‘दश काण्ड’ को कसीमा प्रचण्ड सरकारको मूल्यांकन र देउवाको मौनता – Nepal Press

‘दश काण्ड’ को कसीमा प्रचण्ड सरकारको मूल्यांकन र देउवाको मौनता

२०७९ साल पुस १० गते एमाले अध्यक्ष केपी ओलीको पहलमा पुष्पकमल दाहाल प्रचण्ड प्रम बनेका थिए । नयाँ सरकार बन्नासाथ केही आशाका किरण सञ्चार भएको थियो । एमालेका तर्फबाट विष्णु पौडेल अर्थमन्त्री हुनासाथ शेयर बजारमा उत्साह ह्वात्तै बढेको थियो । सधैं रातो विन्दुमा हुने शेयर बजार हरियो बिन्दुमा अघि बढ्दै थियो । प्रम पुष्पकमल दाहाल पनि ‘यो मेरो अन्तिम कार्यकाल हो, केही राम्रा काम गरेर देखाउँछु’ भन्दै थिए ।

राष्ट्रपतिको निर्वाचन आउने बेलासम्म सरकार नै धरमराउने अवस्थामा पुग्यो । तर, ८९ सीटसहित पहिलो दल कांग्रेसले ३२ सीटको तेस्रो दल माओवादीलाई काँध बोकेपछि एमालेले सरकार छोड्यो ।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत साथ छोडे । सरकारले सुरुमा केही गति लिँदै थियो । जनअपेक्षाको काम गर्न उद्यत नै देखिन्थ्यो । भ्रष्टाचार तथा अनियमितताको फाइल खोल्न थालेपछि प्रचण्ड सरकारले जनताको अपार साथ पाएको थियो । तर, ती विभिन्न काण्डहरुमा सत्ताधारी दलका उच्च नेताको परिवार, प्रभावशाली नेताहरु नै जोडिएपछि ती काण्डहरु विस्तारै सामसुम हुन थाल्यो ।

पुष्पकमल दाहालको ध्यान सिर्फ सत्ता जोगाउन मात्र केन्द्रित भयो । विपक्षी दलका नेता र कार्यकर्ताहरु फसाउन जुन फाइल खोले पनि सत्ताधारी दलकै नेताहरु संलग्न भएको पाइएपछि उनी ब्याक हुन बाध्य भए । उनले काम गर्न खोजेको तर, बीचैमा अनायासै फाइल बन्द गरेका केही उदाहरण निम्न छन्ः

१) नक्कली भुटानी शरणार्थी काण्डको छानबिन

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने गिरोह पहिलेदेखि नै सक्रिय रहेछ । उक्त गिरोहलाई कारबाहीको दायरामा ल्याएर सरकारले राम्रो नै काम गरिरहेको थियो । त्यो गिरोहको कनेक्सन जब ठूलो दलका उच्च नेतातिर सोझियो, तब उक्त काण्डले नाटकीय मोड लियो ।

सत्ता टिकाउन प्रचण्डले बार्गेनिङ गर्ने एउटा अस्त्र पाए । त्यसलाई उनले उपयोग गरिहाले । नक्कली भुटानी शरणार्थी काण्डको माथिसम्म अनुसन्धान गर्छु भनेर कांग्रेसलाई मौन बनाए । आरजु राणामाथि छानबिन गर्ने हल्ला चलाएर देउवालाई चुप लाग्न बाध्य बनाए । कांग्रेसका नेता बालकृष्ण खाण र एमाले सचिव टोपबहादुर रायमाझीलाई थुनामा राखे । तर, उच्च अदालतको आदेशले अहिले बालकृष्ण खाण जेल मुक्त भैसकेका छन् ।

२) ललिता निवास प्रकरण

ललिता निवास प्रकरणलाई बालुवाटार काण्डको नामले चिनिन्छ । सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न प्रमुख भूमिका खेलेको भन्दै पूर्वप्रमहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई साइजमा ल्याउन उक्त फाइल खोले । तत्कालीन प्रम केपी ओली नेतृत्वले ललिता निवासको छानबिन गरेको थियो ।

आफूविरुद्ध आफ्नै पार्टीका केही नेताहरुले घेराबन्दी गरेको महसुस गरेपछि प्रचण्डले सुन काण्ड बाहिर ल्याइदिए । ती नेताहरु एकाएक यूटर्न भए । अन्ततः घेराबन्दी गर्ने नेताहरु केही दिनयता प्रचण्डको स्तुतिगान कसले धेरै गाउने भन्ने प्रतिस्पर्धामा लागेका छन् ।

सर्वोच्च अदालतमा मुद्दा फैसला गर्ने दिन २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर माधवकुमार नेपाल र बाबुराम भट्टराई बचेका थिए । तर, संसदमा माधवकुमार नेपालको पार्टी एकीकृत समाजवादीका सांसदले बजेट पास गर्न नदिने भन्दै चर्को स्वर पारेपछि प्रचण्डले पुरानो फाइल खोलेका थिए । जस्तोसुकै अप्ठेरो स्थितिमा सहयोग गरेका व्यवसायी मीनबहादुर गुरुङलाई समेत कस्टडीमा लिएर अरुलाई तर्साउन सफल भए । विशेष गरी पूर्वप्रम माधवकुमार नेपाललाई ।

३) सुन काण्ड

आफूविरुद्ध आफ्नै पार्टीका केही नेताहरुले घेराबन्दी गरेको महसुस गरेपछि प्रचण्डले सुन काण्ड बाहिर ल्याइदिए । ती नेताहरु एकाएक यूटर्न भए । अन्ततः घेराबन्दी गर्ने नेताहरु केही दिनयता प्रचण्डको स्तुतिगान कसले धेरै गाउने भन्ने प्रतिस्पर्धामा लागेका छन् ।

यो कथा यहाँ मेल खान्छ- कुनै गाउँमा एउटा फटाहाले स्याल आयो, स्याल आयो भन्दो रहेछ । गाउँलेहरु यताउति हेरेको बेलामा कुखुरा चोर्ने रहेछ । त्यही सूत्र अपनायो माओवादीले, सुन काण्डमा ।

कहिले पशुपतिको जलहरी त कहिले के नाममा प्रोपोगान्डा मच्चायो । तर, सुन चै लुसुलुसु आफ्नै नेता कार्यकर्तालाई भित्र्याउन लगाउँदो रहेछ । कृष्णबहादुर महराले चिनियाँ सुन तस्करलाई २५६ पटकसम्म फोन गरेको रेकर्डसमेत भेटियो । उनै महराका कान्छा छोरा राहुल महरा अहिले पुर्पक्षको लागि थुनामा छन् । महरा आफैंले आफू सानो माच्छा भएको भनाइ सुन कारोबार गरेको भन्ने कुरालाई घुमाउरो ढंगले स्वीकार समेत गरेका थिए ।

त्यति मात्र कहाँ हो र ! पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुन, माओवादी नेता वर्षमान पुनलगायत रोल्पाली नेताहरुको नेक्सस देखिएपछि लहरो तान्दा पहरो थर्कियो भने झैं भएपछि सरकार सुन काण्डबाट अचानक ब्याक भयो ।

४) गौर हत्याकाण्डको फाइल खोल्ने धम्की

रौतहटको गौरमा १७ वर्षअघि तत्कालीन मधेशी मोर्चा र माओवादी कार्यकर्ताहरुबीच एकै ठाउँमा कार्यक्रम गर्ने विषयमा झडप भयो । मधेशी मोर्चाका कार्यकर्ताहरुले अमानवीय, पासविक तरिकाले माओवादी कार्यकर्ताहरुको हत्या गरे । १७ वर्षअघिको घटनाको फाइल खोल्छु भनेर जसपालाई झस्काइदिए प्रचण्डले । त्यतिमात्र हो र, उपेन्द्र यादवलाई त रस निचोरेको कागती जस्तो बनाइदिए । जसपा सरकारले गलत कार्य गरिरहेको छ भनेर स्वर निकाल्दै थियो । प्रमको उक्त कदमपछि जसपा मौन भयो ।

६) महरामाथि छानबिन सामसुम

ई-सिग्रेट अर्थात भेपमा लुकाएर ९ केजी सुन ल्याएको र भन्सारबाटै उक्त सुन गायब पारिएको काण्डमा मुछिएका महरा बाबुछोरालाई सीआईबीले किटान गरी दोषी देखाई, सीआईबीमा बयान दिन तयार रहँदासम्म प्रधानमन्त्री कार्यालयले कारबाही नगर्न दबाब दिए । पछि महरा आफैं उपस्थित भएर बयान दिएको नाटक गरेर उनलाई उम्काइयो । तर, उनको कान्छा छोरा राहुल महरा पुर्पक्षको लागि जेलमा छन् । यदि दोषी नभएको भए उनी थुनामा हुने नै थिएनन् नि ! यहा बाबु जोगाएर छोरालाई मोहरा बनाइयो । अन्ततः महराको राजनीति प्रचण्डले जोगाइदिए ।

केपी ओली सरकारमा हुँदा केही काण्डहरु सतहमा आएका थिए । ती काण्डहरुमा एमालेका केही नेताहरु जोडिएको आशंका गरिएको छ । एमाले निकट व्यापारीहरुले कोरोना कहरमा विभिन्न स्वास्थ्य सामग्री ल्याउँदा भ्रष्टाचार गरेको भन्दै उक्त फाइल अगाडि ल्याउने भन्दै एमाले नेतृत्वलाई इमोसनल ब्ल्याकमेल गरे ।

७) सांसद सुनिल शर्मा पक्राउ

एक क्विन्टल सुन काण्डको छानबिन गर्न सरकारलाई दबाब दिँदै संसदमा आवाज उठाएकै कारण सत्तापक्षीय सांसद सुनिलकुमार शर्मालाई पुर्जीविना सीआईबीले पक्राउ गरी थुनामा राख्यो । अदालतको आदेशमा उनी रिहा भए । सरकारको विरोधमा खरो उत्रनेलाई जुनसुकै बेला गलत अभियोग लगाउन सक्छ भन्ने सन्देश सुनिल शर्मा पक्राउले दियो । छोरी कुटेर बुहारी तर्साउने रणनीतिलाई प्रचण्डले भरपुर प्रयोग गरे ।

८) एमालेले मागेको उच्चस्तरीय छानबिन समिति गठन

प्रमुख प्रतिपक्षी नेकपा एमालेको मागबमोजिम छानबिन समिति त गठन गर्‍यो । तर, आजको दिनसम्म पनि उक्त समितिले केही गर्न सकेको छैन । यो समितिले गर्ने भनेको नै सत्ताधारी दलका प्रमुख नेता र तिनका परिवारमाथि लागेको आरोपलाई चोख्याउने हो ।

९) यती, ओम्नी आदिको फाइल खोल्ने धम्की

केपी ओली सरकारमा हुँदा केही काण्डहरु सतहमा आएका थिए । ती काण्डहरुमा एमालेका केही नेताहरु जोडिएको आशंका गरिएको छ । एमाले निकट व्यापारीहरुले कोरोना कहरमा विभिन्न स्वास्थ्य सामग्री ल्याउँदा भ्रष्टाचार गरेको भन्दै उक्त फाइल अगाडि ल्याउने भन्दै एमाले नेतृत्वलाई इमोसनल ब्ल्याकमेल गरे । यदि एमाले अध्यक्ष केपी ओली र एमालेका कुनै उच्च तहका नेताहरु संलग्न भएको भए सो फाइल खोल्ने थिए । तर, एमालेलाई मनोवैज्ञानिक रुपमा दबाब दिन र एमाले पनि हामी जस्तै भ्रष्ट हो भन्ने भाष्य स्थापित गर्न उक्त षड्यन्त्र गरेका हुन् । नत्र उनले उक्त फाइल किन खोलेनन् त ?

१०) एनसेल काण्ड

मलेसियन कम्पनी आजिएटाको स्वामित्वमा रहेको एनसेलले आफ्नो स्वामित्वको शेयर बिक्री गरेर आफ्नै देश लाग्यो । पहिले सोही कम्पनीले शेयर खरिद गर्दा कर छली गरेको र कर तिर्नुपर्छ भनेर अदालतले समेत भनेको अवस्था हो ।

अहिले पनि कर छल्न सस्तोमै शेयर बिक्री गरेर आजिएटा गैसक्यो । उक्त काण्डमा प्रम पुत्री एवम् स्वकीय सचिव गङ्गा दाहाल नै संलग्न छन् भनेर सर्लाहीबाट निर्वाचित स्वतन्त्र संसद अमरेशकुमार सिंहले अडियोको सानो क्लिप मिडियामा चुहाएका समेत थिए । यो मुद्दामा जनताको विरोध सुरु नहुँदै प्रचण्डले चलाखी गर्दै पूर्वमहालेखा परीक्षक टंकमणि शर्मालाई छानबिन समितिको संयोजक बनाउँदै ३ सदस्यीय समिति गठन गरे । शर्मा तिनै व्यक्ति हुन्, जसले एनसेलले कर छली गर्दा कर तिर्न पर्दैन भन्दै फाइल लुकाएका थिए ।

मौन देउवा

अहिले सरकार विभिन्न काण्डमा मुछिरहेको छ । आफ्नै दाहिने हात मानिने बालकृष्ण खाण पक्राउ परी थुनामा लाग्दा समेत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मौन देखिए । यी र यस्ता(यस्ता विभिन्न मुद्दाहरू आउँदा समेत देउवा मौन बसे । उनले मौन बसीबसी सारा काम भ्याए । अब आफू प्रम हुने वातारण तयार गर्दैगर्दा सरकारले पक्राउ गरेका खाणलाई छुटाउन समेत सफल भए । आफ्नै श्रीमतीको विभिन्न काण्डमा नाम आउँदा समेत कहींकतै बोलेनन् ।

देउवालाई के थाहा छ भने खाणलगायत अन्य अभियुक्तहरु आफ्ना पालामा छुटाउँदा अपजसको भारी बोक्नुपर्ने हुन्छ । जुन भारी अहिले प्रचण्डलाई सजिलैसँग बोकाइदिएका छन् । सत्ताको चरम भोक देखिएका प्रचण्डले त्यो भारी बोक्न असजिलो पनि मानेनन् । दुबैको समान इच्छा मिलेर नै सो काम सम्पन्न भएको हो । अतः काण्डैकाण्डमा जेलिएको र फँसेको प्रचण्ड सरकार जति लम्बिन्छ, त्यति नै देशलाई घाटा हो ।


प्रतिक्रिया

2 thoughts on “‘दश काण्ड’ को कसीमा प्रचण्ड सरकारको मूल्यांकन र देउवाको मौनता

  1. यो देशको सबैभन्दा ठूलो भ्रष्टाचारी र देशद्रोही प्रचण्ड निस्कन्छन राम्रोसँग छानबिन गर्दा । यो चुनौती भयो ।

  2. धेरै जान्ने भएपछि उत्तानो टाङ लाग्छ भनेको यहि हो । मलेसियन कम्पनी आजिएटाको स्वामित्वमा रहेको एनसेलले आफ्नो स्वामित्वको शेयर बिक्री गरेर आफ्नै देश लाग्यो रे ! एनसेल यहि देशमा छ । यहि देशको सबैभन्दा ठुलो करदाता हो । विषयवस्तु थाहै नपाएर लेख्दा फसिन्छ । फौजदारि काण्डहरुको बिचमा एनसेलको स्वामित्व हेरफेरको बिषयलाइ छिराउनुको नियत पनि प्रस्ट बुझिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *