सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउँछन्ः अर्थमन्त्री महत – Nepal Press

सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउँछन्ः अर्थमन्त्री महत

रामपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताएका छन्। शुक्रबार अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवमा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।

उनले भने, ‘बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरु एकक्षणका लागि कानुनको दायराबाट भाग्ला, तर सधैं भाग्न सक्दैन । सर्वसाधारणको बचत दुरुपयोग गर्नेहरु कानुनको कठघरामा आवश्य आउँछन् । मेहनत गरेर जम्मा गरेको बचत केही व्यक्तिलाई दुरुपयोग गर्न छुट छैन ।’

निजी, सार्वजनिक र सहकारी क्षेत्रको सहभागिता बिना देशको आर्थिक र सामाजिक रुपान्तरण सम्भव नभएको स्पष्ट पार्दै मन्त्री डा. महतले भने, ‘स्थानीयले मेहनत गरेर कमाएको बचत सहकारीमा जम्मा भएको हुन्छ, त्यसले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । त्यसकारण सहकारीलाई हामीले प्रवद्र्धन, व्यवस्थापन र नियमन गरियो भने नेपालको आर्थिक रुपान्तरणको हतियार बन्छ । नियमनको अभावमा समस्या आए, तर अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था उदाहरण बनेको छ, देशैभरि सहकारी यसरी नै उदाहरण बनेर काम गर्नुपर्ने पर्छ ।’

स्थानीय तहका स–साना बचत परिचालन गर्ने, स–साना आवश्यकता पूर्ति गर्ने, जीविकोपार्जनसँग यसलाई जोड्ने र स्थानीय तहकै जो सदस्य छ, उनीहरुले नै नेतृत्व लिने सहकारीको मूल अवधारणा रहेको मन्त्री डा. महतले बताए।

‘यसैकारण यसलाई सहकारी मन्त्रालयअन्तर्गत राखिएको हो । यसलाई राष्ट्र बैंक वा अन्य कुनै नियमक निकाय खडा गरिएन ।’उनले भने, ‘हेर्दाहेर्दै यसले विशाल रुप लिएछ । कतिपय ठाउँमा ब्राण्डको रुप लियो, देशैभरि फैलियो । त्यसका व्यवस्थापक को छन् सदस्यहरुलाई नै थाहा हुँदैन । यसको नियमक निकाय नभएर यस्तो भएको हो, जसका कारण केही सहकारीमा समस्या देखियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर