२०८१ लाई शुद्धीकरण वर्ष बनाउने ओलीको प्रस्ताव, एमाले नेता कार्यकर्तामा देखिए यस्ता विचलन – Nepal Press

२०८१ लाई शुद्धीकरण वर्ष बनाउने ओलीको प्रस्ताव, एमाले नेता कार्यकर्तामा देखिए यस्ता विचलन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कतिपय केन्द्रीय नेतादेखि विभिन्न तहका कार्यकर्ता र जनप्रतिनिधिको आचरण र व्यवहारका विषयमा प्रश्न उठेका भन्दै सचिवालय बैठकमा चिन्ता व्यक्त गरेका छन् ।

विभिन्न समयमा विभिन्न नेता कार्यकर्ताहरुमा गम्भीर विचलन तथा विवादका घटना सार्वजनिक हुन थालेपछि ओलीले सचिवालय बैठकमै यसबारे गम्भीर छलफलको प्रस्ताव राखेका हुन् । शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र शुद्धीकरण अभियान चलाउने प्रस्ताव गरेका छन् ।

अध्यक्ष ओलीले २०८१ लाई पार्टी शुद्धीकरण वर्षको रुपमा निर्ममतापूर्वक लैजानु पर्ने भन्दै पछिल्ला केही वर्षयता पार्टीका नेता कार्यकर्ताको आचरणको विषय ओझेल पर्दा व्यक्तिका कारण पार्टीले प्रश्नको सामना गर्नु परिरहेको बताए ।

अध्यक्षको शुद्धीकरण सम्बन्धी प्रस्ताव गम्भीर रुपमा आएको र यसमा सचिवालयका सबै नेताहरुले एकस्वरमा समर्थन जनाएको बैठकपछि योगेश भट्टराईले बताए । उनका अनुसार अध्यक्ष ओलीले उठाएको गम्भीर विषयमा पार्टीभित्र समय लिएरै छलफल गर्ने कुरा भएको छ ।

बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ’पार्टीका कतिपय नेता कार्यकर्ता र जनप्रतिनिधिहरुको आचरण र व्यवहारहरुमा गम्भीर विचलन देखा पर्न थालेका छन् । प्रश्नहरु सामाजिक संजाल, मिडिया र जनताको लेभलबाट उठेका छन् । पार्टीमा लामो समयदेखि यसमा कडाइ नहुँदा यो व्यवहार बढ्यो । जिम्मेवार नेता कार्यकर्ता र जनप्रतिनिधिहरु आर्थिक लेनदेन सार्वजनिक र व्यक्तिगत ठगी काण्ड, चारित्रिक रुपमा विभिन्न काण्डमा परेका आइरहेका छन् । खानपिन र उठबसमा पनि अनुशासनहीनता बढ्यो ।’

अध्यक्ष ओलीले शुद्धीकरणको आवश्यकता देखिएका र प्रश्न उठेकाहरुको बारेमा व्यक्ति केन्द्ति भएरै छलफल गर्ने प्रस्ताव बैठकमा राखेका छन् । अनुशासन र आचरणको विषयमा अब पार्टीले अनुहार हेरेर सम्झौता नगर्ने अध्यक्ष ओलीको संकेत छ ।

बैठकमा अध्यक्ष ओलीले भने, ‘यसबारे नेतृत्वबीच छलफल गरौं समय लिएर यसमा केन्द्रित रहेर छलफल गरौं । व्यक्तिका बारेका उठेका कुराहरु पनि भएकाले व्यक्तिकेन्द्रित भएर छलफल गरौं गम्भीर प्रकृतिका आचरणगत र व्यवहारगत विचलन भएकालाई कारवाही, चेतावनीदेखि सचेत गराउने प्रक्रियामा जाऔं ।’

उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा कतिपय ठाउँमा अभद्र व्यवहार भएको बताएका छन् । जनतासँग व्यवहार गर्ने सन्दर्भमा पनि कतिपयको बारेमा प्रश्न उठेकाले पार्टीलाई निर्मम ढंगले शुद्धीकरणमा नलगे जनताको विश्वास पार्टीले गुमाउने भएकाले नेतृत्वबीच छलफल गराएका हुन् ।

कतिपय नेता कार्यकर्ताहरुले जुनसुकै विदेशीले जहाँ बोलाए पनि दौडेर जाने र पार्टीमा अनुमति वा जानकारी समेत नगराउँने प्रवृतिमाथि पनि नियन्त्रण गरिने बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर