राष्ट्रपतिलाई ‘मोरल अथोरिटी’ प्रयोग गर्न प्रबुद्ध नागरिकको सुझाव – Nepal Press

राष्ट्रपतिलाई ‘मोरल अथोरिटी’ प्रयोग गर्न प्रबुद्ध नागरिकको सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक समाजका अगुवा तथा प्रवुद्ध व्यक्तिले देशमा देखिरहेका वेथिति र अव्यवस्थालाई अन्त्य गरेर मुलुकलाई सही बाटोमा हिडाउन ‘मोरल अथोरिटी’ प्रयोग गर्न सुझाव दिएका छन् ।

सोमवार राष्ट्रपति निवासमा भएको छलफलमा प्रबुद्ध नागरिकले राष्ट्रपतिलाई संविधानले कार्यकारी भूमिका नदिए पनि अभिभावकको हैसियतले नैतिक अधिकार प्रयोग गरेर सम्बद्ध पक्षलाई सही मार्गमा जान प्रेरित गर्नुपर्ने बताएका हुन् ।

सत्तामा रहेकाहरूको आचरण र व्यवहारबाट लोकतन्त्र कमजोर बनाउन चाहनेलाई बल नपुगोस भन्ने तर्फ सचेत रहँदै लोकतान्त्रिक प्रणाली र व्यवस्थालाई मजबुत बनाउन ‘मोरल अथोरिटी’ प्रयोग गरेर अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिएको त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले नेपाल प्रेससँग बताए ।

उनले भने–मबाहेक अरु पनि थियौं । हामीले राष्ट्रपतिज्यूलाई नैतिक अधिकार प्रयोग गरेर बेथिती,भ्रष्टाचार र विश्वविद्यालयको सुधारजस्ता विषयमा बलियो लबिङ गर्न सुझाव दिएका छौं । संविधानले राष्ट्रपतिलाई सीमा तोकेको छ तर देशको अभिभावको हैसियतले नैतिक अधिकार प्रयोग गर्दा धेरै गर्न सकिन्छ ।

राष्ट्रपति पौडेललाई भेटेर सुझाव दिनेहरूमा दमननाथ ढुंगाना, डा.देवेन्द्रराज पाण्डे, होमनाथ दाहाल, प्राध्यापक पिताम्वर शर्मा र केदारभक्त माथेमा थिए ।

माथेमाका अनुसार भेटमा संघीयतालाई सुदृढ तुल्याउन, सुशासनको प्रत्याभूति दिलाउन, सेवा प्रभावलाई चुस्त र प्रभावकारी बनाउन, दलीय भागबण्डाबाट आक्रान्त विश्वविद्यालयलाई त्यसबाट मुक्त गर्न र जनतामा देखिएको निराशालाई कम गर्न राष्ट्रपतिले संविधान प्रदत्त अभिभावकीय भूमिका र ‘मोरल अथोरिटी’ प्रयोग गर्नै पर्ने अवस्था सृजना भइसकेको सुझाव दिइएको थियो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले नागरिक अगुवासँगको भेटको पुष्टी गर्दै उहाँहरूले लोकतन्त्र, संघीयता, सुशासन सुदृढीकरण र शिक्षा क्षेत्रको वेथिती अन्त्य गर्ने विषयमा महत्वूर्ण सुझाव दिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *