निक्षेपको ब्याजदर माघमा अझै घट्ने, कर्जातर्फ एकल अंकमा आउने सम्भावना कति ? – Nepal Press

निक्षेपको ब्याजदर माघमा अझै घट्ने, कर्जातर्फ एकल अंकमा आउने सम्भावना कति ?

काठमाडौं । कुनै बेला निक्षेप तान्न ब्याजदर १४ प्रतिशतसम्म पुर्‍याएका बैंकहरुलाई पछिल्लो समय भएको निक्षेप कसरी घटाउने भन्ने चिन्ता थपिएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको थुप्रियै छ । तर, कर्जा विस्तार भने खुम्चिएको खुम्चियै छ ।

बैंकहरु महिनैपिच्छे ब्याजदर घटाइरहेका छन् । तैपनि लगानीकर्ताहरु आकर्षित भएका छैनन् । त्यसैले बैंकहरु माघमा फेरि ब्याजदर घटाउने मनस्थितिमा छन् । अहिले बैंकहरुले निक्षेपमा एकल अंकमा ब्याजदर दिइरहेका छन् ।

नेपाल बैंकर्स संघका सदस्यसमेत रहेका एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले माघमा अझै ब्याजदर घटाउने पक्षमा रहेको बताए ।

खालिङ भन्छन्, ‘अहिले निक्षेपको लागत बढी छ । राष्ट्र बैंकलाई दियो ३ प्रतिशत ब्याज दिन्छ । हामीले सात प्रतिशतमा राखेका हुन्छौं । ४ प्रतिशत त त्यतिकै लस भयो । यस्तो घाटा खाएर निक्षेप राख्न सकिँदैन । अब अझै ब्याजदर घटाउनैपर्ने बाध्यता छ ।’

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार अहिले बैंकिङ प्रणालीमा ४ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम छ । एक बैंकले अर्को बैंकसँग गर्ने कारोबार (अन्तरबैंक) ब्याजदर पनि ३ प्रतिशतभन्दा तल झरिसकेको छ ।

ब्याजदरको करिडोरको तल्लो सीमा ३ प्रतिशत हो । ३ प्रतिशतबाट पनि तल झरेपछि राष्ट्र बैंकले बजारबाट पैसा तानेर ब्याजदर माथि पुर्‍याउन खोज्छ । दीर्घकालीन ब्याजदरमा स्थायित्व ल्याउन अल्पकालीन ब्याजदर अर्थात अन्तरबैंक ब्याजदरलाई निश्चित सीमाभित्र राख्न अपनाइएको विधि ब्याजदर करिडोर हो ।

पोखरेलले अन्तरबैंक ब्याजदर कम भएकै कारण राष्ट्र बैंकले दिनहुँजसो बजारबाट निक्षेप तानिरहेको बताए । आजैमात्र राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ निक्षेप तान्दैछ ।

मंसिर र पुसमा राष्ट्र बैंकले २ खर्ब ८२ अर्ब २० करोड रुपैयाँ निक्षेप तानिसकेको छ । बैंकहरुले ३ खर्ब २५ अर्ब निक्षेप तान्न प्रस्ताव गरेका थिए ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप ६० खर्ब ८५ अर्ब छ । उनीहरुको कर्जा लगानी ५० खर्ब ३३ अर्ब पुगिसकेको छ । बैंकहरुको सीडी रेसियो पनि ८० प्रतिशतभन्दा तल छ । जबकि बैंकहरुले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गर्न पाउँछन् । ९० प्रतिशतभन्दा तल सीडी रेसियो कायम हुनु भनेको कर्जा विस्तार न्यून हुनु पनि हो ।

मानौं, कुनै बैंकले १०० रुपैयाँ निक्षेप लिएको छ भने ९० रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने अवस्था सीडी रेसियो हो । तर, अहिले बैंकहरुले औसत ७९ रुपैयाँमात्र लगानी गरेका छन् ।

बैंकमै पैसा थुप्रिने र कर्जा विस्तार न्यून हुँदा बैंकको ब्याजदर अझै घट्ने आधार तय भएको सहायक प्रवक्ता पोखरेलले बताए ।

कर्जाको ब्याजदर एकल अंकमा आउने सभावना कति ?

निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि विस्तारै घटिरहेको छ । तर, निक्षेपको ब्याजदरको अनुपातमा कर्जाको ब्याजदर घटेको छैन । ऋणीहरुले ब्याजदर एकल अंकको भएमात्रै लगानी गर्न सकिने भनिरहेका छन् । निक्षेपको जस्तै कर्जाको ब्याजदर पनि एकल अंक हुन सम्भव छ त ? बैंकहरुको आधारदर (बेस रेट) एकल अंकमा आए पनि त्यसमा प्रिमियम जोडेर लिने कर्जाको वास्तविक ब्याजदर भने दोहोरो अंककै छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता पोखरेल कर्जाको ब्याजदर महँगीभन्दा कम हुँदा पैसाको भ्यालु नहुने बताउँछन् ।

अहिले बैंंकहरुको आधारदर ९ प्रतिशतको हाराहारीमा छ । बैंकहरुले आधारदरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्छन् । आधारदरमा प्रिमियम जोड्दा अहिले बैंकको अधिकतम ब्याजदर साढे १३ प्रतिशतसम्म छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *