जापानकाे हानेदामा विमानमा आगाे लाग्नुकाे यस्तो छ प्रारम्भिक कारण – Nepal Press

जापानकाे हानेदामा विमानमा आगाे लाग्नुकाे यस्तो छ प्रारम्भिक कारण

टोकियो । मंगलबार जापानको राजधानी टोकियो स्थित हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटना ‘पाइलटको मिस अण्डरस्ट्याण्डिङ्ग’ का कारण भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

यातायात मन्त्रालयका अधिकारीहरुले जापान कोस्ट गार्डको विमानका चालकले कन्ट्रोल रुमको निर्देशनलाइ गलत ढंगले बुझ्दा उक्त दुर्घटना भएको निष्कर्ष निकालेका हुन् ।

जापानको सरकारी संचार सस्था एनएचके अनलाइनमा प्रकाशन गरेको समाचार अनुसार कोस्ट गार्डको विमानलाइ धावन मार्गमा निस्कने अनुमति कन्ट्रोल रुमले दिएको थिएन ।

‘जापान एअरको विमान अवतरण गर्दै गर्दा कोस्ट गार्डको विमानलाइ रनवे भन्दा अघि सम्म जान कन्ट्रोल रुमको निर्देशन थियो’, अधिकारीहरुलाई उद्दृत गर्दै एनएचकेले समाचारमा लेखेको छ, ’तर कोस्ट गार्डका पाइलटले टेक अफ अनुमति पाएको बुझेर धावनमार्गमा निस्किए ।’

अवतरणका लागि अनुमति पाएको जापान एअरको विमान अवतरणका लागि धावनमार्गमा प्रवेश गर्दा उडानको तयारीमा रहेको कोस्ट गार्डको विमान पनि धावन मार्गमा निस्कदा उक्त दुर्घटना भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

विमान दुर्घटनाको कारण पत्ता लगाउन राष्ट्रिय यातायात सुरक्षा बोर्डले छवटा दुर्घटना अनुसन्धानकर्तालाई घटनास्थलमा पठाएको छ । युरोपको एयरबस निर्माता कम्पनीले पनि छानबिनलाई सघाउन प्राविधिक टोली जापान पठाएको पनि समाचारमा जनाइएको छ ।

कोस्ट गार्डको विमानबाट ब्ल्याक बक्स संकलन गरी अनुसन्धान सुरु भइरहेको पनि अधिकारीहरुले जनाएका छन् ।

होक्काइदोस्थित चितोसे विमानस्थलबाट हानेदा विमानस्थलका लागि उढेको जापान एअर लाइन्सको विमान हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा अर्को विमानसँग ठोकिएको थियो ।

उक्त दुर्घटनापछि जापान कोस्ट गार्डको विमानका चालक दलका सदस्यहरु ५ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका थिए ।

आगलागीबाट जापान एअरको विमान पूर्ण रुपमा ध्वस्त भएता पनि विमानमा रहेका ३६७ यात्रु र १२ जना चालक दलका सदस्यलाइ सकुसल उद्दार गरिएको थियो । अन्तर्राष्ट्रिय संचार माध्यमहरुले भयानक दुर्घटनाका बाबजुत पनि त्यति धेरै यात्रुलाई सकुसल उद्दार गर्न सक्नु ’चमत्कार’ भएको उल्लेख गरेका छन् ।

अमेरिकाको वाल स्ट्रिट जर्नल, बेलायती सार्वजनिक प्रसारक संस्था बीबीसी, बेलायतको द गार्डियन लगायतका संचार संस्थाहरुले चालक दलका सदस्य सहित सबै यात्रुलाई सकुसल बाहिर निकाल्न सक्नु परिचारकहरूको ‘उत्कृष्ट’ कार्य भनेका छन् ।

हिजो भएको दुर्घटनापछि हानेदा विमानस्थलको उडान सेवा अहिले पनि प्रभावित भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *