सात महिनामा डेढ लाखले चढे लुम्बिनी केबलकार – Nepal Press

सात महिनामा डेढ लाखले चढे लुम्बिनी केबलकार

रुपन्देही । बुटवल र पाल्पा जोड्ने गरी बनेको लुम्बिनी केबलकारमा सात महिनामा करिब डेढ लाख पर्यटक भित्रिएका छन् ।

बुटवलको गोलपार्क बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दूरीको केबलकार गत जेठ १५ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको थियो । सात महिनामा एक लाख ४६ हजार ६४५ जना पर्यटक केबलकारको यात्रा गरी पाल्पाको बसन्तपुर पुगेको कम्पनीले जनाएको छ ।

जेठ १५ देखि पुस १४ गतेसम्म एक लाख ४० हजार ५०१ आन्तरिक पर्यटक, भारतसहित सार्क राष्ट्रका ६ हजार ११८ र तेस्रो मुलुकका ३५ जना पर्यटकले केबलकार चढेको कम्पनीका अपरेसन म्यानेजर दिल्लीनारायण कायस्थ सैंजूले जानकारी दिए ।

कुल पर्यटकमध्ये ३९ हजार २०८ जनालाई टिकटमा दिइएको सहुलियत अफरमा आएको सैंजूले बताए । उनका अनुसार सबैभन्दा धेरै ३५ हजार ७९७ जना पर्यटक कार्तिकमा आएका थिए । असोजमा सबैभन्दा कम ९ हजार ६५० जनाले केबलकार चढेका छन् ।

कम्पनीले प्र्रत्येक टिकट दरको एक-एक प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई स्थानीय करवापत दिँदै आएको छ । सात महिनामा ८ करोड ३६ लाख १५ हजार ६ सय १२ रुपैयाँको टिकट बिक्री गरेको कम्पनीले भदौ २६ गतेसम्मको करवापत ३ लाख ९३ हजार ३५४ रुपैयाँका दरले दुई पालिकालाई ७ लाख ८६ हजार ७०८ रुपैयाँ बुझाएको अपरेसन म्यानेजर सैंजूले जानकारी दिए ।

आईएमई ग्रुपले नेतृत्व लिएको केबलकारको दुईतर्फी यात्रा गर्दा ७५० रुपैयाँ शुल्क तिर्नुपर्छ । टिकटदरमा बुटवलको वडा नंं ३ र तिनाउ गाउँपालिकाको वडा नं ३ का बासिन्दा, अपांगतासहित फरक क्षमता भएका नागरिक र ३ देखि ४ फिट उचाइ भएकालाई ५० प्रतिशत छुट, विद्यार्थी र ७०-८० वर्षका ज्येष्ठ नागरिकलाई ४० प्रतिशत तथा ३ फिटभन्दा कमका बच्चा र ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क गरिएको सैजूले बताए ।

अष्ट्रियाको डुपलमेयर कम्पनीले बनाएको अत्याधुनिक प्रविधियुक्त मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्नसक्छ ।

केबलकारको टप स्टेशनमा रेष्टुरेन्ट, जीपलाइन, सेल्फी जोन सञ्चालनमा आइसकेका छन् । स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान निर्माणको चरणमा छन् । यस्तै दुई वर्षभित्र १५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनोसहित साढे ३ अर्ब लागतमा पाँचतारे होटेल बनाउने योजना छ ।

आईएमई समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समूहले काठमाडौंको चन्द्रागिरी र नवलपुरको गैंडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर