए । कञ्चनपुरमा कुल दुई सय ५९ सामुदायिक विद्यालय सञ्चालित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *