‘पर्यटन मन्त्रीलाई ढुङ्गा, माटो र बलको भाषा आउँछ शिक्षाको आउँदैन’ – Nepal Press

‘पर्यटन मन्त्रीलाई ढुङ्गा, माटो र बलको भाषा आउँछ शिक्षाको आउँदैन’

पर्वतारोहण पढाइमा नामी एनएमएलाई नाथममा गाभ्ने पर्यटन मन्त्रीको निर्णयमा सरोकारवालाको चर्को असन्तुष्टि

काठमाडौं विभिन्न नियुक्ति देखी अभिव्यक्तिमा तारकातार विवादमा आएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती फेरि विवादमा आएका छन् ।

हिमाल आरोहणको विश्वविद्यालय शिक्षा सुरु गरेको नेपाल माउन्टेन एकेडेमीलाई नाथमसँग गाभ्ने निर्णय भएसँगै उनीहरू असन्तुष्ट भएका छन् । एकेडेमीका पूर्व पदाधिकारीहरुले संयुक्त पत्रकार सम्मेलन गरेर एकै स्वरमा मन्त्री किराँतीको विरोध गरेका हुन् ।

उनीहरूले मन्त्री किराँतीले आर्थिक रूपमा आत्मनिर्भरको बाटोमा भएको, हिमाली तथा साहसिक पर्यटनको स्नातक तथा स्नातकोत्तर कक्षा देखी विभिन्न तालिम दिएर नेपालको साहसिक पर्यटनको शैक्षिक क्षेत्रमा पहिचान बनाएको संस्थालाई नाथममा गाभेर अस्तित्व समाप्त पार्न लागेको भन्दै उनीहरूले असन्तुष्टि पोखेका छन् ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नाथममा गाभ्ने कुरामा चर्को विरोध गर्दै पूर्व अध्यक्ष तथा सदस्य सचिव लाक्पाफुट शेर्पाले स्विट्जरल्याण्ड, भारत देखी पाकिस्तान जस्ता देशले सुरु गर्न नसकेको कोर्ष पहिलो पटक सुरु गर्ने संस्थाको पहिचान नामेट पार्न खोजिएको भन्दै आपत्ति जनाइन ।

सन २००२ मे ३० मा औपचारिक रूपमा सुरु भएको माउन्टेन एकेडेमीको पर्वतारोहणको स्नातक कक्षा सन २०१७ बाट सुरु भएको थियो भने साहसिक पर्यटनको कक्षा सन २०१९ बाट ।

यी सबैको पाठ्यक्रम बनाउन सक्रिय भएकी शेर्पाले बेलायतका आठ विश्वविद्यालय देखी नेपालका विज्ञहरूसँग मिलेर पाठ्यक्रम तयार भएर अहिले सफल भएको एकेडेमीलाई गाभेर पहिचान अन्त्य गर्न लागिएको बताइन ।

उनले भनिन्, ‘विश्वमा हिमाल चढ्नेहरूको देशमा हिमाल पढ्ने सुरु एकेडेमीले गरेको हो । यो अन्त गाभ्नु गलत हो ।’

नेपालकी प्रथम सगरमाथा आरोही पासाङ ल्हामुको आरोहण दलकी उपनेता समेत रहेकी शेर्पाले एकेडेमी मासेर गलत सन्देश दिइएको दुःखेसो गरिन् ।

एकेडेमीका पूर्व बोर्ड सदस्य, सगरमाथा आरोही तथा वातावरण अभियानकर्मी पूर्णकुमार शेर्पाले सेता हिमाल काला भइरहेको समयमा हिमाल जोगाउने शिक्षाको पहिलो थलोको पहिचान बन्द गर्न खोजिएको भन्दै आक्रोश पोखे । उनले भने, ‘यो निर्णयमा म आक्रोशित छु ।’

नेपालले पहिलो पटक गरेको सगरमाथा मापनका शेर्पा गाइड तथा नेपालका पहिलो पुस्ताका स्की प्रशिक्षकमा एक छिरिङ जाङ्बो शेर्पाले नेपालीहरूको पहिचान अग्ला हिमाल र ती हिमाल पढाउने एकेडेमी दुवै जोडिएको बताए ।

नेपालले हिमाल चढाउने मात्रै होइन पढाउने थलो एकेडेमी भएकोमा त्यसको पनि पहिचानको अस्तित्व अन्त्य गर्नु कुनै हिसाबमा सही नभएको बताए ।

उनले भने, ‘केहि महिना अगाडि म फ्रान्स पुगेको थिए । त्यहाँ उनीहरूले पोखराको कथा हामीलाई पढाए । यो त हामीले पढाउने हो नि । त्यही पढाउने एकेडेमी मर्ज गरेर पहिचान अन्त्य गर्नु राम्रो होइन ।’

एकेडेमीका गुडविल एम्बेसडर, पूर्व अध्यक्ष तथा सदस्य सचिव सञ्जय खतिवडाले हालका पर्यटन मन्त्री सुदन किराँतीले व्यक्तिगत नियत खराब राखेर एकेडेमीको पहिचान अन्त्य गर्न खोजेको बताए ।

उनले भने, ‘पर्यटन मन्त्रीलाई ढुङ्गा, माटो र बलको भाषा आउँछ शिक्षाको आउँदैन ।’

पत्रकार सम्मेलनमा आएका एकेडेमीका अन्य पूर्व अध्यक्ष तथा सदस्य सचिवहरू प्रेम कुमार श्रेष्ठ, सन्तोष थापा मगर तथा नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ, शेर्पा पर्यटन व्यवसायी संघ, नेपाल उमाण्डेनियरिङ इन्ट्रक्टर्स एसोसिएसन, आरोही तथा व्यवसायीहरूले मन्त्रीको कदमको विरोध गरेका छन् ।

२०८० जेठ १५ गते सोमबार अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले ल्याएको बजेटमा कतिपय संस्थाहरू मर्ज गर्ने भनिएको थियो ।

बजेटको अनुसूचीहरूमा अनुसूची १६ को ‘क’को खारेज गरिने तथा गाभिने निकायहरूको सूचि नम्बर २० मा पर्वतीय प्रशिक्षण विकास समितिलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन समितिमा गाभिने लेखिएको छ । बुझ्ने भाषामा नेपाल माउन्टेन एकेडेमी (एनएमए) लाई नाथममा गाभिने भएको छ । यो कुरामा सरोकारवालाहरू असन्तुष्ट भएका छन् । त्यसको आक्रोश अहिले सार्वजनिक भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *