लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाले गरे हिन्दू महायज्ञको उद्घाटन – Nepal Press

लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाले गरे हिन्दू महायज्ञको उद्घाटन

रुपन्देही । हिन्दू धर्मसँग सम्बन्धित श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् श्रृङारिक महाआरती कार्यक्रमको बौद्ध दर्शनका गुरु एवम् लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) लाई उद्घाटन गराएर धार्मिक सद्भावको सन्देश दिइएको छ । महायज्ञको प्रमुख कथावाचक पण्डित दिनबन्धु पोखरेल रहेका छन् ।

विभिन्न हिन्दू धर्मका अगुवाहरुको उपस्थिति कोटहीमाई मन्दिर प्राङ्गण तिलोत्तमा नगरपालिका– १७ पकडीहवामा आयोजित महायज्ञको उद्घाटन गर्दै उपाध्यक्ष लामाले नेपाल धार्मिक सद्भाव र एकताका लागि विश्वमै उदाहरणीय रहेको बताए ।

उनले सबै धर्म र सम्प्रदायबीच बलियो एकता रहेको बताउँदै हिन्दू धर्मावलम्बीहरु लुम्बिनी र स्वयम्भू सहज रुपमा जाने र बुद्धिष्टहरु पशुपति जाने गरेको सुनाए ।

नेपालको संस्कृति, सद्भाव र परम्परा एकापसमा जोडिएको उनको भनाइ छ । लामाले बौद्धको मेडिटेशन र हिन्दूहरुको योग विश्वकै लागि नभई नहुने बताए ।

‘हाम्रो भूमि बुद्धभूमि हो, ३ करोड नेपाली मिलेर बसेको देश हो, यस्तो देश संसारमा कतै छैन, त्यसैले हामी सबै मिलेर बस्नुपर्छ’, उनले भने ।

लुम्बिनी, सगरमाथा र पशुपतिलाई अन्तर्राष्ट्रियकरण गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा उपाध्यक्ष लामाले जोड दिए । नेपाल आर्थिक रुपमा कमजोर भए पनि सांस्कृतिक रुपमा संसारकै धनी देशका रुपमा रहेको बताउँदै उनले भने, ‘हामी संस्कार, संस्कृति र प्रकृतिमा धनी छौं, हामी सबै मिलेर अगाडि बढौं ।’

कथावाचक दिनबन्धु पोखरेलले नेपाल सामाजिक रुपमा एकताबद्ध र धार्मिक रुपमा समेत मिलेर बसेको समाज रहेको बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी मेयर जागेश्वरीदेवी चौधरी, वडाध्यक्ष दानबहादुर चौधरी, चेतनारायण आचार्य, बालकृष्ण गैरैलगायतले बोल्दै महायज्ञ सफलताको शुभकामना दिएका थिए ।

बुधबार शुरु भएको महायज्ञ पुस २४ गतेसम्म चल्नेछ । महायज्ञमा प्रमुख कथावाचक पोखरेललाई उपवाचकमा प्रेमसुजन शास्त्रीले साथ दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *