ढकिया बुन्न सिक्दै थारु महिला – Nepal Press

ढकिया बुन्न सिक्दै थारु महिला

भरतपुर । पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको पाइन्छ । तर कला–संस्कृतिको धनी थारु समुदायका महिला चितवनको सौराहामा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन् ।

चितवनको रत्ननगर नगरपालिका–१० भानु चोककी जानकी चौधरी ढकियालगायत थारु समुदायले प्रयोग गर्ने परम्परागत सामग्री बनाउने तालिम लिन पाउँदा उत्साहित छिन् । उनले २२ दिनदेखि यस्ता सामग्री बनाउन सिकिरहेकी छन् । उनीजस्तै ३० थारु महिला अहिले सौराहामा परम्परागत हस्तकला सीप सिक्न कस्सिएर लागेका छन् । थारु आयोगको आर्थिक सहयोगमा परिदृश्य नेपालको आयोजना र थारु कल्याण कारिणी सभा चितवनको समन्वयमा थारु महिलाका लागि तालिम दिइएको हो ।

जानकीले छोटो अवधिमा नै हस्तकला सीपमार्फत आकर्षक सामग्री बनाउन जानिसकेकी छन् । उनले पूजा दानी, फ्रुट बास्केट, पेन होल्डर, किस्ती, गमला र ज्वेलरी बक्स बनाउन सिक्ने गरेका छन् । ‘पहिला केही पनि थाहा थिएन’, उनले भनिन्, ‘तालिमपछि थाहा भयो मैले पनि यति राम्रो सामग्री बनाउन सक्ने रहेछु ।’

उनले परम्परागत सामग्रीको माग बढ्दै गएकाले आफूहरू तालिम लिन आएको बताइन् । उनले फुर्सदिलो समयको सदुपयोग र आयआर्जन पनि हुने भएका कारण निकै मेहनतका साथ तालिममा सामग्री बनाउन सिकेको बताइन् ।

‘परम्परागत ढकियालाई समयको मागअनुसार परिवर्तन गरेर बनाउन सक्छौँ’, उनले भनिन्, ‘हामीले बनाएको सामान बिक्रीका लागि बजारमा पनि लैजान थालिएको छ ।’ उनले यस्ता सामग्री बनाउन मेहनत धेरै हुने भए पनि बजारमा माग राम्रो भएकाले बिक्रीको चिन्ता नरहेको बताइन् ।

प्रशिक्षक मुना चौधरी महिलालाई हस्तकला सीप सिकाउन पाउँदा खुसी लागेको भन्दै २२ दिनमा एक जनाले चार पाँचवटा सामग्रीको राम्रोसँग फिनिसिङ गरिसकेको बताइन् । तालिममा पूजा सामग्री राख्ने, घरको तरकारी र खानेकुरा राख्ने र फूल सजाउन प्रयोग हुने सामग्री बनाउन सिकाएको उनले बताइन् । ‘यहाँ हामीले उत्पादन गरेको सामग्री यहीँ सौराहामा बिक्री हुन्छ’, उनले भनिन्, ‘देश विदेशबाट आएका पर्यटकले लैजाने गर्नुभएको छ ।’ यी सामग्री निर्माणका लागि बरुवा, काँस, रङ, छिदना, इन्चिटेपलगायतका सामान चाहिने उनले बताइन् ।

‘तालिमपश्चात् दिदीबहिनीले व्यावसायिक रुपमा काम गर्न सक्नुहुन्छ’, उनले भनिन्, ‘सबैले निकै रुचिका साथ तालिममा नियमित सहभागिता जनाउनुभएको छ ।’ तालिममा सहभागीलाई बिहान १० बजेदेखि ४ बजेसम्म हस्तकला सीप सिकाइएको छ ।

अर्का प्रशिक्षक श्री चौधरी थोरै लगानीमा फुर्सदको समयमा काम गरेर आयआर्जन गर्न सकिने भएकाले परम्परागत हस्तकला सामग्री निर्माणमा महिलाको आकर्षण बढेको बताए ।

‘पहिलो हाम्रो पुर्खाले ढकिया मात्र बुन्ने गर्नुहुन्थ्यो’, उनले भने, ‘अहिले अन्य सामग्री पनि उत्पादन गर्न थालेपछि देश विदेशमा बिक्री हुने गरेको छ ।’ थारु समुदायमा विवाह, मान्छे मर्दा र अन्य कर्ममा ढकियाको प्रयोग गरिन्छ । ढकिया थारु समुदायको पहिचान भएको भन्दै उनले पछिल्लो समय अन्य समुदायका मानिसले पनि यी सामग्री मन पराएर किन्ने गरेको बताए ।

तालिमका चितवनको रत्ननगर र खैरहनी नगरपालिकाका ३० जना थारु महिलाको सहभागिता रहेको छ । गत मङ्सिर २६ गतेदेखि सुरु भएको तालिम यही पुस २७ गते सकिने छ । थारु समुदायमा घरायसी प्रायोजनका लागि प्रयोग गरिने परम्परागत सीप आधुनिकताका नाममा हराएको भन्दै नयाँपुस्तालाई सिकाउन तालिमको आयोजना गरिएको थारु कल्याण कारिणी सभा चितवनका सचिव सन्तकुमार चौधरीले बताए । थारु कला, परम्परा र संस्कृति जोगाइराख्न यस्तो तालिमको निरन्तरता आवश्यक रहेको उनले बताए । उनले हस्तकला सामग्री पर्यटक र सोखिन मान्छेले किन्ने भएका कारण सीप र आयआर्जनसँग जोडेर महिलालाई यस्ता सीप सिकाउन अग्रसर गराउनुपर्ने उनले बताए । चौधरीले तामिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक बन्न सहभागीलाई सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *